हङकङमा उपेन्द्र सुब्बाको एकल कविता वाचन

  टोपबहादुर याक्खा

१५ मे, हङकङ– बहुचर्चित चलचित्र ‘मनसरा’ प्रदर्शनको क्रममा हङकङ आइपुगेका कवि, साहित्यकार तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाको हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा ‘एकल कविता वाचन कार्यक्रम–२०२४’ सम्पन्न भयो ।
जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा आयोजित कार्यक्रममा कवि सुब्बाले चर्चित ‘साल्दि ज्यू’, ‘भेडेटार’, ‘मनसरा’ लगायत एक दर्जन नयाँ तथा पुराना कविताहरु वाचन गरेका थिए भने हङकङबासी कविहरु बज्र कुमार राई, अरुणा शर्मा, शिला घमाल, बालिका बान्तावा राई र जानु काम्बाङ लिम्बुले कवि सुब्बाकै ‘खोलाको गीत’ कविता संग्रहमा समाहित कविताहरु वाचन गरेर कवि सुब्बालाई साथ दिएका थिए ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको श्वागत मन्तब्य श्रृंखलाकी सल्लाहकार सुनिता गिरीले राखेकी थिइन भने श्रृंखलाको तर्फबाट संरक्षक दाजु गुरुङ र चलचित्र ‘मनसरा’ टिमको तर्फबाट त्रिभुवन लुङफुङ्वाले शुभकामना मन्तब्य राखेका थिए ।
श्रृंखलाका सल्लाहकार टी.बी. याक्खाले संचालन गरेको कार्यक्रममा कवि सुब्बालाई आयोजकको तर्फबाट खदा, फूलगुच्छा र ताम्रपत्रले सम्मान गर्नुका साथै कार्यक्रमको अन्तमा टिकट सिस्टमबाट संकलित रकमबाट खर्च कटाएर बाकी वचत रहेको रकम शीर उठाउनीको रुपमा हस्तान्तण गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार