साहित्य श्रृंखलाको ११ औं वार्षिकोत्सव सम्पन्न संयोजकमा पुनः रमण गुरुङ  

२७ अगष्ट, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको ‘११ औं वार्षिक उत्सव–२०२३’ संयोजकमा रमण गुरुङ र सह–संयोजकमा अरुणा शर्मालाई दोस्रो कार्यकालको लागि पुनः चयन संगै अन्य विविध कार्यक्रमहरुका साथ आइतबार जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न भयो ।
हङकङ नेपाली महासंघकी अध्यक्ष रिता प्रमुख अतिथि रहेको पहिलो चरणको कार्यक्रममा हङकङका ३७ जना साहित्यकारहरुको विभिन्न विधाका सृजनाहरु समेटिएको कृति ‘श्रृंखला–६’ लोकार्पण गरिएको थियो भने उक्त पुस्तक माथि श्रृंखलाका संरक्षक दाजु गुरुङले समीक्षा राखेका थिए । त्यस्तै गरी हाल हङकङ भ्रमणका क्रममा रहेका बेलायत निवासी भू.पू. ब्रिटिश गोर्खा सैनिक समेत रहेका साहित्यकार तथा वातावरणविद विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक गरिएको थियो भने उक्त पुस्तक माथि शिक्षक तथा संचारकर्मी डा.चुरा थापाले टिप्पणी राखेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा हङकङमा रहेर नेपाली भाषा, साहित्य, पत्रकारिता र समाजसेवाको क्षेत्रबाट नेपाली समुदायलाई विशेष योगदान दिदै आएका विभिन्न व्यक्तित्वहरुलाई नगद सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा स्व.किसन राईको स्मृतीमा स्थापित ‘किसन राई स्मृती प्रतिभा पुरस्कार–२०२३’ द्धारा पत्रकार जगद अम्बु गुरुङलाई नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो भने स्व.किसन राई लाई मरणोमरान्त ‘नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समाज सेवा पुरस्कार–२०२३’ द्धारा नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । त्यस्तै गरी ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार वर्ष २०२१–२३’ द्धारा शिक्षक तथा संचारकर्मी देवराज राईलाई नगद हङकङ डलर १ हजार १ सय ११ सहित तात्रपत्रद्धारा र  नरजित राईलाई ‘मनका नदीहरु’ कविता संग्रहका लागि ‘स्रष्टा र सृजना पुरस्कार वर्ष २०२१–२३’ द्धारा नगद हङकङ डलर १ हजार १ सय ११  सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । 
त्यस्तै गरी अन्य सम्मानित व्यत्तित्वहरुमा हङकङबाट पछिल्लो समयमा प्रकाशित कृतिहरु ‘प्रवास बुकी र बास्ना’ का सर्जक कवि तथा साहित्यकार मोति चाम्लिङ, ‘तुलसी’ का लागि तुलसी कुमार गुरुङ, ‘लाहुरे दाइ’ का लागि स्व.इमान बहादुर तमु, ‘मेरो भाग्यमानी बाजा’ का लागि दिनेश सुब्बा सम्मानित भए भने ‘लाहुरेको रेलिमाइ’ का लेखक विजय हितान, गुल्मेली अनलाईनका सम्पादक तथा पत्रकार नारायण भण्डारीका साथै कार्यक्रमका प्रमुख अतिथि रिता गुरुङलाई समेत ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।  
कार्यक्रमलाई थप रचनात्मक एवं मनोरञ्जनात्मक पार्न आफ्नो प्रस्तुती दिने स्रष्टाहरु गायिका कसुम काम्बाङ लिम्बु, गायिका बिन्नि लामा राई, गायक पुष्पराज गुरुङ, बासुरी वादक मोहन फगामी र कवि तथा साहितयकार बज्र कुमार राईका साथै ‘श्रृंखला–६’ लाई रचना दिएर सयोग गर्ने स्रष्टाहरुलाई समेत कदरपत्र दिएर सम्मान गरिएको थियो भने साहित्य श्रृंखलाको ११ औं वार्षिकोत्सव–२०२३ सफल पार्न आर्थिक रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था, व्यावसायी, समाजसेवी, साहित्यकार एवं साहित्यनुरागी महानुभावहरुलाई समेत सम्मानोपहार दिएर सम्मान गरिएको थियो । 
साहित्यकार विजय हितान, देवेन्द्र खेरेस, किन्दर राई, भूपेन्द्र चेम्जोङ, एन.आर.एन.ए.आई.सी.सी.का महिला सचिव टिका गुरुङ, तमु ट्यो ह्युलका अध्यक्ष विजय गुरुङ लगायतका विशेष अतिथिहरुहरुद्धारा शुभकामना मन्तव्य राखिएको कार्यक्रमको सभापतित्व साहित्य श्रृंखलाका संयोजक रमण गुरुङले गरेका थिए । साहित्य श्रृंखलाका पुर्व संयोजक एवं सल्लाहकार टोपबहादुर याक्खाले संचालन गरेको कार्यक्रममा पुर्व सह–संयोजक एवं सल्लाहकार पूर्णिमा शाहले श्वागत मन्तव्य राखेकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार