भाद्र ८ शनिबार, स्थानीय पेप्सीकोला ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा मनोहरा साहित्य समाजको ९२ औँ मासिक रचनावाचन शृङ्खला सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा लोकवार्ता परिषद्का उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरेको प्रमुख आतिथ्य, सिनामङ्गल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेलको विशिष्ट अतिथ्य र बुढ्यौली साहित्य समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरेको विशेष आतित्यमा सञ्चालित रचनावाचन श्रृङ्खलामा ३५ जना स्रष्टाले विभिन्न विधा र विषयका आआफ्ना रचना वाचन गर्नुभयो । कार्यक्रममा पाँचजना व्यक्तित्वले समाजको आजीवन सदस्यतासमेत ग्रहण गर्नुभयो । चिरञ्जीवी रेग्मी, छत्रभूषण दाहाल, गीता कार्की, जयकृष्णलाल वज्राचार्य, सरिता तिमल्सिना, कपिल अर्याललगायतका लगालत विभिन्न साहित्यकार श्रोताहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रम संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको थियो।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्लीराज अर्यालले शिष्टताले श्रद्धावश शिर झुकाएको प्रसङ्ग उठाएको नमस्कार शीर्षकको अनुष्टुप छन्दयुक्त कविताबाट रचनावाचन शृङ्खला प्रारम्भ गर्नुभयो । साहित्यकारहरु – अप्सरा पोखरेलले सामयिक विषयमा दुईवटा मुक्तक प्रस्तुत गर्नुभयो । चन्द्र मादेन आन्छनले असमानताका सन्दर्भ उल्लेख गर्दै दुईवटा मुक्तक प्रस्तुत गर्नुभयो । घमा भट्टराईले केमा छ यो सम्झँदै शीर्षकमा शान्ति केमा पाइन्छ भन्ने चिन्तनमूलक कविता वाचन गर्नुभयो । ओम आचार्यले उपजाति छन्दमा आह्वान शीर्षकमा प्रज्ञा बचाउनुपर्ने भावको कविता प्रस्तुत गर्नुभयो । छविलाल अधिकारीले नरुवाउ भगवान् शीर्षकमा गीतिलयको कविता वाचन गर्नुभयो भने नुरदेव खनालले तीज गीतको लयमा निराश जनताको पीडा शीर्षकको कविता वाचन गर्नुभयो । धरणीधर गुरागाईले श्रुतिमधुर गीति फाँकीमा गहन भाव व्यक्त गर्नुभयो भने सूर्यप्रसाद डुम्रेले मोतीराम भट्टलाई स्मरण गर्दै फर्केर आउ घर शीर्षकमा मन्दाक्रान्त छन्दमा स्वदेश फर्कनुपर्ने भावको कविता वाचन गर्नुभयो । भावना न्यौपानेले रेणुका भट्टराईद्वारा लिखित काव्यको अंश मञ्जरीको बाल्यकाल प्रस्तुत गर्नुभयो भने भावभूमि समेटेर पाठक मन शीर्षकको रचना प्रस्तुत गर्नुभयो । सम्पत् काफ्लेले तीज गीतको फाँकी गाएर अहिंसा शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो । विनन्द वैद्यले पुण्यकर्म गरी हामी जिउन सिकौँ शीर्षकमा गीतिलयको अध्यात्मचेतनायुक्त कविता प्रस्तुत गर्नुभयो भने केशव ज्ञवाली आगतले आत्मिक प्रेम, प्रेममा समर्पणलगायतको भावभूमिमा प्रेम शीर्षकको कविता वाचन गर्नुभयो । प्रेमनाथ घिमिरेले रक्सी महात्म शीर्षकमा सुन्दर व्यङ्ग्य कविता प्रस्तुत गर्नुभयो भने शान्ति सापकोटाले शार्दूलविक्रीडितमा छोरी पठाएपछि शीर्षकमा वात्सल्यप्रेमयुक्त रचना प्रस्तुत गर्नुभयो । अशोककुमार लामिछानेले छन्दोबद्ध रचना प्रस्तुत गर्नुभयो भने बुद्धिसागर पौडेलले शृंगार रसयुक्त मिठो गजल पस्कनुभयो । चुडा चौलागाईंले मन तँ बदमास छस् शीर्षकमा कविता र एमपी पाण्डेले खै कसले चलाउँछ यो देश पर्दा पछाडिबाट भन्ने भावको सुन्दर गजल प्रस्तुत गर्नुभयो । हेमन्त निरौलाले युगानुकूल सोच राखेको भए पो हुन्थ्यो सान्दर्भिकता भन्ने भावभूमिको गजल प्रस्तुत गर्नुभयो । रोमा लम्सालले मुक्तक अंशबाट प्रवेश गरेर प्रेमभावयुक्त मीठो गजल प्रस्तुत गर्नुभयो भने कृष्णप्रसाद पौडेल जस्ताघरेले नेपाल मेरो घर शीर्षकमा राष्ट्रप्रेमको भावनायुक्त कविता वाचन गर्नुभयो । चेवन बस्नेत ठूलाघरेले जति जिस्क्याउँछौ जिस्क्याउ शीर्षकमा व्यङ्ग्य चेतनायुक्त कविता वाचन गर्नुभयो भने पदम दाहालले अनुष्टुपमा सिकसिको छ जता पनि शीर्षकमा व्यङ्ग्यभावयुक्त कविता वाचन गर्नुभयो । शोभा जोशीले छोरीको वेदना शीर्षकको गीत प्रस्तुत गर्नुभयो। वसुन्धरा चौहानले धरतीको प्रश्न शीर्षकमा सामयिक सुन्दर कविता वाचन गर्नुभयो भने उत्तम भट्टराईले गजल प्रस्तुत गर्नुभयो । निशा न्यौपानेले कहाँ होला बैकुण्ठ भन्ने ठाउँ शीर्षकमा भक्तिभावयुक्त भजन प्रस्तुत गर्नुभयो । कविराज घिमिरेले आफ्नो महाकाव्यंशका केही श्लोक वाचन गर्नुभएको थियो भने विजयराज पौडेलले समय शीर्षकमा समसामयिक संक्षिप्त रचना प्रस्तुत गर्नुभयो ।
स्रष्टा पदयात्राका संयोजक तथा मनोहरा साहित्य समाजका परिकल्पनाकार शीतल गिरीले काव्यचेतनासँग सम्बन्धित संक्षिप्त मन्तव्य प्रस्तुत गर्नुभयो भने प्रमुख अतिथि प्राडा ध्रुवकुमार घिमिरेले वाचन गरिएका सिर्जनामाथि संक्षिप्त र सारगर्भित टिप्पणी सहित आफ्नो मन्तव्य राख्नुभयो । संस्थाका उपाध्यक्ष जसध्वज गुरुङले दुई मुक्तकका फाँकीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएपश्चात सभापतिको अनुमतिले सञ्चालक भावकेशर बरालले कार्यक्रम समापन भएको जानकारी दिनुभयो । स्मरण रहोस – मनोहरा साहित्य समाजले सुरुवात देखिनै निरन्तर शृङ्खलावद्व प्रत्येक महिनाको दोश्रो शनिवार सृजना वाचन गर्दै आईरहेको छ भने,यहाँको विशेषता अधिकांश कविहरु जेष्ठ नागरिक हुनुहुन्थ्यो ।