संखुवासभा समाज हङकङको देउसी भैलो विविध कार्यक्रमहरुका साथ सम्पन्न

  टोपबहादुर याक्खा

१९ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातीय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै आइतबार समाजको वार्षिक कार्यक्रम “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२३” सम्पन्न गर्यो ।
एबर्डिन कन्ट्रि पार्कमा आयोजित कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) को श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष लिला बहादुर गुरुङ तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङका साथै मञ्चमा आसीन अतिथिहरुद्धारा सामूहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
समाजका सचिव मणि शेखर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा समाजका अध्यक्ष लिला बहादुर गुरुङ, प्रमुख अतिथि रिता गुरुङ तथा समाजका सल्लाहकार उपेन्द्र कोरङ्गी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने गत वर्षहरुमा झै हङकङमा बासोबास गरिरहेका विभिन्न जातजातीका संखुवासभालीहरु बीचको सद्भाव र एकतालाई अझ बलियो बनाउँदै लैजाने उदेश्यले आयोजना गरिदै आएको प्रतियोगितात्मक जातीय भेषभूषा प्रदर्शनीमा सहभागी गुरुङ, राई, लिम्बु र याक्खा समुदायका प्रतियोगीहरुलाई अतिथिहरुको हातबाट आकर्षक नगद पुरस्कार सहित प्रशंसा–पत्रद्धारा सम्मान गरिएको थियो । सोही क्रममा एकल तथा सामूहिक नृत्य प्रतियोगितामा विजयी तथा सहभागी प्रतियोगीहरुलाई समेत नगद पुरस्कार सहित प्रशंसा–पत्रद्धारा सम्मान गरिएको थियो ।
संखुवासभालीहरुको बाकुलो उपस्थिती बीच एक आपसमा शुभकामना आदनप्रदान, भलाकुसारी, देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन संगै बी.बी.क्यू., सेल रोटी लगायत विभिन्न नेपाली परिकारहरुको स्वाद संगै समाजको वार्षिक कार्यक्रम सम्पन्न भएको थियो ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने सामाजिक संगै आर्थिक क्षेत्रमा समेत संखुवासभालीहरुलाई एकसाथ अगाडी बढाउँने उदेश्य अनुरुप यस संस्थाले २०२१ बाट जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार