२७ अक्टुबर, हङकङ– नेपाल बसेर लामो समयदेखि नेपाली कला र साहित्यको क्षेत्रमा कलम चलाउदै आएका हिमाल ओसिरिसको ‘इन्द्रेणी रंगको सपना’ विमोचनसंगै अन्य विभिन्न विधाका चारकृतिहरु सार्वजनिक, कृतिहरु माथि समीक्षा तथा सृजना वाचन गर्दै १३७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाकी पूर्व संयोजक एवं सल्लाहकार सुनिता गिरीको श्वागत मन्तव्यसंगै साहित्यकार हिमाल ओसिरिसको ‘इन्द्रेणी रंगको सपना’ कृति सामूहिक रुपमा विमोचन गरिएको थियो । साहित्यप्रेमी सारा राईद्धारा हङकङबाटै प्रकाशन गरिएको उक्त कृतिमाथि साहित्य श्रृंखलाका पूर्व संयोजक एवं सल्लाहकार बज्र कुमार राईले समीक्षा राखेका थिए ।
सोहि क्रममा साहित्य श्रृंखलाका पूर्व संयोजक तथा सल्लाहकार चन्द्र मादेन ‘आन्छन’ को पछिल्लो कृति ‘आन्छनका कथाहरु’, कवि सुरज रानाको कविता संग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’, कवि जगन्नात पौडेलको कविता संग्रह ‘बग्दैबग्दै’ र प्रेम प्रकाशको ‘रगतको तर्पण’ गरी चार कृतिहरु सार्वजनिक समेत गरिएको थियो ।
श्रृंखलाकी सह–संयोजक रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु जुनु राना, बालिका वान्तावा, जानु काम्बाङ लिम्बु, विशु सम लगायतले सृजनाहरु वाचन गरेका थिए भने साहित्यकार हिमाल ओसिरिसकी धर्मपत्नि कविता सुब्बा, साहित्य श्रृंखलाका संरक्षकद्धय दाजु गुरुङ र टंक सम्बाहामफे तथा संयोजक रमण गुरुङले शुभकामना तथा धन्यवाद मन्तब्य राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १३ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।