१२७ औं साहित्य श्रृंखलामा कवि मीना श्रेष्ठ सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

  टोपबहादुर याक्खा

३१ डिसेम्बर, हङकङ– कवि मीना श्रेष्ठ, शिक्षक तथा संचारकर्मी देवराज राई, गायक प्रबल थापा लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मानसंगै विभिन्न ६ पुस्तकहरु सार्वजनिक तथा सृजना वाचन गर्दै १२७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ भ्रमणका क्रममा रहेकी कवि तथा कोशी प्रदेश सांसद माननीय मीना श्रेष्ठ र सांगीतिक भ्रमणमा रहेका दार्जिलिङ, भारतका गायक प्रबल थापालाई नेपाली भाषा, साहित्य तथा गीत संगीतको क्षेत्रमा दिनु भएको योगदानको कदर स्वरुप खदा र फूलगुच्छा सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । सोहि अवसरमा ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार वर्ष २०२१–२३’ द्धारा सम्मानित शिक्षक तथा संचारकर्मी देवराज राई लगायत साहित्य श्रृंखलाको ११ औं वार्षिक उत्सवमा सम्मान तथा पुरस्कार लिन छुट्नु भएका विभिन्न साहित्यिक तथा सामाजिक व्यक्तित्वहरुलाई समेत सम्मानपत्र तथा पुरस्कारहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी कवि तथा कोशी प्रदेश सांसद माननीय मीना श्रेष्ठको पछिल्लो कृति ‘फर्गेट एस्टर्डे’, जापान निवासी सयपत्री थुलुङको ‘गाउँ फर्किरहेको परदेशी’, करुणा राईको ‘रसिया राग’, इन्दु नेपाल योन्जनको ‘अन्तिम सेलो’, विजय बान्तावा कैलाशीको ‘उत्ताल’ र सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ गरी ६ वटा कृतिहरु सार्वजनिक गरिएको थियो ।
श्रृंखलाकी सदस्य कवि तथा साहित्यकार जानुका काम्बाङ लिम्बुद्धारा श्वागत मन्तब्य राखिएको उक्त कार्यक्रममा हङकङबासी कवि नायारण भण्डारी, पूर्णिमा शाह लगायत केही कविहरुले आफ्नो सृजनाहरु वाचन गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी कवि मीना श्रेष्ठले आफ्ना नयाँ पुराना गरी आधा दर्जन कविताहरु वाचन गरेर कार्यक्रमलाई थप साहित्यमय बनाएकी थिइन । सोही क्रममा गायक प्रबल थापा र बिन्नि लामा राईले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
याउ मा तेईस्थित हिन्सको कार्यालयमा आयोजित उक्त कार्यक्रमा श्रृंखलाका निवर्तमान सह–संयोजक तथा सल्लाहकार समेत रहेका चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले नेपालका वरिष्ट चित्रकार टेक बिर मुखियाको सम्मानमा आफूद्धारा चित्रित चित्र सार्वजनिक गर्दै वहाको छोटो जीवनी समेत सुनाएका थिए ।
श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको कार्यक्रममा श्रृंखलाकी निवर्तमान संयोजक तथा सल्लाहकार सुनिता गिरी, कवि तथा साहित्यकार देवेन्द्र खेरेस, शिक्षक तथा पत्रकार देवराज राई र कार्यक्रमका अध्यक्ष रमण गुरुङले छोटो मन्तब्य राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार