विश्वविरोधी फासीवादी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८० वर्ष पूरा भएको वर्ष हो यो । यो ऐतिहासिक चरण हो, जसले हामीलाई विगत सम्झिन र भविष्यलाई अझ राम्रो बनाउन प्रेरित गर्छ । ८० वर्षअघि, पहिलो र दोस्रो विश्वयुद्धको भयावह अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले गहिरो पाठ सिक्यो र संयुक्त राष्ट्रसंघको स्थापना गरी विश्व शासनका लागि नयाँ अध्याय लेख्यो । ८० वर्षपछि पनि शान्ति, विकास, सहकार्य र आपसी लाभका ऐतिहासिक प्रवृत्तिहरू यथावत् छन् , तर शीत युद्धकालीन मानसिकता, वर्चस्ववाद र संरक्षणवादले अझै विश्वलाई सताइरहेको छ । नयाँ खतरा र चुनौतीहरू बढिरहेका छन् । विश्व फेरि एक अस्थिर र रूपान्तरणको चरणमा प्रवेश गरेको छ । वैश्विक शासन आज एक नयाँ मोडमा आइपुगेको छ । इतिहासले भन्छ- कठिन समयमा हामीले शान्तिपूर्ण सहअस्तित्वप्रति आफ्नो प्रारम्भिक प्रतिबद्धता कायम गर्नुपर्छ, आपसी लाभको आत्मविश्वास बलियो बनाउनुपर्छ, इतिहासको प्रवाहसँगै अघि बढ्नुपर्छ र युगसँग कदम मिलाएर प्रगतिशील बन्नुपर्छ । यो घडीमा म वैश्विक शासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटीभ–जीजीआई) को प्रस्ताव गर्न चाहन्छु । मानव जातिको साझा भविष्यका लागि न्यायपूर्ण र समान वैश्विक शासन प्रणाली निर्माण गर्न सबै देशसँग सहकार्य गर्न म आतुर छु ।
पहिलो, हामीले सार्वभौम समानताको सिद्धान्तमा दृढ रहनुपर्छ । देश ठूलो होस् वा सानो, शक्तिशाली होस् वा कमजोर, धनी होस् वा गरिब— सबैलाई विश्व शासनमा समान भागीदार, निर्णयकर्ता र लाभग्राहीका रूपमा मान्यता दिनुपर्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी लोकतान्त्रिक अभ्यास गर्नुपर्छ र विकासोन्मुख मुलुकहरूको प्रतिनिधित्व र आवाज बढाउनुपर्छ ।
दोस्रो, हामीले अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पूर्ण पालन गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय सम्बन्धका सर्वमान्य सिद्धान्त तथा मान्यताहरू सम्पूर्णरूपमा र निष्पक्ष रूपमा लागू हुनुपर्छ । कुनै पनि देशको ‘घरेलु नियम वा प्रावधान नियम’ अरूमा लाद्न पाइँदैन वा थोपर्न हुँदैन, यसमा दुईथरी मापदण्ड हुनु हुँदैन ।
तेस्रो, हामीले बहुपक्षीयतालाई दृढ रूपमा अंगिकार गर्नुपर्छ । व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभको दृष्टिकोणलाई कायम गर्दै एकपक्षीय प्रवृत्तिको विरोध गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिका र अधिकारलाई दृढतापूर्वक जोगाउनुपर्छ ।
चौँथो, हामीले मानव–केन्द्रित दृष्टिकोणकै पैरवी गर्नुपर्छ वा भनौं प्राथमिकता दिनुपर्छ । वैश्विक शासन प्रणालीमा सुधार गरी सबै देशका जनताको पहुँच, सहभागीता कायम गरी लाभग्राही बनाइनुपर्छ । यसले मानव जातिका साझा चुनौतीहरू समाधान गर्न, उत्तर र दक्षिण धुव्रीय खाडल घटाउन र सबै देशको साझा हित सुरक्षित गर्न मद्दत पुर्याउँछ ।
पाँचौँ, हामीले व्यावहारिक कदम चाल्नुपर्छ । योजनाबद्ध र समन्वयकारी सम्बन्ध राखेर स्रोतहरू परिचालन गर्नुपर्छ र ठोस परिणाम हासिल गर्नुपर्छ । शासन प्रणाली ढिलो नहोस् वा विखण्डित नहोस् भनी व्यावहारिक सहकार्य बढाउनुपर्छ ।साभार : अखप












