जिन्दगी जिन्दावाद !

  नरेश सुनुवार 'ठूले'

नेपालीमा एउटा उखान छ- ‘सबैले बलेको आगो ताप्छन’ । यो उखान त्यतिकै बनेको छैन, त्यसै भनिएको छैन।समाजको चरित्र नै त्यस्तो छ- जो सबैजना वरिपरि घेरिएर बलेको आगो ताप्छन, जब आगो निभ्न थालेपछि सबै आ-आफ्नो बाटो लाग्छन् । तर मेरो मान्यता अलि फरक छ । म भन्छु- निभ्न लागेको आगोलाई पुन बालेर ताप्न सकौं, अथवा झिल्कोमा परिणत भएको कोईलालाई झिलिमिटि दाउरा जोडजाड गरेर आगो बालौं, जसले राप, ताप र उज्यालो दिन सकोस । हो यो एउटा निभ्न लागेको झिल्को सरहको ‘प्रतिभा’ । जसलाई थोर बहुत टेवा मिले त्यो झिल्कोले नेपाली संगीतमा राम्रो राप, ताप र उज्यालो प्रदान गर्ने छ । प्रसंग हो ‘मेरि राई’को । उनको प्रतिभा गत जुन ७ तारिक आईतबारसाँझ बगैंचा रेष्टुरेण्टमा छताछुल्ल भएर पोखिएपछि मैले प्रत्यक्ष देख्ने बुझ्ने र महसुस गर्ने मौका पाएँ ।

उक्त साँझ १५-२० जनाको डिनरको लागि टेबल बुक गरिदिन किरात राई बान्तावा योयोक्ला खिम हङकङका अध्यक्ष दुर्गकान्त बान्तावा र किराया हङकङका सचिव गजेन्द्र बान्तावाले मलाई फोनगरि भिआईपी रूम अग्रीम बुकिङ गरिसक्नु भएको थियो । रेष्टुरेण्टको ‘मेनहल’ चाहि मेरा प्यारा भाई लोक बहादुर सुनुवारको ४० औं जन्मदिन मनाउन बुक गरेका थिए । म लगायत श्याम सुनुवार, हरिचन्द्र साम्पाङ, शशिदन राई, सुवाश पुमा र जितकर्ण राई बगैंचा लिमिटेडको महत्वपूर्ण बैठक सकेर बगैंचा रेष्टुरेण्ट प्रबेश गरेका थियौं । रेष्टुरेण्टको बार एरिया, मेनहल र भिआईपि रूम लगभग सबै फुल भएको रहेछ । रेष्टुरेण्टको जिम्मेवार ब्यक्तिको नाताले म पनि त्यहाँ स्वत: जोडिन पुगेँ ।

भिआईपि रूममा डिनर चलिरहेको थियो ।यता मेनहलमा चाहि फोटो सेसन सहित केक काटेर बर्थडे जेन्टलमेनलाई शुभकामना प्रदान गर्ने कार्यक्रम चलिरहेको थियो । माहौल निक्कै रौनकपूर्ण थियो । म बार एरियामा डिनर खाँदैगरेको पुरानो चिना ग्राहकसँग बोल्दै थिए । गजेन्द्र जी मेरो नजिक आएर साउण्ड सिष्टम मिलाईदिन अनुरोध गर्नुभयो । साउण्ड सिस्टम तयारि पछि माईक्रोफोन हातमा लिदै गजेन्द्र जीले केही भूमिका बाँधेर रातो साडिमा सजिएकी एउटी नौलो सुन्दरी युवतिलाई स्टेजमा उतार्नु भयो अनि माईक थामाईदिनु भयो । सरदर किराती कदको शरिरमा उभेएकी ति युवति थिईन गायिका ‘मेरि राई’ । उनले गीत गाउनु भन्दा पहिले आफ्नो दर्दनाक र पिडादायी जीवन कथा सुनाउदै आफूले गीत किन र कसरी गाउन थालेको भन्ने बिषयमा जानकारी गराईन र लगत्तै स्व. बाबालाई समर्पित गरेर आफ्नै रचना र स्वरमा रेकर्ड भएको ‘जीवन संघर्ष रहेछ’ बोलको गीत उनले गाउन थालेपछि सबैजना निस्तब्ध भएका थिए भने कतिपयले रसिएको आँखालाई टेस्यूले पुछिरहेका देखिन्थे । त्यसपछि उनले क्रमस: अरू रोमान्टीक गीतहरू गाएर आफू पनि नाचे, अरूलाई पनि नचाए । उनको कलालाई कदर र माया गरेर रातो खामको बर्षा पनि मनग्य बर्षेको थियो ।

पुर्ख्यौली घर भोजपुर दुङमा हुँदै बुबा मिलन राई र आमा ललिता राईको कोखबाट सन् १९९५ फेब्रवरी २१ मा झापाको बाहुनडाँगीमा जन्मेका हुन मेरि राई । बिपन्न परिवारमा जन्मेकी मेरिका ४ जना

भाईहरू छन । साधरण मिस्त्री काम गरेर जिबिकोपार्जन गरिरहेका उनको बुबाको कमजोर आर्थिक अवस्थाका कारण मेरि र उनका भाइहरूले राम्रो शिक्षा दिक्षा पाउँन सकेनन् । यहि गरिबिका कारण मेरी १८ बर्षकै उमेरमा रोजगारीका निम्ति बिदेशीन बिबश भईन । एजेण्ट मार्फत दुबई गएकी मेरिलाई २ महिना नबिद्दै सिरिया पुर्याईयो । उनले अनेक पिडा सहेर लगभग ३ बर्ष सिरियामा संघर्ष गरिरहिन । बिधिको बिडम्बना- उनि बिदेशमा संघर्ष गरिरहेकै बेला अचानक बुबाको मृत्युको खबर पाईन । यो अशुभ खबर पाएर उनि बिक्षिप्त र पागल जस्तै भईन । त्यसबेला उनि प्रहरिको हिरासतमा समेत परिन । भाग्यबस जसोतसो उनि नेपाल फर्कन भने सफल भईन । ‘बर्मा जा कर्मसँग, नेपाल जा कपालसँग’ भने जस्तै दु:ख र संघर्ष उनिसँगै टाँसिएर आयो । बुबा बितेको डेढ बर्ष निबित्दै आमाको पनि मृत्यु भयो । अब उनि टुहुरा हुनुको बज्रपातसँगै ४ जना भाईहरूको अभिभावक भएर जिउनु पर्ने भयो । आजतक उनको जीवन यसरी नै चलिरहेको छ ।

उनि भन्छिन- सानैदेखि नाच्न खुब मन पर्थ्यो तर बिबशताले त्यो रहर रहरमै सिमित रह्यो । अहिले उनि गीत लेख्छिन, संगीत भर्छिन र आफै गीत गाउछिन् । संगीत सम्बन्धि उनले कुनै औपचरिक शिक्षा पाएका छैनन् तथापि आफ्नै प्रतिभा र मेहनेतले संगितको कामलाई श्रीगणेश गरि सकेकी छिन् । जब उनले बाबाको मृत्युको खबर पाईन त्यही बेलुकी उनले बाबालाई समर्पण गरेर गीत लेखिन । त्यही गीतलाई संगीत भरेर गाउन थालिन । उनको पहिलो गीत यस प्रकार छ-

 

जिन्दगी एउटा संघर्ष रहेछ

संघर्ष गर्ने बानि पर्याछ

चाहे दु:ख कष्ट जति नै होस

आखिर जीवन जिउनु पर्याछ

यतिबेला बाबाले छोडिदिनु भो हात

जानु भयो सधैंलाई भगवानको साथ

 

भोकै र तिर्खा राख्नु भएन थियो

हाम्रो रगतको हात

बाबा संधै मेरो कर्मदाता

आमा हजुर मेरो जन्मदाता

यहिबेला बाबाले छोडि दिनुभो हात

जानु भयो सधैंलाई भगवानको साथ

 

रूंदैछिन आमा चुल्होमा बसि

भाईहरू सोध्छन खै बाबा भनि

रूँदै छु म सात समुन्द्र पारि

आसुको महासागर बनि

यहि बेला आमाले छोडिदिनु भो हात

जानु भयो सधैंलाई भगवानको साथ ।

 

दर्दनाक संघर्षको भुमरीलाई चिर्दै मेरि राई अगाडि बढि रहेकि छिन् । उनि गीत लेख्नु गाउँनुको साथै होष्ट पनि गर्छिन् । हाल उनले ‘मनोरन्जनको साथि’ नामक यूट्यूब च्यानल पनि चलाउछिन् । आर्थिक आभावका कारण बाबालाई गुमाउनु परेको तितो यथार्थलाई हृदयंगम गर्दै जो रोगले पिडित छन र आर्थिक अभावले उपचार गर्न असक्षम छन् उनिहरूको तथ्य प्रमाण सहित ‘मनोरन्जनको साथि’ यूट्यूब च्यानलबाट प्रसारण गरि आर्थिक सहयोग संकलन गरेर पिडितहरूको उद्दार गर्ने अभियान चलाईन ।यस अभियान अन्तर्गत हालसम्म उनले एलिसा राई बचाऔं अभियान, प्रेम बहादुर राई बचाऔं अभियान, समिर तामाङ बचाऔं अभियान, दुर्गा राई बचाऔं अभियान, सूर्य कुमारि बचाऔं अभियान लगायत डेढ दर्जन भन्दा बढि बचाऔं अभियान चलाएर लगभग नेरू ३० लाख संकलन गरि हस्थान्तरण गरि सकेका छन् ।

हाल काठमाण्डौमा संघर्षरत ‘मेरि’ चाबाहिल स्थित फलैचा रेष्टुरेण्टमा उद्घोषिका गर्नुको साथै गीत गाउँछिन भने आनाम नगरमा आफ्नै ‘खाजाघर’ रेष्टुरेण्ट पनि संचालन गर्छिन ।कलाकारिता, समाजसेवा, ब्यापार र जागिर चौतर्फी पाईला टेक्दै गरेकी मेरि राई संघर्षबाट खारिएकी र जीवनको महत्वलाई राम्ररी बुझेकी युबति हुन । बाँच्नु र बचाउनु दुबै कला बुझेकी मेरिले थोरै साथ र सहयोग पाएको खण्डमा शिखर चुम्ने हैषियत राख्छिन् ।

उनको ५ थान गीत रेकर्ड भएर बजारमा आईसकेको छ भने ३ बटा गीत निकट भबिष्यमा आउने तयरीमा छन् । आफ्नै रचना र संगितमा रहेको गीतहरू उनि लगायत गायक राजेश पायल राई, दीपा लामा र नवोदित गायकहरूले गाएका छन् । उनि ‘नेपाल आईडलको सिजन-२’ मा सहभागि भएर जज राउण्डमा पुगेपछि बहिरिएकी थिईन । भाबि योजना अनुसार उनि नेपालको एक कुशल महिला ‘म्यूजिक एरेन्जर’ बन्न चाहन्छिन ।

उनको अर्को ईच्छा र चाहना स्वर्गवासी बाबा र आमाको नाममा स्मृति कोष स्थापना गरेर उक्त कोषबाट प्राप्त ब्यजबाट आफूले पढेको स्कूल श्री उमा-महेश्वर निमाबी ईलाममा अध्यनरत गरिब र जेहेन्दार बिद्यार्थीहरूलाई हरेक बर्ष छात्रबृद्धी प्रदान गर्ने योजना रहेको बताईन ।

उनको चाहाना र ईच्छाहरू पूराहोस, प्रगतिपथले शिखर चुमोस, शुभकामना ।

 

  • मेरि राईलाई हङकङसम्म ल्याएर हामीसँग भेट गर्ने मौका जुर्याई दिनुभएको मित्र लोक आङबुहाङ प्रति नमन ।
  • मेरि राईलाई बगैंचा रेष्टुरेण्ट एण्ट पाटि प्यालेशसम्म ल्याउनु भएकोमा किरात यायोक्ला खिम हङकङलाई धन्यवाद ।
  • जिन्दगी जिन्दावाद !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार