२८ जुलाई, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३४ औं साहित्य श्रृंखलालाई २११ औं भानु जयन्ती विशेषको रुपमा मनायो ।
श्रृंखलाका सदस्य साहित्यकार रोशन यक्सोद्धारा संचालन गरिएको कार्यक्रममा साहित्य श्रृंखलाका सल्लाहकार दिपेन्द्र राईले आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी सुनाएका थिए भने उपस्थित साहित्यकारहरुद्धारा श्रृंखलाका संयोजक समेत रहेका चित्रकार रमण गुरुङद्धारा चित्रित भानु भक्त आचार्यको तस्विरमा फूल गुच्छा चढाएका थिए ।
याउ मा तेई स्थित हिन्सको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा संयोजक रमण गुरुङका साथै उपस्थित कवि तथा साहित्यकारहरु टंक सम्बाहाम्फे, दाजु गुरुङ, सुनिता गिरी, विष्णु मुखिया, डोम राना, नारायण भण्डारी, रोशन यक्सो, जानु काम्बाङ लिम्बु, इन्द्र काजी गुरुङ, इन्द्र राना, लिला निरौला लगायतले आदिकवि भानु भक्तसंग सम्बन्धित तथा अन्य सृजना वाचन तथा साहित्यिक मन्तव्य राखेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार उसा सेरचनको पछिल्लो कृतिका रुपमा प्रकाशित ‘अलग म’ कथा संग्रह समेत सार्वजनिक गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाको परिधी अझ फराकिलो पार्दै लैजाने उदेश्यले ठूलो पुरस्कार राशीका साथ निकट भविष्यमै ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ को घोषणा गर्न गइरहेको हुंदा साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङद्धारा तयार पारिएको ‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार वितरण कार्यविधि–२०२४’ माथि गहन छलफल गर्दै पारित समेत गरिएको थियो ।