साहित्य श्रृंखलाको १३ औं वार्षिकोत्सव सम्पन्न संयोजकमा जुनू राना  

  टोपबहादुर याक्खा

२५ मे, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा संयोजकमा जुनू राना र सह–संयोजकमा रोशन यक्सोलाई सर्वसम्मत चयन गर्दै १४४ औं साहित्य श्रृंखलासंगै ‘१३ औं वार्षिक उत्सव, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम–२०२५’ आइतबार जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न गर्यो ।
याउ चि मोङ डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ प्रमुख अतिथि र साहित्य श्रृंखलाका संयोजक रमण गुरुङ सभापति रहेको पहिलो चरणको कार्यक्रममा हङकङका ४० जना साहित्यकारहरुको विभिन्न विधाका सृजनाहरु समेटिएको ‘श्रृंखला–७’ पुस्तक मञ्चमा रहेका सभापति, प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा सामूहिक रुपमा लोकार्पण गरिएको थियो भने उक्त पुस्तक माथि साहित्य श्रृंखलाका संरक्षक तथा ‘श्रृंखला–७’ का सम्पादक दाजु गुरुङले समीक्षा राख्दै हङकङ बाहिर विश्वको जुनसुकै क्षेत्रमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ताम्रपत्रद्धारा सम्मान गर्ने गरी २०२४ मा स्थापित ‘हङकङ साहित्यिक साझा श्रृंखला पुरस्कार–२०२५’ का लागि पूर्व प्राज्ञ समेत रहेका कवि तथा साहित्यकार शशी लुमुम्बूलाई छनौट गरिएको घोषणा समेत गरेका थिए ।
हङकङमा रहेर नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रबाट नेपाली समुदायलाई विशेष योगदान दिदै आएका ४ जना व्यक्तित्वहरुलाई कार्यक्रमका सभापति रमण गुरुङ र प्रमुख अतिथि अरुणा गुरुङको हातबाट प्रति व्यक्ति नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा ‘किसन राई स्मृती प्रतिभा पुरस्कार–२०२३–२०२५’ बाट साहित्य श्रृंखलाका पूर्व संयोजक तथा सल्लाहकार समेत रहेका साहित्यकार तथा पत्रकार टोपबहादुर याक्खा र ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार–२०२३–२०२५’ द्धारा साहित्य श्रृंखलाका पूर्व संयोजक तथा सल्लाहकार समेत रहेका स्व.लालबहादुर गुरुङलाई मरोणापरन्त सम्मान गरिएको थियो । त्यस्तै गरी लामो समयदेखि हङकङको सरकारी विद्यालयमा नेपाली भाषा अध्यापन गराउँदै आउनु भएकी शिक्षिका शारदा गुरुङ ‘लालबहादुर गुरुङ स्मृति प्रतिभा पुरस्कार २०२३–२०२५’ द्धारा सम्मानित भइन भने श्रृंखलाका संरक्षक समेत रहेका साहित्यकार राज कुमार राईकृत उपन्यास ‘किवाहाङ’ लाई ‘स्रष्टा र सृजना पुरस्कार २०२३–२०२५’ द्धारा सम्मान गरिएको थियो ।
त्यस्तै गरी अन्य सम्मानित हुने व्यक्तित्वहरुमा हङकङबाट पछिल्लो समय कृति प्रकाशन गर्ने स्रष्टाहरु दाजु गुरुङ प्रकाशित उपन्यास ‘निरजोया’, रमण गुरुङ प्रकाशित कविता संग्रह ‘आकार हामीले हिडेर आएको बाटोको’, जुनु राना प्रकाशित कविता संग्रह ‘रातो नदी’, विशु सम प्रकाशित गीत संग्रह ‘परदेशी भूमि’, चन्द्र मादेन ‘आन्छन’ प्रकाशित कथा संग्रह ‘आन्छनका कथाहरु’ र बालिका बान्तावा प्रकाशित उपन्यास ‘प्याउली’ का लागि रहेका छन् भने नेपाली भाषा, साहित्य संगै साहित्य श्रृंखलालाई अगाडी बढाउन विशेष योगदान दिदै आउनु भएका विभिन्न व्यक्ति तथा संघ संस्थाहरु मध्ये द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, एन.आर.एन.ए.का उपाध्यक्ष अनु राई, हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स), साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ, साहित्य श्रृंखलाकी सदस्य तथा गायिका बिन्नी लामा राई र साहित्य श्रृंखलाकै सदस्य एवं बालकवि सुनिस्का याक्खालाई समेत कदर–पत्रद्धारा सम्मान गरिएको थियो ।
साहित्यकार कमल पौडेल, साहित्य श्रृंखलाका संरक्षकद्धय राज कुमार राई र टंक सम्बाहाम्फे, सल्लाहकार चन्द्र मादेन ‘आन्छन’, शिक्षक तथा संचारकर्मी डा.चुरा थापा, द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ र प्रमुख अतिथि अरुणा गुरुङद्धारा शुभकामना मन्तव्य राखिएको पहिलो चरणको कार्यक्रमका सभापति रमण गुरुङले आफ्नो दुई कार्यकाल (२०२१–२०२५) लाई सफल रुपमा अगाडी बढाउन सहयोग गर्ने सबैमा साहित्य श्रृंखलाका तर्फबाट एकमुष्ठ धन्यवाद मन्तब्य राखेका थिए ।
  साहित्य श्रृंखलाका सह–संयोजकको अनुपस्थित बीच पूर्व संयोजक एवं सल्लाहकार टोपबहादुर याक्खाले संचालन गरेको कार्यक्रममा निवर्तमान संयोजक तथा सल्लाहकार सुनिता गिरीले श्वागत मन्तब्य राखेकी थिइन भने शुभकामना मन्तव्यको बीचबीचमा अरुणा शर्मा, पूर्णिमा शाह, सुनिता गिरी, जुनू राना, बालिका बान्तावा, सुन्दर गुरुङले कविता तथा गजल वाचन गर्नुका साथै गायिका बिन्नी लामा राईले गीत गाएर कार्यक्रमको माहौललाई थप साहित्यिक तथा सांगितिक पारेका थिए ।
पहिलो चरणको कार्यक्रमको समापनसंगै निर्वाचन मण्डलमा रहेका साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ र राज कुमार राई तथा सल्लाहकार चन्द्र मादेन ‘आन्छन’ द्धारा साहित्य श्रृंखलाको १० औं संयोजक र सह–संयोजकका रुपमा क्रमशः जुनू राना र रोशन यक्सो सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १३ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार