मेडिस्टोनको चुम्लुङदेनमा  लिम्बूहरूको दोस्रो ठूलो पर्व सिसेक्पा तङनाम २०२६ भव्यताका साथ सम्पन्न

मेडिस्टोनको चुम्लुङदेनमा  लिम्बूहरूको दोस्रो ठूलो पर्व सिसेक्पा तङनाम २०२६ भव्यताका साथ सम्पन्न

आस्पोट (बेलायत), १२ जुलाई २०२६।

किराँत याक्थुङ चुम्लुङ यूकेको आयोजनामा लिम्बू समुदायको दोस्रो ठूलो सांस्कृतिक पर्व सिसेक्पा तङनाम हिजो ११ जुलाई मेडिस्टोनस्थित चुम्लुङदेनको  प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ।

लिम्बू समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइने सिसेक्पा तङनामको मुख्य उद्देश्य अनिकाल धपाई सहकाल बोलाउने, पितृहरूको सम्मान तथा भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्नु रहेको विश्वास गरिन्छ।

बेलायतजस्तो व्यस्त जीवनशैलीका बीच समुदायलाई एकै स्थानमा भेला गराई आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले किराँत याक्थुङ चुम्लुङ यूकेले हरेक वर्ष यो पर्व मनाउँदै आएको छ। सस्थाकी  अध्यक्ष कमला लिम्बू तथा प्रमुख अतिथि डा. मारोहाङ खवाहांगले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

 

कार्यक्रममा लिम्बू समुदायको मौलिक भेषभूषा, संस्कृति र परम्परालाई झल्काउने केलाङ, यालाङलगायत विविध सांस्कृतिक प्रस्तुति आकर्षणका केन्द्र बने। स्थानीय कलाकारहरूको उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुतिले पनि दर्शकको मन जित्यो। नेपालबाट आउनुभएका चर्चित कलाकार राजेन्द्र केरुङ, लक्ष्मण हुक्पा चोङबाङ, दीपा सुहाङ तथा अमेरिकाबाट आउनुभएकी बालगायिका रुक्साना लिम्बूको बेजोड सांगीतिक प्रस्तुतिले कार्यक्रममा विशेष रौनक थपेको थियो।

कार्यक्रम परिसरमा लिम्बू तथा नेपाली परम्परागत परिकारका स्टल, खाम्पिन, मौलिक भेषभूषा तथा अन्य सांस्कृतिक सामग्रीका स्टलहरू राखिएका थिए। ती स्टलहरूले सहभागीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग अझ नजिक हुने अवसर प्रदान गरेका थिए।

किराँत याक्थुङ चुम्लुङ यूकेले चुम्लुङदेनको आफ्नै जग्गा खरिद गरेदेखि हरेक वर्ष यही प्राङ्गणमा सिसेक्पा तङनाम मनाउँदै आएको छ। यस वर्ष पनि बेलायतका विभिन्न क्षेत्रबाट आएका लिम्बू तथा नेपाली समुदायका उल्लेखनीय सहभागिताबीच कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।             आयोजकका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्नुका साथै समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक निरन्तरतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

सुक तुम्रोक आस्पोट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार