इन्दिरा चेम्जोङ ।
चासोक तङ्नाम वा उधौली किरातीहरुको महान पर्व हो । पछिल्लो समयमा यो पर्वलाई भव्यताकासाथ मनाउने चलन वढ्दो छ । प्रकृतिपूजक लिम्वु समुदायका प्रत्येक घरले गाउँघरतिर न्वाँगी पूजाको रुपमा गरिने अनुष्ठानको वृहत रुप नै न्वाँगी पूजा वा चासोक तङ्नाम हो ।
मंसिर महिनामा अन्न वाली पाकेपछि आफ्नो कुल देवतालाई चढाउने वा पूजा गर्ने चलनलाई नै चासोक तङ्नाम वा न्वाँगी पूजा भनिन्छ । यदि पूजा नगरिकन खेतवारीमा पाकेको नयाँ अन्न खाएमा कुल देवता रिसाएर घाँटीमा गल गाँढ आउने, हात, मुख बाङ्गो टिङ्गो हुने घरमूलीलाई बिसञ्चो हुने जस्ता विभिन्न देव दण्ड लाग्ने विश्वास छ ।
गाँउघरमा पहिले प्रत्येक घरले न्वाागी पूजा गर्ने चलनलाई स्मरण गर्दा यस्तो हुने गर्दथ्यो : मंसिर महिनामा धानवाली भित्राउनु अगाडि नै पूजा गर्नुपर्दछ । यो पूजा फेदाङ्माबाट गरिन्छ । नयाँ धानको भात, कोदोको जाँड र कम्तीमा पनि सात, आँठवटा कुखुराको वलि चढाउनु पर्छ । यो पूजा शुरु भएपछि त्यँहा बाहिरबाट अन्य कुनै व्यक्ति पूजामा आउन मिल्दैन । यदी घरकै सदस्य भए पनि पूजा नसकी घरमा आउन मिल्दैन । यसकारण पूजा सुरु गर्न अगाडि जुन घरमा पूजा गरिदैछ, त्यो घर छिर्ने बाटोको दुवै छेउमा सेउला गाडेर राखिएको हुन्थ्यो । यसको अर्थ त्यँहा न्वाँगी पूजा हुदैछ भन्ने वुझ्नु पर्दथ्यो । न्वाँगी पूजा सकिएपछि एउटा कुखुराको मासु सिङ्गो वा आधा, एक दुई माना चामल र एक बोतल रक्सी फेदाङ्मालाई पारिश्रमिक स्वरुप दिनुपर्दथ्यो ।
यो समयमा फेदाङ्माहरु निकै व्यस्त हुने समय पनि हो । साथै यो पूजा निकै खर्चिलो हुने भएको कारण कति परिवारले भनेको समयमा कुखुरा लगायत अन्य सामग्री जुटाउन नसकेको कारण न्वाँगी पूजालाई भाकल गरी बाटो खुलाएर अन्न खान सुरु गर्ने चलन पनि छ । अलिकति धानलाई कुनै चोखो ठाँउ मा राखेर पछि आफ्नो समय अनुकूलमा यो पूजा गरिन्थ्यो । यहि न्वागी पूजालाई अहिले बढ्दो शहरीकरण, बसाई सराई र देशविदेशको वसाइले गर्दा सामूहिक रुपमा न्वाँगी पूजा गर्न थालिएको छ । हिजोआज लिम्वु जातिले यहि न्वाँगी पूजालाई चासोक तङनाम रुपमा आफ्नो मौलिक महान चाँडको रुपमा मनाउन थालेका हुन् ।