काठमाडौँ – हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रमबाट अभिनेत्री गौरी मल्लसहित अन्य कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटना वास्तविक नभई प्रचारको एउटा ‘फन्डा’ मात्र भएको खुलेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देखिएको उक्त नाटकीय दृश्य चलचित्र प्रचारको रणनीति भए पनि यस्तो शैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना समेत हुन थालेको छ । करिब एक घण्टा लामो ट्रेलर सार्वजनिक कार्यक्रमको अन्त्यतिर अचानक चार–पाँच जना प्रहरी हलभित्र प्रवेश गरेपछि त्यहाँको माहोल एकाएक तनावपूर्ण र आश्चर्यजनक बनेको थियो । सञ्चारकर्मीलाई अन्तिम प्रश्न राख्न आग्रह गरिरहेका बेला एक पत्रकारले प्रश्न सोध्दै गर्दा प्रहरीले हस्तक्षेप गरेका थिए । प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिँदै चलचित्रका निर्देशक बिक्की अग्रवालसहित अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल, शिशिर वाङ्देल लगायतलाई हातमा समातेर बाहिर निस्कन भनेका थिए । त्यसलगत्तै प्रहरीले उनीहरूलाई हलबाट तल झारेर बाहिर तयारी अवस्थामा राखिएको प्रहरी भ्यानमा हालेर लगेका थिए । अप्रत्याशित रूपमा भएको यस घटनाले हलभित्र रहेका सञ्चारकर्मी मात्र होइन, बाहिर रहेका सर्वसाधारणलाई समेत अचम्मित बनाएको थियो । कार्यक्रमस्थलबाटै कलाकार पक्राउ परेको खबर र भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा ‘प्रहरीले कलाकारलाई किन पक्राउ गर्यो ?’ भन्दै व्यापक चर्चा र चासो सुरु भएको थियो । तर, यो कुनै वास्तविक प्रहरी कारबाही नभएको निर्माण पक्षले स्पष्ट पारेको छ । निर्माण टिमका अनुसार चलचित्र ‘ककाकिकी’को कथावस्तुमा पनि पात्रहरूलाई प्रहरीले यसैगरी नियन्त्रणमा लिएर लैजाने दृश्य समावेश छ । सोही दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममै जीवन्त रूप दिएर दर्शक तथा सञ्चारकर्मीको ध्यान आकर्षित गर्ने योजनाअनुरूप यो प्रचारात्मक प्रस्तुति गरिएको हो । यता, चलचित्रको प्रचारका लागि प्रहरी र पक्राउजस्तो संवेदनशील विषयलाई वास्तविक घटनाजस्तै गरी देखाइएको भन्दै सामाजिक सञ्जालमा कतिपयले आलोचना समेत गरेका छन् । चलचित्र ‘ककाकिकी’ आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।साभार : रापा












