काठमाडौं – नेपालको कानुनत: साठी वर्ष उमेर पुगेकाहरू ज्येष्ठ नागरिक हुन् । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २ ले ज्येष्ठ नागरिकको परिभाषा गरेको छ । जहाँ साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनेर सम्झनुपर्छ भनेर परिभाषित गरिएको छ । सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतका कैयन जिम्मेवारीमा ज्येष्ठ नागरिकलाई बन्देज छ । तर, राजनीतिमा यस्तो छैन । जनप्रतिनिधि हुनका लागि उमेरको न्युनतमहद छ । अधिकतम उमेरहद राखिएको छैन । प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन २५ वर्ष पूरा हुनुपर्छ । अधिकतम जति वर्ष भए पनि उम्मेदवारका लागि बन्देज छैन । यस्तो सुविधानको भरपुर उपयोग जेष्ठ नागरिकले गर्दै आएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार ८७ वर्षका व्यक्ति समेत चुनावी मैदानमा उत्रिएका छन् । २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार चार सय ८७ जनाको उम्मेदवारी छ । यसमध्ये ६० वर्ष वा ६० वर्ष भन्दा माथिका उम्मेदवारको संख्या ४९८ रहेको छ । ६० वर्षका मात्रै ६२ जना छन् । ६१ वर्ष देखि ८० वर्ष उमेर समूहका उम्मेदवारको संख्या ४२९ छ । ८० वर्ष वा सो भन्दा माथिका उम्मेदवारको संख्या सात रहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रशासक आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आफूले उम्मेदवारी दिएको बताएका थिए । झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट ८३ वर्षीय हिरण्यप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा ८२ वर्षीय पञ्चकुमारी मानन्धरको स्वतन्त्र उम्मेदवारी छ । महोत्तरी–१ मा ८१ वर्षीय प्रेमबहादुर राना मगर र रुपन्देही–५ मा ८१ वर्षीय जयनारायण काफ्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओखलढुंगा १ मा राष्ट्रिय जनमोर्चाबाट ८० वर्षीय शेरबहादुर खत्री प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । अर्का एक जना नागरिकतामा गलत मिति भएका कारणले ८० वर्ष माथिका उम्मेदवारको सूचीमा परेका छन् । ती हुन्– सर्लाही २ मा उम्मेदवारी दिएका महिन्द्र राय यादव । नागरिकता अनुसार उनको उमेर ८८ वर्ष छ । तर, उनको वास्तविक उमेर ७१ वर्ष हो । ७१ वर्ष आफैंमा जेष्ठ उमेर त हुँदै हो ।साभार : अखप












