गत आईतबार तथा २१ जुलाईको दिन सुनुवार समाज हङकङको बिषेश मिटिङ तथा साउने सक्राति भेटघाट भनेर बगैंचा रेष्टुरेण्टमा भेला भएका थियौं । वान्चाईको मेरो बसाई, भेटघाट जोडनस्थित बगैंचा रेष्टुरेण्टमा, समुन्द्र तरेर जानै पर्ने अवस्था र बाध्यता । मेडम रबिना र म हस्याङ फस्याङ गर्दै निस्कियौं कोठाबाट । आईतबारको दिन, हङकङको आन्दोलन जुलुसको लफडा । हेनेसी रोड र लोकहार्ट रोड दुबै सडकमा गाडिहरू गुडेका थिएनन् । एमटिआर छिरिसक्नु थिएन । हेनेसी रोड र लोकहार्ट रोडको सबैरूटहरू ग्लुस्टर रोडमा डाईभर्ट गरिएकोले त्यो दिनभर ग्लुस्टर रोडमा यातायातको चाप अत्याधिक रेहेको थियो । रबिना मेडम र म त्यही बाटो हुँदै बस चढेर जोर्डन तर्यौं ।
तोकेको समयभन्दा अलि ढिलाहुँदै हामी मिटिङमा सामेल हुन पुगेका थियौं । समितिका केही सदस्यहरू बाहेक अरू प्राय: सबै भेला भैसकेका थिए । हाम्रो मिटिङको मूल एजेण्डा आर्थिक आयब्याय सम्बन्धि थियो । जो हालसम्म समाजले दु:ख जेलो गरेर जम्मा गरेको रकमलाई कति, कहाँ, केमा, कसरि लगानि गर्ने भन्ने बारेमा गर्मागर्मी बहस चलेको थियो । सौहार्द रूपमा सबैको सहमतिमा निचोड निकाल्दै मिटिङ समापन भएपछि घमासान दिवाभोजमा जमेका थियौं । बगैंचाको स्वादिलो परिकारको साथमा लामो-लामो जाईन्ट बियर ग्लास र बगैंचाको उत्कृष्ट लसिको जगसँग घेम्पे गर्दै ह्यापी साउने सक्राति मानाएका थियौं ।
साँझको बगैंचा हेप्पी आवर (Buy one get one) नसकिदै काममा जानु छ भन्दै अध्यक्ष श्याम सुनुवार र सचिव सुरूचि सुनुवार बिदाबादी भएर बाटो लागि हाले । ७ बजेतिर मेडम र म पनि सबैसँग बिदा मागेर बाटो ततायौं । बस चढेर कजवेबे आईपुग्दासम्म सडक अवरोध सकिएको थिएन । करिब त्यही समयमा योनलुङको एमटिआर स्टेशनमा सेतो टिसर्ट र कालो टिसर्ट लगाउने बिच हिंसात्मक मारपिट भएछ । संयोगले मैले पनि सेतो सट लगाएको थिए रबिनाले पनि सेतै लोङ सर्ट लगाएको थियो ।धन्न युनलोङमा नभै कजवेबेमा भएर झडपबाट बचिएछ ।’कालो आन्दोलन पक्ष, सेतो सरकार पक्ष’ रे ।
त्यसको भोलिपल्ट यानि २२ जुलाई सोमबार युनलोङ पुरै बन्द भएको थियो । अहिलेको हङकङ आन्दोलनको फर्मेट अनुसार बिपक्ष आन्दोलनकारीको झडपमा अग्र पंक्तिमा उभिनेलाई दिनको १० हजार डलर, दोस्रो पंक्तिमा उभिनेलाई ८ हजार…. गर्दै पछिल्लो पंक्तिमा समाबेश हुनेलाई दिनको जनही १ हजारको दरले रकम उपलब्ध गराईएको छ भन्ने हल्ला जताततै सुन्नमा आएको छ । ताईवान, अमेरिका, जापान लगायत अन्य पश्चिमा देशहरूबाट आन्दोकारीलाई आर्थिक र नैतिक दुबै समर्थन आएर नै आन्दोलनले निरन्तर्ता पाएको हो भन्ने यहाँका कतिपय बासिन्दाको बुझाई छ ।अब आन्दोलनले कस्तो रूप लिने हो ? कसरी टुंगिने हो ? या त अब झनै ठूलाठूला अप्रिय घटना घटने हुन कि ? अहिलेको हङकङ निक्कै तनावग्रस्त छ ।
पछिल्लो सूचना अनुसार अब नेपाली र पाकिस्तानीलाई आन्दोलनको अग्र पंक्तिमा प्रयोग गरिदै छ भन्ने सुनिएको छ । युनलङको घटनामा पनि नेपाली र पाकिस्तातीहरू प्रयोग भएका छन् भन्ने अपुष्ट खबरहरू आईरहेका छन । कतिपय नेपाली मूलका दलालहरूमध्ये कसैले कालो टिसर्ट र कसैले सेतो टिसर्ट लगाएर आन्दोलनमा निस्कनु पर्छ भनेर उर्दी जारि गरेका छन रे ।
होसियार ! हामी नेपाली कसैको स्वार्थको लागि प्रयोग नहोऔं । हामी आफ्नै स्वभिमानको परिचय बनाऔं । हिजो पूर्खाहरूले वीर गोर्खाली भनेर बनाएको पहिचानलाई कायम राखौं ।छुल्याहा, छुद्र, दलाल र फटाहाहरूको लैलैमा नलागौं । कसैको अभिष्टको गोटी बनेर बदनामी नकमाऔं ।
जय नेपाली ! जय जिन्दगी !!