–सामकेलो केवा फुङ्वा
किरात आदिवासी जातीहरू प्राय सबै उच्च हिमाली शिखर, डाँडा काडामा देवी देवताको थाँतबास विसौनी चौतारा भौतिक विम्व हुन्छन भन्ने आध्यात्मिक विश्वास राख्छन् । फक्ताङलुङ (कुम्भकर्ण), सेसेलुङ (कञ्चनजङ्घा), चमजङलुङ (सगरमाथा), फालेलुङ, वाधिनलुङ (मानाभरा), पयङ्गलुङ (ओसाङलुङ), मुक्कुमलुङ (पाथीभरा) समेत प्रमुख हिमाल डाँडाहरू किरात आदिवासीहरूको धार्मिक आस्था एवमं विश्वासका सृष्टिकालिन लुङधुङहरू (पुज्य पुन्य तिर्थस्थल) हुन् । हिमाली जलकुण्ड तथा अन्य स्थानका जलकुण्डहरू पनि किरातहरूको पुजनीय तिर्थस्थल हुन् ।
एक प्रमुख मिथक अनुसार मुजिङ्ना खेयोङ्नामाले (धर्तीमाता) पुरुष संसर्गविना नै सुसुवेन लालावेङ्वालाई जन्म दिइन् । यिनी शिकार खेल्ने उमेरमा पुग्दा उनको नाम युक्पुङकेम्वा रहन गयो । आफ्ना कुकुरहरू सहित शिकार खेल्दै जाँदा युक्पुङ केम्वाले हिमालमा थोसुलुङमा फियाम लुङ्मालाई विवाह गरी सुहाङ फेम्वा पुत्रको जन्म भयो । त्यस्तै डाँडातिर शिकार खेल्दा योसुलुङ्मा मुक्कुम लुङ्मासँग विवाह भई लाहादोङ्ना छोरीको जन्म भयो । सुहाङफेम्वा र लाहादोङ्ना बिच दाजु वैनीको नाता सम्वन्ध पर्छ भन्ने जानकारी नभई यी दुई वीचमा विहेवारी भयो । र विश्व भरी फैलिएका मानिसहरू तिनै एक जोडी स्त्री पुरुषका सन्तान हुन् भन्ने मुन्धुमी मान्यता छ । कालान्तरमा सुहाङफेम्वा लेप्मुहाङ (थेवाकै एक रुप) भए र लाहा दोङ्ना मुजिरी मुवोकवामा (युमाकै एक रुप) भए ।
याक्थुङ समाजमा मान्छेको मृत्यु भएपछि सामसामा अनुष्ठान गरी मृतकको आत्मालाई पितृलोकमा पु¥याई उसैका पितृहरूलाई जिम्मा लाउने संस्कार गरिन्छ । यसरी पितृलोक, स्वर्गलोक तर्फ मुन्धुमी वाचन यात्रा गर्दा जाने बाटो घरको थान हुदै मुल खम्बा, चुला, चुलामाथिको भार, धुरी, बलेसी, गाँउको दोवाटो, चौतारी, घारी, जङ्गल, डाँडा लेक हिमाल हुँदै मुक्कुमलुङ्मा (पाथीभरा) अनि फालेलुङ (पाँचथर दार्जिलिङ्ग विच सिमानाको लेकाली डाँडा) सो पछि फक्ताङ्गलुङ्ग निस्कनै पर्छ । फक्ताङ्गलुङ्गलाई पृथ्वीको अन्तिम विन्दु मानिन्छ । त्यसपछि आकाश अन्तरिक्ष तर्फ बाटो सोझिन्छ । देवारी साम्वा विजुवाले मृतकको आत्मा बोकेर मुन्धुमी बाचनको माध्यमवाट उनी पितृलोक तर्फ प्रस्थान् गर्छन र मृतक आत्मालाई पितृहरूलाई जिम्मा लाएपछि फेरि अघि गएकै बाटो भएर फर्किने कार्य हुन्छ । यसरी फर्कदा फेरि फक्ताङ्गलुङ्ग, फालेलुङ्ग, मुक्कुमलुङ्ग हुदै घरको थानमा आई पुगिन्छ ।
किराती याक्थुङ समाजमा फूललाई मानव जिवनको विम्व मान्ने मुन्धुमी परम्परा छ । सामाजिक जिवन प्रणालीलाई दिर्घायु सु–स्वास्थ्य एवमं समृद्ध राख्ने उदेश्यले नराम्रा कुरा कर्मलाई छेक्ने, कुल्चने, हटाउने अनि राम्रा कुरा कर्मलाई लिने ग्रहणशिल बनाउने । आदि सांकेतिक कर्म विधिहरू समेटिएको एक प्रमुख अनुष्ठानलाई “तङसिङ तक्मा” भनिन्छ । यसलाई जातिय देवारी साम्वा विजुवाद्वारा प्रत्येक घर परिवारमा अनिवार्य जस्तै वार्षिक वा त्रिवार्षिक रुपमा सम्पन्न गर्ने प्रचलन थियो र छ । तङसिङ कै अनिवार्य अंगका रुपमा “फुङ्वा चाङ्मा”
(जिवनफुल जगाउने) कर्म पनि गर्ने गरिन्छ । यो अनुष्ठान गर्दा सहभागी सबै उपकारीहरूको तङसिङ बोकेर साम्वा विजुवा चोलुङ सिद्धि स्थलतर्फ मुन्धुम वाचनकै विधिवाट यात्रामा निष्कन्छन् ।
सामसामा अनुष्ठान (आत्मालाई पितृलोकमा पु¥याउने) मा पितृलोक तर्फ जाँदा फिर्दा त्यहिबाटो स्थल हुदैं सिद्धि स्थल तर्फ यात्रा अघि बढ्छ । पृथ्वी छोड्नु अघि मुक्कुमलुङ्ग, फालेलुङ, फक्ताङलुङको दर्शनमा निष्कनै पर्छ । अन्तरिक्षमा रहेका सिद्धि स्थल पुगेपछि त्यँहा रहेका जिवन पोखरीमा पानी माछाहरू कम भएको देखिए, चारै दिशामा रहेका समुद्र ताल नदि खोलाहरू बाट जल माछाहरू ल्याएर जिवन पोखरीलाई भरीपूर्ण बनाउँने काम हुन्छ । त्यसपछि त्यँहा रहेका जिवन बगैचालार्ई गोडमेल मलजल गरी झकमक्क, ढकमक्क, सुन्दर सफा बनाउने काम हुन्छ । यी सबै कार्य सु–सम्पन्न भै सकेपछि तङसिङ सँगै बोकेर पु¥याएको सबै उपकारीहरूको आत्मालाई माङ (परमात्मा) बाट नयाँ जिवन, नयाँ शक्ति, नयाँ उर्जा, नयाँ उमङ्ग सहित नविकरण गरि उच्च शिर, उच्च आत्मवलको सम्पूर्ण आर्शिवाद लिएर फिर्नेकाम हुन्छ । फिर्दा उहि गएको बाटो हुँदै फक्ताङ्गलुङ, फालेलुङ, मुक्कुमलुङ हुदै तङसिङ थानमा आई पुगिन्छ ।
अघि तङसिङ सँगै लगिएको सबै उपकारीहरूको सातो (आत्मा हंश) लाई सिद्धि स्थलमा पु¥याएर तान्त्रिक, मान्त्रिक बिधिद्वारा परिसोधन गरि ल्याईएको सातोलाई उपकारीको शरीरमा प्रवेश गराउने कार्य गरेपछि “तङसिङ तक्मा अनुष्ठान” पूर्ण हुन्छ ।
यो समाजको जिवन र मृत्यु दुवै पक्षसँग सम्वन्धित अरु थुप्रै कर्म काण्ड संस्कारहरूमा यी शिखर डाँडाहरू जस्तै कोहिलुङ फाङजङलुङ्माङ, फक्ताङलुङ पेन्बेनलुङमाङ (कुम्भकर्ण), इसाङलुङ फालेलुङमाङ, सेवालुङ सेसेलुङमाङ (कञ्चनजंगा), योसुलुङ मुक्कुमलुङमाङ, क्यावोमेपुन्वोलुङमाङ, वसाङलुङपयङलुङमाङ, पोरोक्लुङयम्फालुङमाङ, केवालुङ चनजनलुङ्माङहरूको मुन्धुम वाचनमा बारम्वार नाम उच्चारण गरिन्छ । यि शिखर हिमाल, डाँडाकाँडा आदिवासी जनजातिहरूले नै सृष्टिदेखि मान्दै पुज्दै ल्याएका उनीहरूकै कुल देवता, इष्ट देवताहरू नै हुन् । भन्नलाई यति प्रमाण नै यथेष्ट र अकाट्य छन् ।
पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय श्रृङ्खला भरि अन्य भुगोल भेगमा पनि प्रसिद्ध प्राचिन तिर्थस्थल शिखर डाँडाहरू छन् । ती सवै धार्मिक स्थलहरू त्यँहाका स्थानिय आदिवासीहरूको संस्कृति, परम्परा सँग कुनै न कुनै रुपमा सम्बन्ध जोडिएको अवस्य हुन्छ । किनकी सृष्टिदेखि नै हिमाल र हिमालको दक्षिणी काखमा प्राचिन काल देखि बसोवास गर्दै आउने आदिवासीहरू नै हुन् । यसर्थ हिमालय क्षेत्रमा रहेका जतिपनि देवी देवताका तिर्थ स्थलहरू छन् हिजो प्रारम्भमा खुट्याउने, पहिचान गर्ने, स्थापना गर्ने अनि धेरै लामोकाल सम्म सेवा पुजा दर्शन, पर्शन, आराधना गर्ने प्रथम संस्थापक भक्तहरू त आदिवासीहरू नै हुन् । तर समयको नियती यै हो । पुरानाहरू थाक्दै जान्छन् । नयाँहरूमा जिम्मेवारी सर्दै जान्छ । पुजारी थाके भन्दैमा पुराना पुजारी आचरण, अनुशासनमा भ्रष्ट भए भन्दैमा माङको नित्य धुपवाती आरती कहाँ रोकिनेवाला छ र ? जेठा थाके माइला, साइला अधि सर्छन् । किनकी यो स्वयं माङ कै वन्दोवस्त हो । मान्छेको किमार्थ होइन ।
मान्छेहरूका लागि अनेकौं प्रकारको साँध सिमानाहरू होलान् तर परमात्माका लागि सबै एक छन् । सृष्टि सबै उँहा कै हो । सृष्टि हुँदाका वखत जेठा कान्छा अघि पछि हुनु चै प्रकृति हो । परमात्मा सँगै प्रकृतिलाई मान्न सबैलाई बरावर हक छ । तर यति हो, सम्वन्धित देवी देवताको परम्परागत निति–नियमलाई पुजारी भक्त दर्शनार्थी सबैले सम्मान गर्नु पर्दछ ।
मुक्कुमलुङ्मा देवीलाई जान्ने बुझ्ने गुरुजनहरू अत्यन्तै शक्तिशाली पिठ हो भनि ठह¥याउने गर्छन् । हिजोका पुर्खाहरूले दिएको नाम परिभाषा “मुक्कुमलुङ”, “मुक्तुबुङ” को अर्थ पनि शक्तिको मुहान, शक्ति÷बलको बोट, शक्ति उत्पत्ति हुने थलो भन्ने अर्थ लाग्छ । पाथिभरालाई अत्यन्तै उग्र न्यायकारी, असत, अन्यायी, पापीलाई देख्नै नमान्ने, दण्ड दिई हाल्ने, चट्याङले बजाईहाल्ने माक्चिरी हाङमा (काली), चाङ्खीहाङ्मा (चण्डी) को रुप मानिन्छ । खुशी भए भक्तले जे माग्छ दिइ हाल्ने मनकारी देवी भगवतीको रुपमा विश्वास गरिन्छ । तल्लो फेदिदेखि माथि शिरसम्म डल्लै सिङ्गो डाँडा नै पुज्य तिर्थ स्थल मानिन्छ । तैपनि भक्तको चित्त बुझाउँनी माताको प्रतिक स्वरुप प्राचिन समय देखि नै एउटा च्याप्टो आकारको निस्सालुङ (शिलापत्थर) स्थापित गरिएको देखिन्छ । यो शिलालाई ढुङ्गाकै आड खोपी बनाएर सुरक्षित राखिएको छ ।
हालको देवीको धातु मुर्ति त भरखरै २०६८ सालमा राखिएको हो । त्यो मुक्कुमलुङमाको प्रतिक निस्सालुङमा केहि आकार चित्र कुँदिएको हो कि जस्तो पनि देखिन्छ । त्यति प्रष्ट छैन । यी सबै कुरा थाहा नहुने भक्तहरू भने तिनै धातुको मुर्तिलाई नै देवी मान्छन् । पाथिभराको वास्तविक पहिचान मान्नुपर्ने आफैं आफ प्राकृतिक रुपमा प्रकट भएका शिवलिङ्गको आकृति, स्त्री योनीको आकृतिहरू भने यस ठाउँ भन्दा केहि तल दाँया तर्फ छ । यो ठाउँ भिरमा भएकाले जान अप्ठ्यारो छ ।
मुन्धुममा तान बुन्ने क्रियालाई युमामाङको सृष्टि लिलाको बिम्बको रुपमा महिमा गाइन्छ । माता पाथिभराको दर्शनार्थीहरू पनि बुझि नबुझि माथिल्लो फेदिको फेददेखि नै काँचो धागोको लठ्ठा टाङ्दै माथि मुल धाममा पुग्ने गर्छन् । यर्थाथमा यो तानको धागो टाँगेको हो । वास्तवमा किरात याक्थुङ समाज आफूलाई सबैभन्दा पुरानो आदिवासी मात्र होइन खामवोङ्बा लुङ्वोङबा (धर्तीपुत्र) नै हौं भन्ने गर्छन् र उनीहरूको आदिम पुर्खा सुहाङफेम्वा र लाहादोङ्नाको सृष्टि उत्पति यहि फक्ताङलुङ, (कुम्भकर्ण), सेवालुङ (कञ्चनजङ्घा) भेगमा भएको अनि उनीहरूको रासोवासो चहलपहल हुदै रस्ति–बस्ति गुलजार हुदै गएको मुनातेम्बे (मान्छे उत्पति स्थान) थलो यहि फक्ताङलुङ, सेवालुङ, मुक्कुमलुङ तमोर नदीको दाँया वाँया क्षेत्रका उपत्यकाहरू हुन् भन्नलाई संस्कारगत मुन्धुम परम्पराले आजसम्म बोल्दैछन् अनि मुन्धुमले घटना विवरणसहित औल्याएको थातथलो लुङधुङहरू यी हुन् भनेर स्थानिय बासिन्दाहरूले आजसम्म देखाईरहेका छन् । विश्वका मानव जाती वंशकै पहिलो पुर्खाहरूको आदिम उत्पति थलो भनि पुष्टि हुन सक्ने प्रचुर सम्भावना बोकेको यो आदिम थात थलोबारे आज सम्मका सत्तासिन वर्ग पुरै उदासिन देखिन्छन् । अनि अर्कोतिर प्राग ऐतिहासिक महत्वका स्थानिय थाँतथलोसँग संवेदनशिल हुन नसक्ने आजभोलीका अनेकौ खाले विकासे परियोजनाहरू, दिग्भ्रमित विकासे विचारहरू, आयातित सम्प्रदायहरूको चौतफि थिचोमिचोको चपेटामा पर्दै गएको अवस्थामा आफ्नै इतिहास धर्म संस्कृति भुले विर्सेको स्थानिय अभिभावकहरूको भरोसामा कसरी सुरक्षित रहन सक्लान् ? गंभिर चिन्ता र चिन्तनको विषय छ ।
लोकतन्त्र पुर्नवहालीको धेरै वर्षपछि पाथिभराबारे सक्कली इतिहास र मिथकहरू खोज अनुसन्धान गर्दै रैथाने सन्ततिहरू एकाएक विउझिएर “ओहो हाम्रा कुलदेवी मुक्कुमलुङमा त पाथिभरा पो भइछन् । अनेकौं मुर्तिहरू खडा गरि देवीको विहान बेलुकी पुजा, धुपबाती, आरती गर्न, दर्शनार्थी भक्तहरूलाई सेवा पुजामा सहयोग गर्न नयाँ पुजारीहरू पनि खटिई सकेछन्” यी सबै नयाँ व्यावस्थापनमा हाम्रो भुमिका स्थान कहाँ के हो ? भन्दै हिजोका संस्थापक सन्ततिहरूले होस् खोज्नु, जिज्ञासा राख्नु स्वागत योग्य मात्र नभई शुभ संकेत पनि हो ।
मुक्कुमलुङ्माको हेरचाह पुजा आरधनाबारे जिज्ञासा प्रश्नहरू उठ्नु स्वभाविक हो । मुक्कुमलुङ्मा पाथिभरा वा अन्य कुनै नामाकरणको सम्बन्धमा जे–जस्ता सहमति, विमतिहरू भएपनि रैथाने नाम रहनु अर्थ पूर्ण नै हुन्छ । किनकी यो नाम आफैंमा अर्थपूर्ण छ । तर पनि रैथाने नाम कायम राख्दैमा कुलदेवी प्रतिको दायित्व पुरा हुन्छ भन्नु चाहि सर्वथा गलत हुन्छ । कुल देवीदेवतालाई मान्ने पुज्ने तौर तरिका, विधि विधान, आचरण सम्बन्धमा याक्थुङहरू स्पष्ट हुन जरुरी छ । यी समग्र पक्षहरूमा सुधार गर्न याक्थुङ समाजले नै आफ्नो वास्तविक धर्म संस्कार, संस्कृति इतिहास भुले विर्सेको अवस्थामा धेरै गाह्रो पनि छ । तैपनि खुल्ला दिल, जिज्ञासु मन, तर्क पूर्ण वुद्धि सहित निरन्तर खोज, अध्ययन, चिन्तन् मनन्मा डट्टियौ भने बाटो आफैं सोझिन्छ भन्ने विश्वास गरौं ।