शियार आदिवासीको लकडाउन

डोल्मा शेर्पा /सिन्धुपाल्चोक

कोरोना भाइरस कोभिड-१९को विश्वव्यापी सन्त्रास फैलिरहेको बेला गोरखा जिल्लाको चुमउपत्यका भने शाान्त र सुरक्षित रहेको छ । गणेश हिमाल पारी भनेर चिनिइने चुम उपत्यका नेपालकै दुर्गम क्षेत्र हो, र यस उपत्यका चिनको स्वशासित क्षेत्र तिव्वतसंग जोडिएको छ ।

अति सीमान्तकृत लोपोन्मूख शियार आदिवासीको मूख्य आदिभूमि मानिएको चुम उपत्यकामा स्थानीय सरकारले प्रथाजनित परम्परागतसंस्थाको सहयोगमा बाह्य आवागमनलाई निषेध गरे पछि चुम उपत्यकामा कोरोना संंक्रमणको संभावना सुन्यमा बदलिएको हो ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार स्थानीय जातीय र धार्मिक संस्थाको सहकार्यमा गुम्बा, आर्वुङ र चर्चहरुमा कुनै पनि गतिविधि नगरिने सहमति भएको छ । ‘यस अघि पर्यटकको घुँईचो लाग्ने चुम उपत्यकामा अहिले बाहिरका मानिस कोही पनि छैनन् ।’ अध्यक्ष गुरुङले भन्नु भयो- ‘सम्पूर्ण गाउँपालिकाका बासिन्दाहरु खुशीका साथ परम्परागत पेशा र व्यबसाय गरिरहेका छन् ।’

‘परम्पराले चुमनुब्रीलाई बचाउन ठूलो सहयोग गरेको छ ।’ शियार आदिवासीको एक मात्र जातीय संस्था शियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भन्नु भयो- ‘चुम उपत्यकाको शान्ति तथा हिंसा निषेधको घोषणा परम्परा र संस्कृतिबाट भएको हो । यसलाई लकडाउनमा पनि निरन्तरता दिइएको छ ।’

यस क्षेत्रमा प्राणी हत्यालाई निषेध गरिएको छ । सन १९२० मा यहाँका प्रशिद्ध गुम्बा राजेन र म्हु गुम्बाका गुरु रिम्पार्छे गेसे सेरव दोर्जेको आज्ञामा प्राणी हत्या तथा काटमार निषेध भएको थियो । कसैले काटमार गरेमा जरिमाना गरिने परम्परा छ । यसैले चुम उपत्यकालाई शाकाहारी उपत्यका पनि भन्ने गरिन्छ । यो नियमलाई आज पर्यन्त समुदायले पालना गरेका छन् ।

चुम उपत्यका जैविक विविधताको खुला संग्रहालय हो । यहाँका जंगली जनावरहरु पारिवारिक जनावर जस्तै छन् । हिंसा र काटमार बन्द भए पछि जंगली जनावरहरु पनि मानिससंग डराउँदैनन् । शियार समाजका अध्यक्ष लामाले टेलिफोनमा भन्नु भयो, ‘बोद्धमार्गीहरुको बाहुल्य रहेको यस उपत्यका र सिंगो गउँपालिकाले बिश्वलाई शान्तिको सन्देश दिएको छ । अब यस्तो सन्देश बुद्धको जन्मस्थल लुम्बिनीमा पनि हुन जरुरी छ ।

चुमनुब्री गाउँपालिकामा तत्कालको लागि कुनै राहत सामाग्रीको आवश्यकता नदेखिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनु भयो । पालिका भित्र गरीब तथा विपन्न समुदाय त छन्, तर कोरोना भाइरसको संक्रमणका कारण हातमूख जोर्न कसैलाई समस्या परेको सूचना छैन । स्थानीय तहमा रहेका स्वास्थ्य उपचौकी तथा परम्परागत चिकित्सा पद्धत्ति सोरिग्पाका लागि आम्चीहरु सक्रिय रहेको बताउँदै गम्भीर प्रकारको स्वास्थ्य समस्या आएमा स्थानीय तहले बिशेष व्यबस्था गर्ने पनि बताउनु भयो ।

चुम उपत्यकमा घ्याप्रो प्रथा कायम रहेको र कृषिमा यही परम्पराको आदेश चल्ने परम्परा रहेको चुम उपत्यकाको अध्ययन गरिरहनु भएका दावा लामाको भनाई रहेको छ । यो परम्परा शियार जातिको हो । शियारहरु आफूलाई चुम्बा जातिका रुपमा परिचय दिन रुचाउँछन् । नेपाल सरकारले सूचिकरण गरेको ५९ आदिवासी जनजातिमा शियार पनि एक हो ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार