अझै अनिश्चित मेलम्चीको पानी ………..

०४ असार २०७५,   मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै, कति समय लाग्ने हो, यसको किटान सरकारसँग छैन्। तर, मेलम्चीको पानी सुन्दरजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै पुग्ने निश्चित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरिसकेको छ । निर्देशनलयले पाइपलाइन ओछ्याउने काम सपन्नसँगै वितरणलाइनको पाइप परीक्षण समेत थालेको छ । परिक्षण थाल्नु भनेको पानी वितरणको लागि तयार हुनु हो ।मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ उपत्यकाबासीलाई वितरण गर्ने तयारी साथ धमाधम काम भइरहेको निर्देशनालयका निर्देशक तिरेश खत्रीले बताए । मेलम्चीको पानी सुन्दरीजल खस्ने बित्तिकै उपत्यकाबासीको घर–घरमा पानी वितरण गर्नेछौं,’ उनले भने, ‘अहिले सुन्दरीजलबाट पानी ल्याएर पाइप सरसफाई गरिरहेका छौं ।’ निर्देशनालयका अनुसार बिछ्याइएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम भइराखेको छ ।निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ । अब मेलम्चीको पानी आएमा हाम्रो कारणले समस्या हुँदैन,’ निर्देशक खत्रीले भने, ‘मेलम्ची पानीको लागि उपत्यकामा आवश्यक पूर्वाधार तयार गरिसक्यौं, मेलम्चीको पानी सुन्दरीजलमा आएकै हप्ता घरघरमा पानी पुराउँछौं ।’ काठमाडौंमा पानी वितरण गर्न निर्देशनालयबाट कुनै रोकावट नरहेको उनले बताए । पाइपलाइनमा पूर्ण क्षमतामा पानी पठाएर प्रेसर जाँच गरिरहेको उनले बताए । पाइपलाइनमा नियमित वितरण हुनेभन्दा बढी पानी राखेर परीक्षण गर्दा पनि कतै समस्या नभेटिएकाले मेलम्चीको पानी आएमा वितरणमा कुनै समस्या नहुने निर्देशनालयको दाबी छ। निर्देशनालयका पाइपलाइन विस्तारसँगै खानेपानीको भल्व जडान कार्य पनि अन्तिम चरणमा पुगेको जनाएको छ । मुख्य चोकहरुमा करिव एक हजार भल्वमध्ये हालसम्म ६ सय भल्व जडान भइसकेको निर्देशनालयले जनाएको छ । ‘मुख्य चोकहरुमा भल्व जडान अन्तिम चरणमा पुगिसक्यो,’ उनले भने,‘अबको केही महिनाभित्रै सम्पन्न गर्नेछौं ।’ निर्देशनालयले केही वर्ष अघि उपत्यकाको विभिन्न नौं स्थानमा रिर्जभायर ट्याङ्की निर्माण थालेको थियो । २०७३ साल असारदेखि उपत्यकाको विभिन्न सडकमा खानेपानीको पाइपलाइन विस्तार गर्न सुरु गरेको थियो । निर्देशनालयका निर्देशक खत्रीले रिर्जभायर ट्याङ्की तथा पाइपलाइन विस्तारमा १४ अर्ब रुपैयाँ खर्च भएको बताए । राजधानीको धुम्बाराही, कलंकी, चक्रपथ आसपासलगायत क्षेत्रमा पाइप बिछ्याउने काम भइरहेको छ । खत्रीका अनुसार पाइप बिछ्याइएका ठाउँमा भने लिकेज तथा प्रेसर परीक्षणको काम भइरहेको छ।

तयार भो खानेपानीको ट्याङ्की

काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयकाले मेलम्चीबाट आउने पानी संकलनको लागि नौं वटा रिजर्भावयर ट्याङकी निर्माण गरिरहेको छ । नौं वटा ट्याङ्की मध्ये हालसम्म आठ वटाको निर्माण सम्पन्न भइसकेको छ । ३० लाख लिटर क्षमतादेखि सात करोड ५० लाख लिटर क्षमताका ट्याङ्की रहेका छन् । अन्य स्थानका आठ ट्याङ्की निर्माण सम्पन्न भइसकेपनि भक्तपुरको कटुञ्जेमा रहेको जग्गा विवादको कारणले केही ढिला भएको हो । मेलम्चीबाट उपत्यका भित्रिने पानीको गुणस्तर ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गरिने भएको छ । ‘स्काडा अत्याधुनिक प्रविधियुक्त प्रणाली हो । यो प्रविधिले वितरित पानीको सम्पूर्ण विवरण स्वचालित रूपमा संकलन गर्छ,’ निर्देशनालयका निर्देशक खत्रीले भने,‘ पाइपमा केही समस्या देखिएमा पनि नियन्त्रण कक्षबाटै समाधान गर्न सकिन्छ ।’ निर्देशनालयले उक्त नियन्त्रण कक्ष महारागन्जमा राख्ने तयारी गरिरहेको छ । स्काडा’ प्रणाली जडान भएपछि पाइप र ट्यांकीमा ‘सेन्सर’ जडान हुन्छन् । सेन्सरले वितरित पानीको विवरण नियन्त्रण कक्षलाई दिन्छ । त्यसबाट पानीको बहाव, चुहावट र गुुणस्तर मापन हुन्छ । आवश्यता र पूर्तिको विवरण कम्प्युटरमा देखिन्छ । ट्यांकी रित्तिएको खण्डमा सेन्सरले जानकारी दिन्छ । ट्यांकीमा पानी भर्न नियन्त्रण कक्षबाटै ‘स्विच’ दबाए हुन्छ । ट्यांकी भरिएपछि कन्ट्रोल रुममै बसेर बन्द गर्न मिल्छ । निर्देशक खत्रीका अनुसार उक्त प्रविधि एक वर्ष भित्रै जडान गरेर सञ्चालनमा ल्याइनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार