बोजुको माया

ईक्सा लिम्बु फर्म ४,बेथल हाइ स्कूल–हङकङ

नेपालको एक राम्रो बोर्डिङ स्कूलमा ममता ६ क्लासमा पढ्छिन् । उनी क्लासमा जहिले पनि फस्र्ट हुन्छिन् । उसलाई गुरुबा गुरुआमाले पनि सारै मन पराउँथे । उ एक इमान्दारी केटी हुन् । उसको बुबाआमा हङकङमा बस्नुहुन्छ । ममता चै बाजेबोजुसँग बस्छिन् । ममता जहिले पनि स्कूलबाट आएपछि स्कूलको किताब निकालेर मज्जाले पलेटी मारेर घण्टौँ सम्म पढेर बस्छिन् । ममताको बाजेबोजु कति खुसी हुनुहुन्थ्यो । ममताले कति घरको काम पनि बोजुलाई सघाउँछिन् । हो त्यसरी नै उनीहरुको दिन बित्थ्यो । एक बिहान सबै जना सुतीरहेको बेला बोजुको मोबाइलमा कल आयो  बोजुले  आँखा खोलिन् र फोन उठाउनुतिर लागिन् । फोन कोस्कोबाट आएछ भन्दा त ममताको बाबाबाट रहेछ । बोजु खुसी भएर बोल्नु भइन्  “छोरा तँ कस्तो छस् ? महिनौँ पछि  बल्लबल्ल कल गरिस् त ?” ममताको बाबाले भने “ अँ नि आमा म त काममा ब्यस्त भएर नि, तपाई चै कस्तो सन्चै हुनुन्छ ? बाबा के गर्दैहुनुन्छ ? र ममता कस्ती छिन् आमा ?” बोजुले भनिन् “म त के र बुढी आमै घरमा तेतिकै ट्वाल्ल परेर बस्छु तर नि ठीकैछ मेरो हालखबर बिरामी भएको छुइन । अलिअलि काम गर्न र हिड्न सक्छु । तेरो बाउ चाहीँ यसो करेसाबारीमा कामगर्न जान्छ थाकेर सुतिराछ, जिउहरु सब दुखीराको छ भन्दैथियो हिजोराती । ममता त कति ज्ञानी भकोछिन् । घरको काम सपै उसैले नै गर्छिन् । खाना पनि मीठै बनाउँछिन् । ऐले चै उ सुतिराछिन् । ”
ममताको बाबाले भन्नुभो “राम्रोसँग आफ्नो हेल्थको ख्यालराख्नु आमा, म नि याँ पैसा कमाउनुपर्छ । मरीमरी काममा खट्नुपर्छ । बाबालाई नि ख्याल राख्नु, धेरै गाह्रो गाह्रो काम नगर्नु भन्नु है ।” बोजुले “हुन्छ छोरा, तँ पनि आफ्नो ख्याल गर है ! अनि बुहारी चै कस्ती छिन् ? भनेर सोध्नुभो ।” उ पनि मै जस्तो हो, बिचरी काममा उइ नि  भनेर ममताको बाबाले भन्यो ।  “ए…! ल ल बुहारीलाई पनि राम्रो ख्याल राख्नु भन्नु” भनेर बोजुले भन्नुभयो । ए साच्ची आमा मैले  के सोचीराको छु भने अब ममतालाई यहाँ हङकङमै ल्याउने भनेर हाम्ले सोच्याथिम् । किनकी उसको पढाई पनि यहाँ आएर पढे राम्रोहुन्थ्यो पछि आएर यहीँ बस्नुपर्छ । यहाँको वातावरण पनि राम्रो छ फेसिटिली पनि यतैको राम्रो । बरु ममतालाई अब यतै बसाल्छौँहोला भनेर तपाईसँग सल्लाह गर्नुको लागि पो कल गरेकोथेँ । छोरीसँग यतिन्जेल सँगै बस्नु पाएको छैन । मुख नदेखेको पनि धेरै भयो । उ त्यही बस्यो भने बाउआमाको अनुहार पनि बिर्सिन्छहोला । बरु हामीलाई त ममताले बिर्सि पनि सकिन होली हौ आमा । छोरीलाई कस्तो भेट्नु मन छ । अस्ति सन्डे ममताको आमा रुँदैथिन्, छोरीसँग फोनमा बोलिभ्याए पछि । छोरीको साह्रै याद आउँछ भन्छिन्  । के गर्नु आमा मलाई भन्दा नि उसको आमालाई ममतासँग सँगै बस्न मन छ ।
बोजुले भनिन् “छोरा तैले के भन्न खोज्दैछस् भनेर मलाई राम्रोसँग थाहा छ । तँलाई पनि मैले तेसरी नै  सम्झिरहेको छु । आफ्नो छोराछोरी आफूबाट टाढा भयो भने याद आउँछ । सँगै बिताएको दिनहरु फर्केर आए हुन्थ्यो जस्तो लाग्छ । भेट्नु मनलाग्छ । आफ््नो हातले पकाएको खाना सँगैबसेर खानु मन लाग्छ । हाम्रो अन्तिम छुटेको दिनपनि याद आउँछ । तर खै ! हामी पनि तिमीहरुसँग बस्न पाएका छैनौँ । तँ साच्ची दुखी छस भने हामी ममतालाई पठाउने बन्दोबस्त मिलाउँछौँ ।”
हुन्छ आमा म ममताको लागि टिकेट तयार गरेर तपाईलाई कल गर्छु है ! त्यसरी नै कुराकानी गरेर दुबैले फोन राख्नुभो । शनिबारको दिन थियो बिहानको ७ बजे बोजु ममता र बाजेको लागि नास्ता बनाउनु हुँदै थियो । बिस्तारै ममता पनि उठिन् र मुखसुख धुनलाई बाथरुम गइन्  । बाथरुमबाट निस्किीने बित्तिकै गाग्री बोकेर ट्याङ्कीतिर लागिन् । ममता गाग्रीमा पानी लिएर घर फर्किन्  । बाजे भर्खरै उठ्नु हँुदैथियो । त्यतिखेर ७ ः४० बजेको थियो सबैजना आ–आफ्नो ठाउँमा बसे अनि ममता र बाजे चाहीँ बोजुले बनाउनुभएको मीठो सुक्खारोटी र अम्लेट खानुथाले तर बोजु उदास आँखाले ममतालाई हेरिराख्नु भो । ममताले सोधिन् “बोजु तपाईलाई के भयो ? किन मलाई त्यसरी हेर्नु भाको ?” बोजुले भनिन् ममता तँलाई हामीसँग नेपालमा बस्न मन छ कि तेरो आमा बाबासँग हङहङमा ? ममता एकछिन छक्क परिन् र भनिन् बोजु साच्चै भनुँम् भने “ मलाई आमाबाबासँग बस्थेँ बस्नु पाको भए ” बोजुले त्यहाँ देखि महशुस गर्नुभो कि जुन उसको छोराले ममताले हङकङ लाने भनेर भन्याथ्यो त्यो कुरा सही रहिछ । दिउँसो दिउँसो हुँदाखेरी ममता उसको आफ्नो कोठामा गएर पढ्नु थालिन् । बोजु र बाजे किचेनमा बसेर कुरागर्नु थाले । के कुरा हो भन्दा त ममतालाई आफूबाट छुटाउन मन थिएन रहिछ । उहाँ दुईजनाले नै नातिनीलाई बेस्सरी माया गर्नुहुन्थ्यो हुर्काई, बढाई, पढाई लेखाई सारा पूरा गरिदिएका थिए तर आखिरमा बाजेबोजुले ममतालाई हङकङ पठाउने निर्णय गर्नुभयो र बोजुले ममताको सबै कागजपत्र स्कूलको सर्टिफिकेटहरु जम्मापारेर  एउटा सानो सुटकेसमा मिलाईदिनुभोे । बोजु मनमनै सोच्दैथिइन् अब ममता पनि गएपछि त हामी दुई बूढाबुढीमात्र हुनेभयौँ यो केटी गएपछि घर कति शुन्य हुने होला ।
३ हप्ता पछि ममतालाई एयरर्पोट पुर्याउन बाजेबोजु जानुभो । रिपोर्टीङ टाइम बिहान ८ बजेको थियो फ्लाईट चै ११ बजे थियो । ममताले एयरर्पोटमा १–२ घण्टाजति पर्खिनुपथ्र्यो । तर बाजेबोजु भित्र पस्न नपाउने हुनाले सामानहरु बोकेर बाजेबोजु ममतालाई एरयर्पोटको ढोकासम्म पुर्याइदिए । बोजुको आँखाबाट आँसु तुपतुप चुईराथ्यो, ममताको पनि । बाजे चै पसलबाट खानाहरु किनेर ल्याइदिनु भो र ममतालाई दिनुभो । भित्र धेरैबेर कुर्दा भोक लागेमा खानु है भन्दै सबै डकुमेन्टहरु पासपोर्ट आइडी टिकेट ममताको ब्यागमा राखिदिदै आफ्नो सामानहरुको राम्रो जतन गर्नु है भन्नुभयो ।
बोजु नातिनी दुबैजना आँसु झार्दै एक अर्कालाई हग गरे । अनि बोजुले भन्नुभो “ममता तँ आफ्नो ख्याल राख । मलाई घरीघरी कल गर । तँलाई कै भयोभने मलाई तुरुन्त कल गर्नु है । म तँलाई जैले याद गर्नेछु । भनेर भन्नुभो ममताले आँसु पुछ्दै भनिन् बोजुबाजे तपाईहरु आफ्नो ख्याल राख्नु म अब त्याँ हुदिन” । ममताले आफ्नो ब्याग बोकीन् र सुटकेस तान्दै भित्र गइन् । ममताको बाजेबोजु ममतालाई परसम्म हातहल्लाउँदै थिए ममता पर पुगेर फर्केर बाजेबोजुलाई हेरिन् र तपाईहरु अब घर जानुस् भनेर इशारा गरिन् । ममता पनि भित्र गएर प्लेन पर्खिन लागिन् । ममता घरिघरि बाजेबोजुलाई सम्झिन्थिन् घरि आमाबाबालाई यतिकैमा प्लेनमा जाने अनाउन्स भयो ।
५ घण्टा पछि ममता हङकङको एयरपोर्टमा पुगिन अलिअलि डराईरहेकी थिइन्, अलिअलि एक्साईटेड पनि थिइन् । नेपालीहरुको पछिपछि लागेर ममता बल्ल बाहिर निस्किन् । आमाबाबा उसलाई लिन आउनुभएको रहेछ । भेटभएपछि खुसीले आँसुझार्दै आमा छोरी निकैबेर हग गरीरहे । छोरी यत्रो ठूलीभएको देखेर आमाबाबा छक्कै परे । गाडी लिएर उनीहरु घरतिर लागे । बाटोभरि ममताले आफ्नो र बाजेबोजुको कुराहरु सुनाईन्  । सबैजना धेरै खुसी थिए ।  घर पुगेपछि ममताले बोजुलाई कल गरेर म राम्रोसँग आइपुगेँ भनिन । ममताको स्वर सुनेर बोजु धेरै बोल्न सकिनन, राम्रोसँग पढ् राम्रोसँग बस यतिमात्र भन्नुभो ।
त्यसपछि हङकङमा ममताको दिनहरु सुरु हुन थाल्यो । नयाँ ठाउँ, नयाँ बातावरण, नयाँ स्कूल, नयाँ साथी । स्कूलमा उसलाई चाइनिजमा अलि प्रयास चाहिएको थियो । अब उसको नयाँ साथी रितिका बन्यो हङकङमा ।  ममतालाई रितिकाको बारेमा केही थाहा छैन । रितिका पढाईमा पनि राम्रो थिएन । आमाबाबाको कुरा पनि नमान्ने एकदम स्वतन्त्र भएर हिड्न मन पराउने । आफू जस्तै साथीहरुसँग धेरै डुलघुम गर्ने रहेछ । बिस्तारै रितिकाले ममतालाई पनि सँगसगै हिडाउन थालिन् । ममता चै रितिकाले उसको कस्तो केयर गर्छ भन्दै खुसीहुँदै उसैको पछिपछि हिड्न थालिन् । रितिका जैले राति अबेरसम्म पार्कमा साथीहरुसँग बस्थिन् र ममतालाई पनि  बोलाउँथिन् । ममताको आमा बाबा जहिले कामबाट ढिलो घर फर्किनु हुन्थ्यो । ममता अबेरसँग रितिकासँगै डुल्दै हिड्थी  रितिकाको सबै साथीहरुसँग ममताको सङ्गत बढ्दै गयो । ममतालाई हङकङको लाइफ स्टाइल एकदम स्वतन्त्र र रमाइलो लाग्न थाल्यो । स्कूलबाट घर फर्केपछि किताब हेर्ने हैन घुम्नमा नै ब्यस्त हुन्थी ममता ।
नेपालमा त्यस्तो राम्रो पढ्ने छोरी त हङकङ आएर क्लासमा अन्तिमतिर पुगिन् । शुरु शुरुमा त नयाँ ठाउँको स्कूल भएर होला बिस्तारै इम्प्रुभ होला भनेर आशा गरे आमाबाबाले तर १ वर्ष हुँदा नि छोरीले पढाइमा केही प्रगति गर्न सकिनन । आफ्नो सोझी, ज्ञानी छोरीको बानी व्यहोरामा पनि चेन्ज आएको अनुभव गर्न थाले आमाबाबाले । यसरी नै ममता रितिकाको संगतमा फस्दै गइन् । रातभर दुईजना डुल्दै खाँदै बाहिरै रमाउँथे । बाबाआमा घरमा आउँदा छोरी घरमा नहुने कल गर्दा कैले रिसिभ नगर्ने । पछि सोध्दा बाहाना बनाउने । बिस्तारै ममताको हङकङमा साथीहरु बढ्दै गयो तर सबै स्कूल नपढ्ने साथीहरु मात्र थिए । उनीहरुसँग भेटघाट हुँदा पढाईको स्कूलको कुराहरु कहिल्यै नआउने । जहिले मोजस्ती डुलघुम आदि ईत्यादि कुराहरु गरेर समय बिताउँथे । ममता अब बिस्तारै बाबाआमासँग भन्दा साथीहरुसँग धेरै नजिक हुनथालिन् । पहिलाको जस्तो आमाबाबाको कुरा पनि सुन्न छाडिन्, अटेरी अटेरी हुन थालिन् । नेपालको बाजेबोजुको बारेमा कुरागरिरहने ममता आजकाल बाजेबोजुको बारेमा पनि कुरागर्न छोडिन् । नेपाल मिस गर्न छाडिन् अब ममतालाई हङकङक रमाईलो लाग्न थाल्यो । नयाँ–नयाँ साथीहरुले उसलाई बाहिर बोलाउँथे । ममता धेर जसो समय साथीहरुसँगै बिताउँथी । आमाबाबाले बाहिरको साथीहरुसँग धेरै डुलघुम नगर भनेर सम्झाउँदा “तपाईहरु काममा हुन्छ अनि म एक्लै के गरिबस्नु घरमा ? फेरि साथीहरुले पनि मलाई खोजिराख्छन”् भनेर जवाफ फर्काउँछिन् । भर्खरै नेपालबाट आएको छोरीको व्यावहार परिवर्तन भएको देखेर बाबाआमा चिन्तित हुदै अब के गर्ने होला ? कतै हामीले ममतालाई हङकङ ल्याएर गल्ती त गरेनौँ ? यस्तै कुराहरु बाबाआमाको मनमा आइरह्यो ।
ममताको मोबाईलमा कल आइरहेको थियो । आमाले देख्नु भएर को रैछ भनेर फोन रिसिभ गर्नसाथ उताबाट बोल्यो “ओई छिटो आइज न मोज गर्नुपर्छ तँलाई हिजै भनेको हैन ?” आमा त छक्क परिन् कुरा सुनेर । हैन को हौ तिमी ? कसलाई बोलाएको ? कहाँ बोलाएको कस्तो मोज गर्ने हो ? उताबाट बोल्यो  “तँ चै को होस् नि ? ममताको फोन उठाउने ? खुरुक्क ममतालाई फोन दे त” आमा त रिसले आगो भइन् । म ममताको आमा हो तिमी चै को हो ? यति सुन्नसाथ उताबाट फोन राखिहालिन् । आमा फोन बोकेर ममताको कोठामा छिरिन् । ममता सुतिरहेकी थिई । छोरीलाई उठाएर आमाले सोधिन् “ममता यो तेरो साथी हो कि सैतान ? कस्तो परिवारको मान्छे हो ? कत्ति नराम्रो बोली बोलेको ? आज मलाई फोनमा पुरा तँ भन्दैथ्यो । राम्रोसँग बोल्न जान्दैन कि के हो ? भनिहाल तेरो साथी हो कि हैन ? तँलाई हामीले हङकङ ल्याएको यस्तै मान्छेको संगत गर्नलाई हो ? यस्तोहरुको सङ्गत गर्छस् ? भनिहाल यो फोन गर्ने को हो ? म भेटेर कुरा गर्छु ।” आमा रिसले ठूलोठूलो स्वरमा बोल्न थाल्नुभो । ममताले भनिन् “यो ममी पनि किन चाहियो तपाईलाई, जो सुकै होस् तपाईलाई के ?” आमा छोरीको यस्तो व्यबहार देखेर फेरि छक्क परिन् ।  मनमनै भनिन् के यो मेरै छोरी बोलेको हो ? कसरी आमासँग यस्तो बोल्न सकेकी ? हे प्रभु मेरो ममता त यस्तो थिइनन् । कसरी मेरो छोरीको बानी ब्यहोरा यस्तो भयो ? “ममता म तेरो आमा हो । आफ्नो छोरीलाई यसरी रातीराती मोज गर्नुपर्छ भनेर बाहिर बोलाउने को हो भनेर सोध्दा के चै बिग्रिन्छ ?” आमाले भनिन् ।
यो मसँग यस्तो नराम्रो बोलीले बोल्ने को हो ? ममताले भनिन् “ल होउ ल मेरो साथी हो ल भो ? ” आमाले भनिन्  “तँ यस्तो नराम्रो साथीसँग संत गर्छेस् ? तँलाई हामीले हङकङमा ल्याएर झन् राम्रो हुन्छस् राम्रो पढ्छस् भनेर पो यहाँ ल्याएकोे हो तँलाई । यसरी केटाकेटीहरुसँग डुल्नु, मोज मस्ती गर्नुको लागि ल्याएको हो ? ”
“बाबा र तपाई जहिले काममा ब्यस्त हुनुहुन्छ । म सँग कहिले पनि सँगै समय बिताउनु हुन्न ।  म घरमा एक्लै बोर हुन्छु । साथीहरु बनाउँदा पनि तपाईलाई मनपर्दैन  । म चै के गरुँ त ? म चै तपाईहरुको खुसीको लागि घरमा सजाउने चिज हँु ? मेरो फिलिङ्स हुँदैन ? मलाई सेयर गर्ने मान्छे चाहिदैन ? तपाईहरु कहिले मसँग कुरा गर्नुहुन्छ ? जहिले कामबाट थाकेर आयो, भोलि काममा बिहानै जानु छ भनेर सुत्नुहुन्छ । म सँग बोल्ने समय कहिल्यै छैन तपाईहरुलाई” रुन्चे श्वरमा ममताले भनिन् ।
आमा भनिन् “हामी रहरले व्यस्त भएको हौँ र ? हामी तँ सँगै दिन भरि बसी राख्दा पैसा चाहि कहाँबाट आउँछ ?   अनि तेरो खर्च, घर खर्च कहाँबाट आउँछ ? तेरो लागि नै हामीले काम गरेको हो ।” आमा चै दिक्दार भएर बोल्न थालिन् ।  “म खुसी नै छुइनँ हङहङमा बस्नु । यो भन्दा त बरु नेपाल नै राम्रो थियो” ममता चिच्याइन् ।
भित्रबाट बाबाले  आमा छोरीको डिस्कस सुनिराख्नु भएको थियो । छोरीको कुरा सुनेर अचम्म अनि दुःख पनि लागेछ । ममता ठुस्केर सुत्न गयो । आमाले सबै कुरा बाउलाई सुनाइन् । के हामीले गर्दा नै हाम्रो छोरीको बानी ब्यहोरा बिग्रेको हो बाबा ?  अब आफ्नै छोरी आफैसँग सँगै बस्न खुसी छैन रे । अब उसको लागि भनेर नै यो सब दुःख गरेको । उसले नै नबुझेपछि के गर्नु त ? कस्तो नराम्रो केटाकेटीहरुको संगत गर्न थालेको छ,  मुखमुखै लाग्छ ।
ममताको बाबा एकछिन् चुपचाप लागेर सोच्नुभयो र भन्नुभो “हो गल्ती ममताको हैन हाम्रै हो । नयाँ ठाउँ , नयाँ वातावरणमा छोरीलाई हामीले गाइड गर्न सकेको छैनौं । समय पनि दिन सकेको छैनौं । उसले अझै पनि हामीलाई आफ्नो ठानेकी छैन । आमा बाबा भएपनि ममता हामीसँग बसेको छैन । उसले हामीलाई बुझेको छैन अनि हामीले पनि उसलाई बुझेको छैनौँ । यो कुरामा हामीले पहिला नै ध्यान पुर्याउनु पथ्र्यो । ममता यहाँ खुसी छैन भनेको थाहा पाए भने नेपालमा उसको बोजुले के सोच्नुहोला ? झन् पिर पर्छ बुढाबुडीलाई ।” केहीबेर सोचेर आमाले पनि बाबाको कुरा ठीकै हो भनेर कमजोरी श्वीकार्नु भयो ।
अब के गर्ने त बाबा ? दुबैले सल्लाहा गरे कि अब देखि ममताको आमा घरमा बस्ने । छोरीको रेखदेख गर्ने अनि  बाबा काममा जाने । ममताको आमाले बिहानै आफ्नो कम्पनिमा फोन गरेर अबदेखि काममा आउन नसक्ने कुरा जानकारी गराउँदै रिजाइन् लेटर केही दिनमा बुझाउने जानकारी दिइन् ।
ममता सधैँ झैँ बिहान उठेर टेबलमा लन्चको लागि पैसा लिन टेबलमा गइन् । तर त्यहाँ पैसा थिएन । लन्च बक्समा  तातो–तातो खाना थियो ।  भित्र किचनबाट आमाले भन्नु भो “ममता आजबाट मैले काम छोडी दिएँ । अब आमा छोरी सँगै बस्ने बेलुकी स्कूलबाट आएपछि हामी इभिनिङ वाल्कमा जानुपर्छ । आमा छोरी धेरै–धेरै कुरा गर्नु पर्छ । स्कूलबाट सिधै घर आउनु है !” ममता एकछिन् अलमल्ल परिन् । खुसीले उसको आँखा रसायो । ममताले आज आमाको आवाजमा बोजुको माया महसुस गरिन् । लन्च बक्स स्कूल ब्यागमा हालेर निस्किन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार