के गृहमन्त्रीको अनुसन्धानले जवाफ भेट्टाउला ?…..

काठमाडौं –      गृहमन्त्री सुधन गुरुङले दोस्रो पटक पदभार ग्रहण गर्दै साढे दुई दशक अघि भएको दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन् । आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि डेढ महिनाअघि राजीनामा दिएका मन्त्री गुरूङ पुनर्बहाली भएपछि पदभार ग्रहण गर्दा चारवटा मुख्य निर्णय गरेका थिए । ती चार निर्णय मध्ये एउटा मुख्य निर्णयको सूचीमा राजदरबार हत्याकाण्डको छानबिनलाई पनि राखेका छन् । २०५८ जेठ १९ गते शुक्रबार तत्कालीन राजपरिवारको हत्या भएको थियो । नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा आयोजित जमघटमा राजपरिवार र शाही नातेदार आमन्त्रित थिए । जमघटमा तात्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडामहारानी रत्न, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, श्रुतिका श्रीमान् कुमार गोरखशमशेर राणा, राजाका माइला भाइ ज्ञानेन्द्रकी श्रीमती कोमल, छोरी प्रेरणा, छोरा तथा शाहज्यादा पारस र पारसकी श्रीमती हिमानी सहभागी थिए । त्यस्तै राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, उनका छोरीहरू शीताष्मा, पूजा, दिलाशा र ज्वाइँ राजीव शाही, राजाका दिदीबहिनीहरू शान्ति, शारदा र शोभा, शारदाका श्रीमान् कुमार खड्गविक्रम शाह, वीरेन्द्रका काका बसुन्धराकी श्रीमती हेलेन, उनकी छोरीहरू जयन्ती शाह र केतकी चेस्टर तथा आफन्तहरू रविशमशेर राणा, महेश्वरकुमार सिंह पनि जमघटमा उपस्थित थिए । यो जमघटमा धीरेन्द्रकी श्रीमती प्रेक्षा र अधिराजकुमार ज्ञानेन्द्र उपस्थित थिएनन् । त्यो दिन ज्ञानेन्द्र आफैले नेतृत्व गरेको महेन्द्र प्रकृति संरक्षण कोषको कार्यक्रममा सहभागी हुन पोखरा गएका थिए । बेलुकी साढे सात बजे आयोजित जमघटमा करिब नौ बजेतिर गोली चलेको थियो । गोली लागेर राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शारदा र शान्ति र शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाई धीरेन्द्र र कुमार खड्गविक्रमको मृत्यु भएको थियो ।
उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पु¥याइएका मध्ये दुई जना बाहेक सबैलाई जेठ १९ गते १० बजेभित्र मृत घोषित गरिएको थियो । जेठ २२ गते बिहान दीपेन्द्र र बेलुकी धीरेन्द्रलाई मृत घोषणा गरिएको थियो । वीरेन्द्रको परिवारका सबै सदस्यको मृत्यु भइसकेकाले उनका भाई अधिराजकुमार ज्ञानेन्द्र राजा घोषित भएका थिए । प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष र सभामुख तारानाथ रानाभाट सदस्य रहेको सत्यतथ्य पत्ता लगाउने समितिले एक हप्तामा प्रतिवेदन तयार पारेको थियो । समितिले त्यसदिन दीपेन्द्रले दुई पेग ह्विस्की र नाम नखुलेको कालो पदार्थ खाएको उल्लेख गरेको छ । समितिले युवराज दीपेन्द्रले सबैलाई गोली हानेर आफूले आत्महत्या गरेको निश्कर्ष निकालेको थियो । तर समिति निश्कर्षलाई धेरैले विश्वास गरेनन् । त्यही बेलादेखि राजदरबार हत्याकाण्डबारे अनेक प्रश्नहरू अनुत्तरित अवस्थामा छन् । यो घटनापछि नेपालमा ज्ञानेन्द्र शाह राजा बनेका थिए । तर उनलाई राजाको रुपमा श्रद्धा गर्नेहरू कम भए । किनकी दाजुको वंशनास पछि उनी राजा भएका थिए । धेरैले शंकाको सूई उनीमाथि पनि सोझ्याएका थिए । तर उक्त हत्याकाण्डको निष्पक्ष छानबिन नभएको भन्ने अहिले पनि समाजमा बुझाई छ । यसरी वंशनासको बलमा राजा भएका ज्ञानेन्द्र शाहकै पालामा २०६५ सालमा नेपालबाट राजतन्त्र उन्मुलन भयो । गणतन्त्र स्थापनापछि यो हत्याकाण्डबारे राजनीतिक बहसहरूमा कुराकानी भए । तर त्यसै बेला भएको छानबिन बाहेक अन्य छानबिनको कुरा राज्यले अघि बढाएन । हत्याकाण्ड छानबिनबारे कसैले चासो पनि दिएन । तर २५ वर्षपछि जेनजी आन्दोलनको बलमा नयाँ राजनीतिक शक्ति संरचना बदलिएपछि उक्त हत्याकाण्डको छानबिन गर्ने निर्णय गृहमन्त्रीले गुरूङ गरेका छन् । गृहमन्त्रीले अनुसन्धान अघि बढाउने निर्णय गर्नुको अर्थ हो यो सरकारले २५ वर्षपछि आएर उबेलामा भएको छानविन समितिको प्रतिवेदनमाथि विश्वास गरेन । दुई हजार भन्दाबढी सैनिकको घेराभित्र रहेको नारायणहिटीभित्र घटेको हत्याकाण्डका केही प्रश्न भने अझै अनुत्तरित छन् । कतिपय तथ्यहरू लोप भइसकेका छन्, संलग्न व्यक्तिहरूको निधन भइसकेको छ र नारायणहिटीको भौतिक संरचना नै बदलिएको अवस्थामा कस्तो, कसरी अनुसन्धान होला ? यो नेपाली सेनाले सुरक्षा दिएको स्थलको घटना हो । अब साँच्चै सरकारले दरबार हत्याकाण्ड अघि बढायो भने यी १० वटा मूल प्रश्नहरूको जवाफ खोज्नुपर्ने छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार