साहित्य श्रृंखला पुरस्कारको घोषणा, सह–संयोजकमा रोशन यक्सो

  टोपबहादुर याक्खा

२५ अगष्ट, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा आफ्नो १३५ औं श्रृंखलामा सह–संयोजकको रुपमा कवि तथा साहित्यकार रोशन यक्सो चयन गर्नुका साथै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार राशी सहितको ‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार’ को घोषणा गर्यो ।
कवि तथा साहित्यकार एवं साहित्य श्रृंखलाकी सल्लाहकार समेत रहेकी पूर्णिमा शाहको श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रममा साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङले निवर्तमान सह–संयोजक अरुणा शर्माबाट आफ्नो व्यक्तिगत कार्यव्यस्तताले गर्दा साहित्य श्रृंखलालाई समय दिन नसक्ने अनुुरोध आएको हुंदा साहित्य श्रृंखला परिवाभित्र आपसी छलफल गरि सह–संयोजकका रुपमा कवि तथा साहित्यकार रोशन यक्सोलाई सर्वसम्मत चयन गरिएको घोषणा गरेका थिए । सोही क्रममा ‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार’ का परिकल्पनाकार समेत रहेका दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार’ स्थापना गरिएको घोषणा गर्दै देश विदेशमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान दिने व्यक्तित्वलाई थप हौसल्ला स्वरुप ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित ताम्रपत्रद्धारा सम्मान गरिने जानकारी समेत दिएका थिए ।
याउ मा तेई स्थित हिन्सको कार्यालयमा साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु सुनिता गिरी, बज्र कुमार राई, पूर्णिमा शाह, जुनु राना, बालिका बान्तावा, डोम राना, नारायण भण्डारी, रोशन यक्सो लगायतले सृजनाहरु वाचन गरेका थिए ।
साहित्य श्रृंखलाका सह–संयोजक रोशन यक्सोद्धारा संचालित उक्त कार्यक्रममा चवि चन्द्र गुरुङद्धारा अनुवादित ‘जहाँ आमाहरु कहिल्यै निदाउँदैनन्’, वैरागी काइलाका ‘संकलित कविताहरु’ अभय श्रेष्ठको ‘लहना र तीर’, मोमिलाको ‘प्रश्नहरु त बाँकी नै रहन्छन्…’, मन्जु काँचुली तिवारीको ‘एक थँुगा बेलीको फूल’ र ‘काँचुलीका लघुकथा’, अमरदीप सुनुवारको ‘पृथ्वीको श्वेतपत्र’ गरी आधा दर्जन बढी पुस्तकहरु सार्वजनिक समेत गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार