पैयु फुल्दा

  - भुपेन्द्र चेम्जोङ

पैयु फुल्दा
– भुपेन्द्र चेम्जोङ

आकाशको बादलले पनि विश्राम लिएछ क्यारे
चन्द्र सुर्यको गोठालो गर्नै छोडेछ,
स्वतन्त्र निलो समुद्रमा पौडिरहेका देख्छु ,
बादलुले शीत थाप्न पनि छोडिसकेछ।
प्रभात सङ्गै पातहरुमा
मोतीका दानाहरु
टल्किरहेको देख्छु ।।
उत्तर दिशाबाट कुम्भकर्णले
फुकेको शीतल हावा ओडेर
मेरो गाउँ खुशिले
हासिरहेको देख्छु ।।
मेरो घर मास्तिर
राताम्मे फुलेको
पैयुको फूलले
सारा बस्ती मगमगाई रहेको बेला,
मेरी ठुली बहिनी पैयुको फूल चुल्ठोमा सिउरेर
बाख्रा चराउदै सुसेलिको साथमा
दिनभर पालाम गाउछिन।।
मेरो घर मुन्तिर
पहेल्पुर धान पाकेर
तरुनी तन्नेरी धान नाचे जस्तो
लहलह झुलिदा मेरी सानी बहिनी
ढाकाको झोला बोकेर
बालाको पुतली
बुन्न बेसी झरेकी छिन ।।
मेरो सानो भाइ
झोलाभरी मटेङ्रा र गुलेली बोकेर
भुक्के चप्पल पडकाउदै
पैयुको फुल चुस्न आउने
स साना चिरबिर चरीहरु झार्न
पैयुको बोटमुनी
श्वास रोक्दै ढुकेर
बसेकाछन ।।
बुबा
चासोक तङनामको
खाने लाउने जुटाउन
एक ढाकर सुन्तला बोकेर
सोमबारे हटिया
झरिसकेकाछन ।

आमा
चासोक पुजा गर्नकोलागी
खुर्मी र थुम्से बोकेर
कोदो र धानको बाला टिप्न
बेसी झरेकिछिन।।
तन्देरीहरु हर्षोल्लासका साथ
चासोक मेलाको तयारीमा
रिठ्ठा र खरानीले
लुगा धुदै पधेरामा
पालाम गुन्जाई रहेकाछन ।।
तरुनिहरु
चाम्रे र जाडको खाजा
पोको पार्दै गहना -लुगा
बटुलेर ऐना
अगाडि ब्यस्त देखिन्छन ।।
बुढापाका
खोस्टामा सुर्ति बेरेर
कानमा सिउरिदै
चुम्लुङहिम गएर
तोङबाको सर्को सङ्गै
हाक्पारे सुरु गरिसकेका छन ।।

म पनि
दाउरा सुरुवाल लाउछु
खमारी काठको च्याब्रुङ
छड्के भिरेर
सिरबन्दी,कण्ठा, नेस्से
लगाउने सुन्दर
लुङवाहरु सङ्ग
धान नाच्न निस्किसके
सबैले मलाई
पछ्याउनु है
लुङ्वाहरु???

सर्जक “भुपेन्द्र चेम्जोङ”

( लामो समयबाट हङकङ बसोबास गर्दै आएका गणितका पुर्ब शिक्षक सर्जक भुपेन्द्र चेम्जोङ आदिबासी जनजातिहरुको हकहितका लागि लड्दै आएका अभियन्ता हुन।साथै सनराईज साप्ताहिकका पुर्ब सम्पादक समेत हुन।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार