पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु…..

बोस्टन — एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो । पोलार प्रिन्स जहाजसँग सम्पर्क टुटेको टाइटन नामक पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको विशेषज्ञले अनुमान गरेका थिए । पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट गरिएको थियो । टाइटानिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ७ सय किलोमिटर पर रहेको बताइएको छ । खोजीका क्रममा ल्यान्डिङ फ्रेमको टुक्रा देखिएपछि पनडुब्बी दुर्घटनामा परेको पुष्टि गरिएको हो । दुर्घटनामा परी बेलायतका अर्बपति व्यापारी ५८ वर्षीय हमिस हार्डिङ, पाकिस्तानी मूलका अर्बपति व्यापारी ४८ वर्षीय साहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, फ्रान्सेली एक्सप्लोरर ७७ वर्षीय पल–अनरी नार्जोलेट र यात्राको प्रबन्ध गर्ने कम्पनी ओसनगेटका प्रमुख कार्यकारी अधिकृत ६१ वर्षीय स्टकटन रसको मृत्यु भएको अमेरिकी कोस्ट गार्डले उल्लेख गरेको छ । दाउद बेलायतमा प्रिन्स ट्रस्ट च्यारिटीको बोर्ड सदस्यसमेत रहेको बीबीसीले उल्लेख गरेको छ । दुर्घटनामा परेका फ्रान्सेली एक्सप्लोरर नार्जोलेट अन्डर वाटर अनुसन्धानमा नाम चलेका व्यक्ति हुन् । पानीमा डुबेका जहाज खोज्ने कार्यमा विशेषज्ञता हासिल गरेका उनलाई ‘मिस्टर टाइटानिक’ नामसमेत दिइएको थियो । फ्रान्सको नौसेनाका पूर्वकमान्डर उनी सन् १९८६ मा ‘फ्रेन्च इन्स्टिच्युट फर रिसर्च एन्ड एक्लप्लोइटेसन अफ दि सी’ सँग जोडिएका थिए । यसको एक वर्षपछि उनले टाइटानिकका अवशेष जुटाउने अभियानको नेतृत्व गरेका थिए । पनडुब्बी दुर्घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ प्रस्तुत गरेका छन् । विज्ञहरूले पनडुब्बी विनाशकारी दुर्घटनामा परेको दाबी गरेका छन् । बेलायती पूर्वपनडुब्बी कमान्डर र्‍यान रामले उक्त पनडुब्बीमा ब्ल्याक बक्स नभएको बताएका छन् । विभिन्न देशका उद्धार टोलीले टाइटनिक रहेको स्थान नजिकै पनडुब्बीको भग्नावशेष रहेको बताएका छन् । २२ फिट लामो पनडुब्बी के कारणले दुर्घटना भयो भन्ने विषयमा फरकफरक अड्कलबाजी चलेका छन् । धेरैले यसको डिजाइनमाथि पनि प्रश्न उठाएका छन् । जसमध्ये एक हुन्, टाइटानिक फिल्मका निर्देशक जेम्स क्यामरुन । फिल्म निर्माणका क्रममा उनी पटकपटक टाइटानिक पानीजहाजमा पुगेका थिए । यो दुर्घटनालाई कतिपयले १ सय १० वर्षअघि भएको टाइटानिक दुर्घटनासँग तुलना गरेका छन् । यस विषयमा १९९७ मा फिल्म बनेको थियो । टाइटानिकको क्याप्टेनले हिउँको ढिक्कालाई बेवास्ता गर्दा दुर्घटना भएको दृश्य फिल्ममा छ । कहिल्यै नडुब्ने विश्वास गरिएको टाइटानिक सन् १९१२ मा दुर्घटनामा परेको थियो, जहाँ १ हजार ५ सयले ज्यान गुमाएका थिए । पनडुब्बी दुर्घटनापछि महासागरको भित्री भागमा पर्यटन नियमन हुनुपर्ने मागसमेत उठ्न थालेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार