कवि/नाटककार विष्णु नेम्वाङ के भन्छन त साहित्य सम्बन्धि।

कवि/नाटककार विष्णु नेम्वाङ के भन्छन त साहित्य सम्बन्धि।

कवि तथा नाटककार विष्णु नेम्वाङ नेपाली साहित्य क्षेत्रको परिचित नाम हो । उनले हालसम्म नाटक र कविता गरी तीन कृती प्रकाशन गरिसक्नु भएको छ । साहित्यकार नेम्वाङसँग साहित्य सम्बन्धी लिएको ताजा अन्तर्बार्ता जस्ताको तस्तै प्रस्तुत छ – सुक तुम्रोक ।

# साहित्य के हो ?
कुनै पनि बस्तु, परिस्थिति या प्रकृति, जगतलाई तेस्रो दृष्टिले हेरी निक्लने प्रतिफललाई कलात्मक ढङ्गले शब्दमा उतार्नु नै साहित्य हो ।

# तेस्रो दृष्टिमार्फत जन्मिएका सबै साहित्य हो र ?
अवश्य हो । किनभने हरेक बस्तुको लम्बाई चौडाइ उचाई सङ्गसङ्गै त्यस्को गहिराई हुने गर्छ । जसरी लम्बाई चौडाई सहज ढङ्गले देखिए झैं गहिराई सजिलै देखिदैन तर, बस्तुको सहि र उचित गहिराई पत्ता लगाउने काम, देख्ने कामको शाब्दिक कला नै साहित्य हो ।

# गहिराई बाहेकको सपाट शाब्दिक बर्णन चै साहित्य हुन्छ कि हुदैन ?
त्यसलाई साहित्य भन्न मिल्दैन । तर सपाट वर्णन नै साहित्य हो भन्नेहरुको बिगबिगी पनि छ बजारमा । जो बस्तुको भित्री आयातन खोज्नै सक्दैन । जो कल्पनाशीलतमा डुब्नै सक्दैन । सपाट पक्षको वर्णन त इतिहासको दस्तावेज हुन सक्ला, ब्यख्या र अनुच्छेद होला, शब्द मात्रै थोपरेर त अरु केहि बन्ला तर साहित्यकला बन्न सक्दैन भन्ने मेरो ठहर हो ।

# बजारमा बिगबिगी छ भन्नु भो । के सहि सृजना र सर्जक छैनन भन्न खोज्नु भा हो ?
मैले पुराकापुरा त्यसो भन्न खोजेको होइन । बजारमा त्यस्ता सृजना पनि छन र सर्जक पनि छन । तर, औलामा गन्न सकिने छन । र, उनीहरु ओझेलमा परेको अनुभुती गर्न सकिन्छ । बिगबिगी चै साहित्य रस नभएको सृजना र सर्जकको पनि छ भन्ने कुरा हो ।

#औंलामा कसकसलाई गन्न सकिन्छ ?
जो भित्री आयाम समातेर लेख्छ ति सबैलाई गन्न सकिएला । तर, अहिलेका सबै चर्चितहरु पर्दैनन । युवापुस्तामा भने बढी झुकाब देखिन्छ ।

#चर्चित कसरी भए त नि ?
समाज वर्गीय छ । आफ्नो वर्गभन्दा अरु बर्ग नदेख्ने समुह र समाजले गर्दा सत्य कुराहरु देखिन सकेका छैनन । त्यसैको उपज हुनुपर्छ । अर्थात जुन वर्गको हालिमुहाली छ त्यो बर्ग अगाडी आउनु पनि कारण हुन सक्छ । भने सबैमा त्यो लागु हुँदैन । अघिल्लो पुस्ताका थुप्रै साहित्यकारहरुले भने नयाँ शैली, नयाँ प्रयोग भने गरेकै छन । अलि बढी जर्जर भने अहिलेको अवस्थामा नै देखिन्छ । मतलब चर्चित हुनका लागि सबै गुमाउन चाहन्छ । जो सँग सबैको पहुँच छ ।

#नाम नै भनी दिनुस न ?
पछिल्लो पुस्तामा भूपी सेरचनले लेखनमा नयाँ प्रयोग नै गरिदिनु भो । बि.पि. ले एउटा मनोविज्ञान स्थापित गरिदिनु भो । भैरब अर्यालको अर्को शैली । पारिजातले त आफ्ना पाँच उपन्यास त जलाएका नै थिए किन भने यि उपन्यासहरु उपन्यास नै होईन भनेर । जलाए पश्चात शिरीषको फूल जस्ता भयङ्कर कृती जन्माए । लगायत सर्जकले नयाँ नयाँ प्रयोग गरेका कारण चर्चित भए तर अहिले भूपिका उत्तराधिकारी, बि. पि. का उत्तराधिकारी, पारिजातका उत्तराधिकारी भनौदाहरुले खास नयाँ प्रयोग गर्न सकेका छैनन । यद्यपि चर्चित छ्न । आवश्यक परे नाम पनि भनौला ।

#अहिले नै नाम उल्लेख गरिदिनुस न ?
नाम उल्लेख गर्ने समय आउला । धेरै हतार पनि गर्नु हुँदैन ।

#उत्तराधिकारी बन्ने कुरा, उनिहरुको शैलीलाई पछ्याउने कुरा त सहि नै होला नि ?
एक हिसाबले सहि होला तर उनीहरुकै शैली र प्रयोगलाई पहिल्याउने हो भने फलानो कवि किन चाहियो ? फलानो नाटककार किन चाहियो ? फलानो उपन्यासकार किन चाहियो ? उनिहरु नै त छ्न । मैले भन्न खोजेको कुरा के भने विकसित शैली पस्किन सक्नु पर्छ भनेको। अनि चर्चित हुनका लागी मात्रै लेखिने सोच पनि त गलत हो ।

#तपाइँको कुरा पनि मनासिब नै होला ? तपाईंको कुरामा के बुझिन्छ भने पुरानो शैली र नयाँ शैली बीचमा छदम अन्तरसङ्घर्ष चलिरहेको छ । हो त अहिले ?
नयाँ र पुरानो बीच एक अर्कामा संघर्ष हुनु । घर्षण हुनु त प्राकृतिक नियम नै हो । त्यो हुनु पर्छ नै । त्यसो हुँदा नयाँ चिजको विकास हुने गर्छ । तपाईंको प्रश्नानुसार चली नै रहेको छ । त्यस सङ्घर्षको अन्त्य नयाँ चिजको जन्मले मात्र रोक्न सक्छ । अन्यथा रोकिँदैन ।

# त्यसो भए अहिले नेपाली साहित्य कुन धारमा छ त ?
आदिकालमा भानुभक्तले नेपाली साहित्यमा ठुलो योगदान गर्नु भो । वहाँको एउटा प्रयोग हो । त्यो प्रयोगले लामो समय लियो । लक्ष्मीप्रसाद देबकोटाको एउटा युग होला । भने भूपी सेरचनको एउटा युग । भूपीले परम्परागत धार भन्दा नयाँ धार स्थापित गर्नु भो । यिनै उल्लेखित धारभन्दा नयाँ धारमा नेपाली साहित्यले अहिले फड्को मार्न सकेको छैन । यद्यपि, एउटा पुस्ता भने नयाँ धार स्थापनार्थ लागेकै देखिन्छ ।
#के नयाँ धारको खोजिमा तपाईं पनि हो ?
विल्कुल हो । साहित्यमा नयाँपनको खोजी गर्नु पर्दछ भन्ने लागेकै छ । हामीसँग महान साहित्यकारहरु थिए । नाम चलेका छन । तर, फैलावटको हिसाबमा हाम्रो साहित्य कुन स्थानमा छ भन्ने कुरा बुझेका नै छौं । विश्वमन्चले कति स्वीकारेको छ भन्ने हामीले हेक्का राखेका नै छौ । तसर्थ, नेपाली साहित्यले थप उचाई लिन जरुरी भएकोले त्यस्को खोजिमा म पनि छु ।

#तपाईंले भने जस्तो धारलाई स्थापित गर्न के गर्नु पर्ला ?
नयाँ चिज ग्रहण गर्न जनमानसमा सामन्यता गाह्रै हुन्छ । त्यसो हुँदा साहित्यमा नवीनता ल्याउन कस्सिएकाहरु एकत्रित हुन जरुरी छ । पार्टी, सिद्धान्त वर्ग, गुठ भन्दा माथी उठेर एउटा शाब्दिक आन्दोलनको रुपमा अगाडी बढ्नु पर्दछ । जसले नेपाली साहित्य पछाडिनुमा कायापलट गर्ने छ । नकि नेपाली साहित्य नेपालमा नै खुम्चियोस ।

#कवितामा छन्द अर्थात गध्य र पध्यको कुरा जो छनी ?
छन्द भनेको लय हो । सृजना जे मा जसरी लेखिए पनि हुन्छ नै । तर, सृजित सृजनाहरुको गहनता हुनु पर्छ । सामन्य तर गह्रुङ्गो हुनुपर्छ । शब्द थोपरेर, बहर मात्र खोजेर या अन्तानुप्रास मिलाउदैमा कविता गजल बनिहाल्छ मलाइ लाग्दैन । भाव पक्षको ओजन बारे ख्याल हुन जरुरी छ । जुन सबै विधामा लागु हुन्छ ।

# तपाईं बढी कविता र नाटक लेख्नु हुन्छ हैन ?
कविता र नाटक आफैमा जटिल विधाहरु हो । मैले अरु विधा चै सरल भन्न खोजेको होईन । कविता धेरै बिषय छोटो तरिकामा बुझाउने माध्यम हो । त्यसैले सबै बिषय लामो लेखनले मात्रै सम्भव छैन । र मैले कविता लेख्ने गर्छु । त्यस्तै नाटक बास्तबमा अप्ठ्यारो विधा नै हो । नाटकमा कथा बस्तुको प्लट, सम्बाद, अभिनय, निर्देशन लगायतका जोडले जीबन्त तुल्याउनु पर्ने विषय भएकोले नाटक साहित्य थोरैले लेख्छन । तसर्थ, नेपाली साहित्यमा नाट्य साहित्यको खडेरी अवस्थालाई परिपुर्ती गर्न म नाटक लेख्छु । तथापी छरितो सृजना गर्न सबै विधा जटिल नै छ ।

# नाट्य साहित्यको अवस्था र विकास कस्तो छ नेपाल अनि विश्वमा ?
ई. सा. को जन्म भन्दा दुई र ढाई सय बर्ष अगाडी ग्रीकबाट शुरु भएको नाटक उबेला भन्दा फरक छैन नेपालको नाटक । बामे सरिरहेको देखिन्छ । तर हाम्रो मुलुकभन्दा विकसित मुलुकमा उच्च स्थितिमा छ नाटकको अवस्था । ती मुलुकले सभ्यताको रुपमा नाटक क्षेत्रको विकासमा लागेका छन । यहाँ पनि विकास गर्न सकिन्छ नै तर पुरातन दम्भ तोड्न जरुरी छ । राज्याका सम्बन्धित निकायहरुलाई घचघच्याउनु पर्छ नै ।

#हालसम्म कति वटा कृती प्रकाशित गर्नु भो ?
मैले एक कविता सङ्ग्रह र दुई नाट्य कृती गरि तिन वटा प्रकाशित गरिसकेको छु ।

# तपाईंको प्रकाशोन्मुख कृती छ कि ?
छ। म अहिले कविता सङ्ग्रहको तयारीमा छु । यो वर्ष भित्र प्रकाशित गरि सक्ने छु । र, त्यस पछाडी नाटक सङ्ग्रह निकाल्छु ।

# तपाईं साहित्यिक सङ्घ सस्थामा पनि आवद्ध हुनुहुन्छ ?
छु । कायाकल्प नाट्य केन्द्र, द्रष्टब्य साहित्य नेपाल यि दुईमा म साङ्गाठानिक रुपमा आवद्ध छु भने बिभिन्न साहित्यिक सस्थाको साहित्यिक कार्यक्रममा पनि बोलाउनु हुन्छ नै त्यसको अलवा अलग अभियानको कार्यक्रममा अलि बढी जोडिने गरेको छ ।

# अन्त्यतिर दुई शब्दमा भनिदिनुस साहित्य सृजना कस्तो हुनुपर्छ ?
सरस तर गहन । अर्थात् , सबैले बुझ्ने किसिमको हुनुपर्छ । जुन पाठकले सहज ढङगले ग्रहण गर्न सक्नु पर्छ ।

#बाँकी केहि भन्नु छ ?
– लगभग यति नै हो । तर पनि म सम्पुर्ण साहित्यकारहरुलाई के भन्न चहान्छु भने आफ्नो धरातलबाट मास्तिर उठौं । सबै नेपाली साहित्यकारहरु एकाकार होऔं। प्रगतिशील सौर्न्दर्यमा कलम चलाऔं । अन्तर्राष्ट्रिय जगतमा हाम्रो साहित्य पुग्न नसकेको अवस्थामा पुर्याउने दिशा समातौ भन्ने सुझाब दिन चाहान्छु ।
###

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार