११ करोडमा बनेको भ्यु टावर पाँच वर्षदेखि अलपत्र…..

बुटवल –     तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष अगाडि उदघाटन गरेको रुपन्देहीको तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावर पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्न सकेको छैन । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको ११ तले टावर पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । भ्यु टावर सञ्चालनका लागि टेन्डरमार्फत ठेक्काको टुङ्गो लागे पनि सम्बन्धित कम्पनीसँग सम्झौता हुन बाँकी छ । तिलोत्तमा नगरपालिका–१ र २ मा रहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) परिसरमा निर्माण गरिएको टावर प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । वन बाटिकामा मनोरम उद्यान, सानो चिडियाखाना र पिकनिक स्पट रहेकाले विशेषगरी जाडो मौसममा घुम्न तथा वनभोज खान आउनेहरूको चहलपहल बढ्ने गर्छ । पार्क घुम्न आउनेहरूले परिसरमै रहेको अग्लो भ्यु टावर देखे पनि त्यसमा चढेर वरपरको दृश्य नियाल्ने अवसर भने पाएका छैनन् । वन बाटिकामा भेटिएकी सैनामैना नगरपालिका मुर्गियाकी २८ वर्षीया रञ्जिता थापाले टावर उदघाटन भएको धेरै वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको आश्चर्य व्यक्त गरिन् । उनले भनिन्, ‘उदघाटन भएको वर्षौं भयो भन्ने सुनेकी छु, तर अहिलेसम्म चढ्न पाइएको छैन । यहाँ आएको बेला आफू पनि चढ्न र केटाकेटीलाई पनि घुमाउन पाए हुन्थ्यो । अहिले त अग्लो भवनमात्रै देखिन्छ, सञ्चालनमा आएको रहेनछ । निर्माणको केही काम बाँकी रहेकै अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत १५ गते तामझामका साथ टावर उदघाटन गरेका थिए । उदघाटनका क्रममा ओली आफैँ टावरमा चढेर वरपरको दृश्यसमेत अवलोकन गरेका थिए । तर, उदघाटन भएको पाँच वर्ष पुग्न लाग्दासमेत सर्वसाधारणका लागि टावर खुल्न सकेको छैन ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार