पार्टी एकताको बाँकी काम आजै टुंगिन्छ……….

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लगाउने दाबी गरेका छन्। अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसारनै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताएका हुन्। मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उनले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरूको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको पनि जानकारी दिए। प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने अध्यक्ष दाहालको भनाइ छ। उनले पार्टी एकताको सबै कामले पूर्णता पाउने बित्तिकै पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरूलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे। अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरूले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले जनताले विश्वास गरेर दुईतिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहानाअनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहो-याए। अध्यक्ष दाहालले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार