१२० औं साहित्य श्रृंखलामा राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ सहित ३ कृतिहरु सार्वजनिक

  टोपबहादुर याक्खा

२८ मे, हङकङ– पत्रकार, साहित्यकार तथा इतिहासविद राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ सहित ३ कृतिहरु सार्वजनिक तथा उक्त कृतिहरु माथि टिप्पणी तथा सृजनाहरु वाचन गर्दै आइतबार १२० औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हाल पोर्चुगल बसोबास गर्दै आउनु भएका पत्रकार, साहित्यकार तथा इतिहासविद राजकुमार दिक्पालको खोज मुलक पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’, त्यस्तै गरी इजरायलबासी कवि तथा साहित्यकार सुनिता राई कन्दङ्वाको पछिल्लो कृति ‘म युग बगिरहेछु’ कविता संग्रह र कालेबुङका साहित्यकार टी.एन.सुवेदीको ‘गीता ज्ञान गंगा’ सार्वजनिक गरिएको थियो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित कार्यक्रममा हङकङमा लामो समय सम्म नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान दिई हाल अमेरिका बसाई सरेर पनि हङकङ भ्रमणको क्रममा साहित्य श्रृंखलालाई माया गरेर समय–समयमा आइरहनु हुने साहित्यकार अशोक चाम्लिङ संगै हङकङबासी साहित्यकारहरु नरेश सुनुवार, प्रदिप कन्दङ्वा, ध्रुव गुरुङका साथै शिक्षक, पत्रकार तथा साहित्यकार देवराज राईलाई संयोजक रमण गुरुङले खदा लगाएर श्वागत गरेका थिए ।
श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु आशोक चाम्लिङ, प्रदिप कन्दङ्वा, नविन सुहाङ, जुनु राना, सुनिता गिरी, शिव कुमार राई, नरेन्द्र गुरुङ, टी.बी. याक्खा, देवराज राई, नरेश सुनुवार, नारायण भण्डारी, लिला निरौला ढुङ्गाना लगायतले आफ्ना सृजना वाचन तथा साहित्यिक मन्तव्य राखेका थिए भने कवि तथा गायिका बिन्नि लामाले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन । सार्वजनिक गरिएका कृति तथा वाचन गरिएका सृजनाहरु सहित समग्र कार्यक्रम बारे श्रृंखलाका संरक्षक दाजु गुरुङले छोटो टिप्पणी राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाले आगामी अगष्ट महिनामा १० औं वार्षिकोत्सव मनाउनुका साथै हङकङबासी साहित्यकारहरुको सृजनाहरु समेटेर ‘श्रृंखला–६’ कृति समेत प्रकाशन गरी विमोचन गर्न गइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार