लिम्बु राष्ट्रको विभाजन – नन्द कन्दङवा                                                               

  सुकमाया तुम्रुक

      

ऐतिहासिक पृष्ठभुमी
लिम्बु राष्ट्र हर हिसावले अभिजातिय शासकलाई चुनौति दिन सक्ने राष्ट्र हो । यसको आफ्नै प्रागऐतिहासिक कालदेखिको लामो बलियो सभ्यता छ । यस राष्ट्रलाई डोर्याउने यस संग सामाजिक-सांस्कृतिक तथा आध्यात्मिक दर्शन मुन्धुम छ । यो दर्शन अन्य भन्दा वैज्ञानिक र व्यवहारीक एवम् समानतामा आधारित छ । यो राष्ट्रसंग सम्बृद्ध भाषा छ, संस्कृति छ र आफ्नै बलियो विश्वास प्रणाली तथा जीवन पद्धति छ । यो राष्ट्र भारत र चिनको सिमामा जोडिएर रहेको रणनीतिक भूगोलमा रहेको छ । यस्तो राष्ट्रलाई कम्जोर र छिन्न भिन्न गराउन नसक्दा त्यसले केन्द्रिय अभिजातिय शासकहरुलाई चुनौति मात्र खडा गर्दैन देश भित्र सबै राष्ट्रहरुलाई नेतृत्व गरि देश विकास, सम्बृद्धि र गन्तव्यको अलग कोर्समा लैजान सक्छ । ईतिहासमा गोर्खा-कान्तीपुरले युद्धबाट जित्न नसकि सम्झौताबाट लिम्बुवान नेपालमा सामेल भएको ताजा ईतिहास साक्षी छ । यस राष्ट्रलाई बलियो हुन कहिल्यै दिईएको छैन ।

बि.सं. १८३१ मा गोर्खा-कान्तिपुरले युद्धबाट लिम्बुवानलाई जित्न सकेन र सम्झौता भयो । लिम्बु तथा लिम्बुवानलाई स्वायत्तता दिने गरि सम्झौता भएर लिम्बु र लिम्बुवान नेपाल राज्यमा सामेल भयो । त्यसबेलाको बाध्यता या त गोर्खा-कान्तिपुरलाई जित्न सक्नु पर्दथियो या सम्झौताबाट आफ्नो स्वायत्त अधिकार सुरक्षित गर्नु पर्दथियो । तत्कालिन लिम्बु अग्रजहरुले दोस्रो विकल्प लिए । सम्झौता भए पछि स्वायत्ततालाई सवल र व्यवस्थित गर्न तिर लाग्नु पर्नेमा सम्झौताको बिरोध र समर्थनमा लाग्ने काम भयो । यसमा पनि बाहिरीय शक्तिले खेले र लिम्बु तथा लिम्बुवान सुरक्षित गर्न नसकेकोले स्वायत्तता कम्जोर बन्दै गयो । त्यसमा केन्द्रिय अभिजातिय शासकहरुले खेल्ने ठाँउ पाए । लिम्बु राष्ट्रको विभाजन गर्ने काम यहि रोकिएन । लिम्बु अगुवा वीच रिती  (नीति)  मान्ने अर्थात परम्परागत नीतिमा रहने या सामरिती  (सामनीति) / केन्द्रिय  शासक राजाको नीतिमा जाने भन्ने विवाद ल्याउने काम भयो । यो काम केन्द्रिय अभिजातिय शासकहरुको खेलको कारण र लिम्बु अग्रजहरु त्यसैमा बहने कामले सो बिभाजनको स्थिति आएको थियो । यहि कारणले केन्द्रिय अभिजातिय शासकहरुले बोलाईरहे पनि कोही कथित किपट भूमी अर्थात थिती थाम्न जाने र कोही नजाने भन्ने हानथाप भईरहे । किपट भूमी  (थिती) थामीसके पछि सुव्वा, तिरुवा सुव्वा, तिस मुरी बराबरको खेत या सो बराबरको रुपैया चढाई रैकर बनाउने व्यवस्थाको सुव्वा तथा अन्य विभिन्न पदहरु दिएर लिम्बुहरुमा एकता हुने कुरालाई सधै रोक्ने काम तथा अल्झाउने काम भईरहृयो ।
२०१३ सालमा लिम्बुहरुको स्वामित्वमा भएका सबै वनहरु राष्ट्रियकरण गरिए । यस्तो राष्ट्रियकरण गर्न अभिजातिय शासकहरुले वन मन्त्रि लिम्बु बनाएर उसैको काधमा बन्दुक राखेर लिम्बुहरुको शिकार गरे । यसको पनि लिम्बु समुदायमा समर्थन गर्ने गराउने काम अभिजातिय शासकहरुले गरे । किपट उन्मुलनको बाटो समातेको भूमी ऐन २०२१ र किपट उन्मुलन गर्ने २०२५ को भूमी ऐन संसोधनको विरुद्धमा समग्र लिम्बुहरुको बिरोध भएता पनि गैरलिम्बुहरुको राज्यलाई समर्थन रहृयो । २०२५ सालसम्ममा लिम्बु तथा लिम्बुवान क्षेत्रमा गैरलिम्बुहरु बलियो भईसकेका थिए ।

लिम्बु राष्ट्रको बिभाजन
कुनै पनि मानव समुह जस्को साझा भाषा छ, साझा संस्कृति छ, साझा सामाजिक-सांस्कृतिक विश्वास छ, साझा भूमी छ या भूमीको दावी छ र हामी भन्ने साझा मनोविज्ञान छ भने उक्त मानव समुह राष्ट्र हुन्छ । यस अर्थमा लिम्बु एक राष्ट्र हो । राष्ट्रको विभाजन भन्नाले साझा भाषा, साझा संस्कृति, साझा सामाजिक-सांस्कृतिक विश्वास, साझा भूमी तथा साझा मनोविज्ञान खण्डीत भयो भने राष्ट्रको विभाजन हुन्छ । यि मुल तत्व मध्ये कुनै एक या एक भन्दा बढी तत्वहरु खण्डीत भए राष्ट्र विभाजनको दिशामा जान्छ । धर्म भन्ने कुरा यस्तो हो जस्ले साझा संस्कृति, साझा भाषा, साझा भूमी, साझा सामाजिक-सांस्कृतिक विश्वासका साथै साझा मनोविज्ञानका मानिसहरुलाई साझा संस्कृति, साझा सामाजिक-सांस्कृतिक विश्वास (जीवन पद्धति) का साथै साझा मनोविज्ञानलाई बलियो पनि बनाउन सक्छ भने या खण्डीत पनि गराउन सक्छ, र खण्डीत भएको अवस्थामा फरक संस्कृति, फरक सामाजिक-सांस्कृतिक विश्वास  (जीवन पद्धति)  तथा फरक मनोविज्ञानको विकास गराउछ ।
लिम्बु राष्ट्रलाई विभाजन गर्ने काम पहिलो पल्ट सत्यहाङमा धर्मका प्रवर्तक तथा प्रचारक स्व. फाल्गुनन्द  (फलामसिंंग लिङदेन) द्धारा बि.सं. १९६० को दशकदेखि शुरु भयो । जसमनी धर्म सम्प्रदायका अनुयायी फाल्गुनन्दले लिम्बु समाजमा सत्यहाङमा धर्म बिजारोपण गरि लिम्बु राष्ट्रलाई विभाजनको दिशामा लैजाने काम गरे यद्यपी उहाँका केही सकारात्मक पक्षहरु पनि छन । यसले र यस पछिका सत्यहाङमा धर्मका बिचार तथा गतिविधीहरुले लिम्बु समाजलाई दुई भिन्न खाले मानव समुह विकास गराउदै लगिरहेको छ । एउटा सानो झुण्डबाट शुरु भएको यो सत्यहाङमा धर्म विस्तारै अलि ठुलो आकार ग्रहण गर्दै गईरहेको छ । लामो समयसम्म सन्यहाङमा धर्म भनिएको यसले पछिल्लो समयमा आफुलाई किरात धर्म भन्न थाल्यो । यसले लिम्बु समुदायमा फरक संस्कृति, फरक खाले सामाजिक-सांस्कृतिक विश्वास तथा जीवन पद्धति र मनोविज्ञान विकास गराउदै फरक पहिचान दिन खोजीरहेको छ जस्ले लिम्बु समाजलाई दुई भिन्न मानव समुहमा विभाजन गरेको छ र गर्दै लगिरहेको छ । यसदेखि बाहेक अन्य बाहिरीय धर्म तथा संस्कृतिवालाहरु  (हिन्दु, क्रिश्चियन आदी) ले लिम्बु राष्ट्र, लिम्बु समाज र समुदायलाई अतिक्रमण र आक्रमण गरि धुजा धुजा बनाउन प्रयासरत छन् ।

बर्तमानमा लिम्बु राष्ट्रको बिभाजन
दलिय राजनीतिले पनि समाजलाई छिन्न भिन्न र विभाजन गर्छ तर राष्ट्रकोरुपमा विभाजन गर्दैन । तर ति दलहरुको बैचारिक-सैद्धान्तिक गन्तव्यले राष्ट्रलाई बलियो होईन कम्जोर बनाउने र अन्तत अर्को राष्ट्रमा बिलय गराउने बाटो लिएका हुन सक्छन् । हुन त दलिय राजनीति पनि राष्ट्रलाई कम्जोर बनाउने या बलियो बनाउने हुन सक्छ । राजनीतिले निश्चित धर्म, भाषा, संस्कृति तथा विश्वास प्रणालीलाई बलियो या कम्जोर बनाउने काम गर्न सक्छ । लिम्बु राष्ट्रमा पनि यिनै कम्जोर बनाउने कुरा लागु भईरहेका छन् ।
पछिल्लो समय अहिले २०७८ को जनगणनाको सन्दर्भमा सत्यहाङमा पन्थलाई छोडेर फेरी मौलिक भनिएको परम्परागतरुपको आध्यात्मिक, सांस्कृतिक तथा विश्वास प्रणाली अभ्यास गरिरहेका लिम्बु समुदायलाई विभाजन गर्ने काम शुरु भएको छ । यसमा खासगरि धर्मको नाम, जातिको नाम, भाषाको नाम के लेख्ने लेखाउने भन्ने सन्दर्भमा यूमा धर्म या किरात धर्म, याक्थुङ या लिम्बु जाति, याक्थुङ या लिम्बु भाषा भन्नेमा २ धार सिर्जना गरिएको छ । समग्रतामा जातिय पहिचानमा २ धार सिर्जना गरि विभाजन गर्ने काम भएको छ । यस्तो काम दोहोर्याई तेहर्याई किन भईरहन्छ र भईरहेको छ भनेर खोज्न र बुझ्न आवश्यक भएको छ । यस्तो काम लिम्बुलाई सिध्याउन चाहने कहिले बाहिरीय शक्तिको म्यानुपुलेसनमा त कहिले देश भित्रकै शक्तिको म्यानुपुलेसनमा भईरहेको पाईन्छ । पहिलो राष्ट्रको तहमा विभाजन या खण्डीकरण गर्ने काम सत्यहाङमाका पर्वतक फाल्गुनन्दले गरे । दोस्रो यतिखेर बाहिरीय शक्तिको म्यानुपुलेसनमा लिम्बु समुदायका केही अग्रज तथा अगुवाहरुले गरिरहेका छन् । ति जो सुकै भए पनि जे सुकै नाममा भए पनि लिम्बु समाज, लिम्बु समुदाय र लिम्बु राष्ट्रलाई विभाजन गर्ने विभाजनकारी तत्वहरु हुन । नत्र यस्तो गम्भिर बिषयमा विभिन्न बिचार र पक्ष वीच विचार विमर्श गरिनु पर्दथियो र एउटा टुंगो तथा निश्कर्षमा पुग्नु पर्दथियो । उक्त बिचार विमर्श तथा समिक्षाले धर्मको नाम साझा नाम तय गर्न सक्दथियो । यसरी हठात विभाजनको रेखा कोर्नु कुनै शक्ति तथा केही व्यक्तिहरुको स्वार्थ रहेको छ भन्ने स्पष्ट देखिन्छ । ईतिहासमा यसको लेखा जोखा पक्कै हुनेछ ।

बिभाजन पछाडीको स्वार्थ र कारणहरु
लिम्बु समुदाय हर हिसावले एउटा रणनीतिक बिन्दुमा रहेकोले देशिय तथा बाहृय शक्तिहरुले सधै खेल्न खोजिरहन्छन र खेली पनि रहेका छन् । हामी लिम्बुहरु धेरै छिटो अरुको प्रभावमा पर्ने जाति समुदाय रहेछौ भन्ने बिगतले देखाईसकेको छ । अर्काको हाउडीमा दगुर्ने वानीले हाम्रो समाजलाई हामीले जहिल्यै पनि कम्जोर मात्र बनाएनौ समाज, समुदाय र राष्ट्रलाई बिभाजन गर्दै आएका छौ ।
अभिजातिय राज्य शासक र बाहिरीय शक्तिले स्वभाविकरुपमा हामी माथी अतिक्रमण, आक्रमण र उपनिबेश कायम गर्न खोज्छन जुन स्वाभाविक पनि छ तर हामी उनीहरुको हाउडीमा कुदी हाल्नु पर्छ भन्ने छैन । समाज, समुदाय र राष्ट्र कम्जोर हुन्छ कि, विभजान हुन्छ कि भनेर सदा हेक्का राखिरहनु पर्छ । हाम्रो ईतिहास मंगोलोईड नस्लबाट शुरु भएर भूगोल विशेषमा अरुले किरात, चोङ र अन्त्यमा हामी लिम्बु -याक्थुङ) पहिचान विकास गर्न आईपुगेका छौ । यसैैले हामी मंगोलोईड पनि हौ, किरात पनि हौ, चोङ पनि हौ, लिम्बु  (याक्थुङ) पनि हौ र आदिवासी जनजाति पनि हौ भन्ने ईतिहास जोडिएको छ । यि सबै आफैले दिएको पहिचान नाम नभएर अरुले दिएको या भनेकोबाट बनेका पहिचान नाम हुन् । चोङ लेप्चा तथा भुटिया मानव समुहले दिएको पहिचान नाम हो । किरात आर्यहरुले दिएको पहिचान नाम हो । मंगोलोईड समाजशास्त्री मानवशास्त्रीले दिएको पहिचान नाम हो । दश लिम्बुवान राज्य बने पछि यक खडा गरेर शासन गर्ने यकताम्बाबाट यक्थुङवा हुदै याक्थुङ भएको हो भन्ने मान्यतालाई मान्ने हो भने यो अलि हामी आफैबाट उत्पति भएको शव्द हो कि भन्ने देखिन्छ । लिम्बु पनि लुम्बोङबा या लिआबु या लुम्बासुम्बाबाट बनेको शव्द भएकोले यो अलि हामी आफैबाट उत्पति भएको शव्द हो कि भन्ने देखिन्छ । खासमा मुन्धुममा आउने हामी आफैले भनेको र दिएको पहिचान नाम चाँही सावायेत्हाङसा मात्र हो । यतिखेर मंगोलोईड र किरात पहिचान धेरै ठुलो मानव समुहमा एकता गर्नको लागी हुन्छ । तिनीहरुले राष्ट्रको रुप ग्रहण गर्न सक्दैनन् । बर्तमानमा हामीले फलाउने फुलाउने पहिचान भनेको राष्ट्रको रुपमा रहेको लिम्बु  (याक्थुङ) हो । सावायेतहाङसा पनि मुन्धुम अनुसार ठुलै मानव समुह हुने हुनाले अहिले राष्ट्रको रुप ग्रहण गर्न सक्दैन होला । तर सावायेतहाङसा भनेको हाल लिम्बुवान भित्र सिमित (Cofined)  भएको लिम्बु मानव समुह मात्र बुझ्ने हो भने त्यो राष्ट्रकोरुपमा विकास भएकै छ । यसर्थ विवाद छ जस्तो देखिन्न । तर विवाद र विभाजनको काम भईरहेको छ । विवाद र विभाजनले हामी लिम्बुलाई हराउछ मात्र र पहिचान नै विलुप्त गराउन पनि सक्छ । अन्य धर्म मान्ने व्यक्तिहरुको पहलाका साथै सिक्किमका केही व्यक्तिहरुको स्वार्थमा आएको यूमा धर्म र हिन्दु अभिजातिय शासकहरुको स्वार्थमा अगि बढेको किरात सत्यहाङमा धर्म दुवै अरुको स्वार्थ  (Interest)  मा आएका धर्म नामहरु हुन् । हामी आदिवासीमा धर्म भन्ने नै हुदैन । विश्वास प्रणाली मात्र हुन्छ । राज्यले धर्म बकाउनको लागी गरिने क्रियाकलापलाई हामीले संयमित भएर उत्तर दिन सक्नु पर्दछ । हामी बोन तथा सामानिजम मिश्रण भएको प्रकृति पुजक एनिमिष्ट (प्राकृतवाला)  हौ । त्यस भित्र यूमा, कप्पोबा, थेवा तथा विभिन्न माङहरु आध्यान्मिक पात्रहरु मात्र हुन । मंगोलोईड र किरात त बृहत मानव समुह मात्र हो । हामी लिम्बु अगुवाहरुको चुट्कीमा डाईभर्ट हुने चेतनाका कारण लिम्बु समाजले धेरै दुख पाएको छ । यतातिर मनन गर्न राम्रो हुन्छ ।
भविष्यको रेखा
अहिले हामी विभाजित खेलमा सामेल भएका छौ । यसले भविष्यमा लिम्बु समुदायको एकता त टुट्छ नै त्यो भन्दा बढी सम्भावना दश लिम्बुवान राज्य र थिबोङ याक्थुङ हाम्रा पुर्खाहरुले निर्माण गरेको लिम्बु (याक्थुङ) पहिचान पनि समाप्त हुन सक्छ । त्यहि बचाउन प्रयास गरेको नाममा त्यो सिद्धिन सक्छ । यस्तो आफैलाई समाप्त गर्ने खेलमा हामी किन सहभागी भएको होला भन्ने प्रश्न उठ्नु स्वभाविक छ र त्यसको उत्तर पनि हुन आवश्यक छ ।
५ कार्तिक २०७७

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार