बल र ब्याट दुवैमा दीपेन्द्र चम्किएपछि नेपाल ६ विकेटले विजयी………

चैत १, २०७४    काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । नेपालले २३ ओभरमा पपुवा न्युगिनीले प्रस्तुत गरेको लक्ष्य भेट्यायो ।  दीपेन्द्रले खेलमा चार विकेट लिनका साथै नेपालको टोली संकटमा रहेको बेला ५० रनको योगदान दिए ।  ऐरीले ५८ बलमा अर्धशतक बनाए । उनलाई आरिफ शेख र कप्तान पारस खड्काले राम्रो साथ दिए ।  पपुवा न्युगिनीले प्रस्तुत गरेको ११५ रन को लक्ष्य पछ्याउने क्रममा नेपालले १३ रनको स्थितिमा दुवै ओपनर गुमाएको थियो । कप्तान पारसलाई २० रनको स्थितिमा गुमाउँदा नेपालको स्थिति ३ विकेटको क्षतिमा ३५ रन थियो । त्यसपछि दीपेन्दले २६ रन बनाएका आरिफसँग मिलेर नेपालको स्थिति सम्हाले र नेपाललाई जीत दिलाए । यसअघि, सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको धातक बलिङ सामु पपुवा न्युगिनी निरिह बनेको थियो । सन्दीप र दिपेन्द्रले कसिलो बलिङ गर्दै ४–४ विकेट लिए पछि पपुवा न्युगिनी मात्र २७.२ ओभरमा आल आउट हुनुपुग्यो । पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले २० रन पूरा गर्न सकेनन् । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वा्धिक १९ तथा जेसन किलाले १५ रनको योगदान दिए । सोमपाल कामी र करण केसीले पपुवा न्युगिनीका दुवै ओपनरलाई पभिलियन फर्काएपछि सन्दीपले ८ ओभरमा २९ रन खर्चेर चार विकेट लिँदै मध्यक्रमलाई ध्वस्त पारे ।त्यसपछि बलिङ गर्न आएका ऐरीले अन्तिम चार विकेट लिँदै पपुवा न्युगिनीलाई सस्तोमा समेटे । ऐरीले मात्र ४.२ ओभरमा १४ रन खचेएर ४ विकेट लिए । अब अर्को प्लेअफमा आफू अनुकुल नतिजा आए नेपालले चार वर्षका लागि एकदिवसीय खेलका लागि अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । जीत निकालेपछि नेपालले डिभिजन टुमा घटुवा हुने खतरालाई पनि टार्नेछ । सुपर सिक्समा पुग्न असफल राष्ट्रहरुबीच आज प्लेअफका खेलहरु भइरहेका हुन् । आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई हराउँदा अर्को खेलमा नेदरल्याण्डले पनि हङकङलाई पराजित गरे नेपाललाई एकदिवसीय मान्यता प्राप्त हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार