मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज……

अमेरिकाको पेन्सलभेनिया राज्यमा हुलाकमार्फत खसाइएका लाखौं मत अवैध घोषणा गर्न माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले गरेको माग एक न्यायाधीशले खारेज गरिदिएका छन् । पेन्सलभेनियाका न्यायाधीश म्याथ्यु ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी ‘जायज नभएको’ ठहर गरेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको जनाएका छन् । ट्रम्प पक्षधरले तनावपूर्ण कानुनी तर्क र आशंकाका आधारमा कुरा गरेका यायाधीशको भनाइ छ । योसँगै पेन्सलभेनिया राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ । पेन्सलभेनियामा बाइडेनको मत ट्रम्पको भन्दा कम्तीमा ८० हजारभन्दा बढी छ । अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भइसकेका छन् । आफ्नो पराजय उल्टाउन कोसिस गरिहेका राष्ट्रपति ट्रम्पका लागि पेन्सलभेनियाका न्यायाधीशको निर्णयले ठूलो धक्का लागेको छ । ट्रम्पले आफू पराजित भएको अस्वीकार गर्दै आएका छन् । कुल ५ सय ३८ इलेक्टोरल कलेज मतमध्ये बाइडनले ३ सय ६ मत ल्याएका छन् । चुनावमार्फत ट्रम्पले २ सय ३२ इलेक्टोरल मत मात्र पाएका हुन् । राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ । चुनावमा व्यापक धाँधली भएको दाबी गरे पनि ट्रम्पले कुनै ठोस प्रमाण भने पेस गर्न सकेका छैनन् । ट्रम्पले पराजय स्वीकार नगर्दा अमेरिकी चुनावपछि सुरु हुने केही प्रक्रियाहरूमा ढिलाइ भएको जनाइएको छ । जर्जियामा पुन: गरिएको मतदानमा शुक्रबार बाइडेनले जितेको प्रमाणपत्र दिएपछि ट्रम्प अभियानलाई धक्का लागेको थियो । ट्रम्प अभियानलाई पुन: मतगणनाका लागि निवेदन दिन अब दुई दिनको समय बाँकी छ । त्यसैगरी अर्को महत्त्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई साताको समय माग गर्दै पत्र लेखेका जनाइएको छ । ट्रम्प समूहले विरोध गरेपछि अधिकारीहरूले सबभन्दा ठूलो काउन्टी डेट्रोइटमा राष्ट्रपतीय मतको पुन: जाँच गर्न माग गरेका थिए । तर मिसिगन डिपार्टमेन्ट अफ स्टेटले प्रमाणीकरण ढिलो गर्न र पुन: मतगणना गर्न कानुनले नदिने बताइसकेको छ । विस्कन्सिन राज्यमा ट्रम्प समर्थकहरूले पुन: मतगणना कार्यमा बाधा पुर्‍याएको निर्वाचन अधिकारीहरूको भनाइ छ । ट्रम्पका पर्यवेक्षकहरू हरेक मतमा समस्या देखाउँदै मतगणना कार्य ढिला गराउने नियतमा उत्रेका अधिकारीहरूको भनाइ छ । विस्किन्सिनमा पुन: मतगणना सम्पन्न गरी डिसेम्बर १ सम्ममा चुनावी परिणाम प्रमाणीकरण गर्न नसके ट्रम्प समूहलाई मुद्दा हाल्न बाटो खुल्नेछ । विस्किन्सिनमा बाइडेनले ट्रम्पको भन्दा २० हजारभन्दा बढी मत ल्याएका छन् । राष्ट्रपतीय चुनावमा मतदान गरेपछि अमेरिकीहरूले खासमा राष्ट्रिय तहमा नभई राज्य तहका लागि मतदान गरेका हुन्छन् । उनीहरूले राज्यका अन्य प्रतिनिधिका लागि मत दिएका हुन्छन् र ती प्रतिनिधिले अन्तत: राष्ट्रपतिलाई मत दिनुपर्छ । उदाहरणका लागि त्यस्ता प्रतिनिधिलले मिसिगनमा बाइडेनका लागि मतदान गर्नुपर्ने हुन्छ किनभने उक्त राज्यमा बाइडेनले चुनाव जितेका थिए । विभिन्न राज्यमा इलेक्टोरल मतको संख्या ती राज्यले संसद्मा गर्ने प्रतिनिधित्वका आधारमा तोकिएको छ । यसअघि सामान्यत: चुनाव जितेको प्रमाणपत्र दिनु औपचारिकता मात्र हुने गरेको भए पनि आगामी चार वर्षसम्म शक्तिमा रहने राष्ट्रपति ट्रम्पको प्रयत्नका कारण केही राज्यहरू रणमैदानका रूपमा परिणत भएका छन् । ट्रम्प सत्तामा रहिरहन सम्भावन निकै झिनो भए पनि असम्भव नै भने छैन । तर त्यसका लागि ट्रम्पले केही राज्यका चुनावी परिणाम उल्टाउनुपर्ने हुन्छ, जहाँ बाइडेनले दसौं हजारदेखि लाखभन्दा बढी मतले जितेका छन् । फ्लोरिडा राज्यमा २ हजारभन्दा कम मतले ट्रम्प पराजित भए पनि उनको कानुनी समूहले कारबाही अगाडि बढाएका मिसिगन, विस्किन्सिन र पेन्सिलभेनिया राज्यमा डेमोक्र्याटिक दलका गभर्नरहरू छन्, जो यी सबै गतिविधि हुँदा चुप लागेर नबस्ने निश्चित छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार