हङकङका नेपाली पत्रकार किसन राई भिरबाटै लडेका हुन ?

                डा. चुरा थापा,  हङकङ

मलाई यो लेख लेख्न कठीन भइरहेछ । विशेष गरी हङकङे नेपाली समाजमा विगत साढे दुई दशकदेखि अनवरत समुदायमा खटिएका, जेबी पूनको भाषामा, “वानम्यान आर्मी“ किसन राईको अप्रत्यासित र अपत्यारिलो दूर्घटनाबाट मृत्युको खबर पचाउन नसक्दा र किसन राई दूर्घटना भएको भनिएको स्थानको भिडियोहरु, फोटाहरु र नेपालतिर अनि यतातिर उनका बारे पोष्ट भएका विविध खाले विचारहरु हेर्दा मनमा उठेका अनेकन शंका र डरका कारण यो लेख लेख्न कठीन भएको हो । डरको अर्को कारण चाहिं यस्तो दुखद घडीमा किसन राईको परिवारलाई मेरो लेखाइले कतै असर नगरोस् भन्ने पनि हो । हङकङमा किसन राईलाई मैले जस्तै वा अलि बढी नजीकबाट चिन्ने सबै नेपालीलाई यसबेला शायद मलाई जस्तै भएका होला भन्ने अनुमान गर्छु ।
तर अहिले यो लेखमार्फत एउटा प्रश्न गर्न बाध्य छु “किसन राई के सांच्चि भिरबाट लडेरै मरेका हुन् ?” किसन राईको दूर्घटनाको विवरण केहीलाई सामान्य जस्तो सुनिए वा लागे पनि, धेरैको मनमा शायद यो प्रश्न अहिलेसम्म पनि खट्केकै होला ।
किसन राईलाई मैले सन् २००० सालतिर हङकङमा भेटेको हुं । उनको र मेरो सम्बन्ध अति नजीक वा टाढा कहिल्यै भएन । शुरुमा उनी अलि घमण्डी जस्ता लाग्थे । राम्रोसंग कसैलाई आदर गरेर बोल्ने बानी थिएन उनको । उनले हङकङमा एभरेष्ट पत्रिका शुरु गरेपछि बेलाबखत उनीसंगै पत्रिकामा पौंठेजोरी खेलेर, कहिले कुनै विषयमा उनले नै आग्रह गरेर र कहिले फेरि मेरो आफ्नै खुशीले लेखेका लेखहरु उनको पत्रिकामा छापेर उनी र मेरो सम्बन्ध विकास भएको हो । त्यसबाहेक हङकङका नेपालीको विषयमा सरकारसंग केही विषय उठाउन राखिएका प्रायः बैठकहरुमा हामी संगै हुन्थ्यौं । नेपाली समुदायका बेलाबखत देखिने विकृतिका विषयमा छलफल गर्दा वा तिनको सामना गर्दा पनि उनी र म प्रायः संगै हुन्थ्यौं । औपचारिक रुपमा हामी खासै कुनै संस्थामा संगै बसेनौं । पछिल्लोपटक उनले मलाई उनी आफु संलग्न भएका संस्थाहरुमा “सल्लाहकार राखिएको छ है” भनेर खबर गर्थे, तर म भने ती संस्थाहरुको गतिविधिमा विरलै संलग्न हुन्थें । हङकङका नेपाली संस्थाहरुका विभिन्न खाले गतिविधिमा संलग्न हुने सवालमा कहिले प्रतिद्धन्द्धि जस्तो र कहिले सहकर्मी जस्तो भएर हामी रहन्थ्यो । सहकार्य गर्नुेपर्ने भए उनले आफै फोन गरेर “हाउ, भोलि भेटौं न” भनेर मध्यरातितिर फोन गर्थे । फेरि कतिपय समय उनको कार्यशैली मन पर्थेन, उनको गतिविधि शंकास्पद लाग्थ्यो वा कसैले त्यस प्रकारको ब्रिफिंग गरिरहेका हुन्थे, त्यसबेला फेरि उनी र म प्रतिद्धन्द्धि जस्तो देखिन्थ्यौं ।

                        स्व.किसन राई

तर अलि हठी स्वभावका उनी म जस्तै लाग्थ्यो । मनमा लागेको कुरो प्याच्च भन्दिइ हाल्ने, लेखिदिइ पनि हाल्ने, पाइलै पिच्छे बोली नफेर्ने, खास कुनै स्वार्थबाट प्रेरित नभएका, गलत कुरा र गलत मान्छेसंग संगत र सांठगांठ नगर्ने, तर कोही प्रति पनि दुश्मनी नसांध्ने । यस्ता प्रकारका मान्छे हांगकंगमा शायद धेरै कम छन् किनकि सबैका कुनै न कुनै स्वार्थ छन् । उनी र म बीच केही भिन्नता थिए । उनी भएभरका नेपाली संस्थामा भित्रै पसेर फोहोर बढार्नुपर्छ भन्ने मान्यता बोकेर एकैचोटि एक दर्जन जति संस्थामा प्रत्यक्ष रुपमा संलग्न हुन्थे । त्यसैले गर्दा र उनको पत्रिकामा बेलाबखत विकृतिका विरुद्ध चल्ने कलमका कारण उनी केही मानिसका लागि विवादास्पद लाग्थे । उनी बित्नुभन्दा पहिले पनि जनजाति महासंघ हङकङका अध्यक्ष, पत्रकार संघ हङकङका अध्यक्ष, एनआरएनका आइसीसी सदस्य, हङकङ नेपाली फाउन्डेसनका अध्यक्ष, नेपाली पाठ्यक्रम संघका अध्यक्ष, राइ प्रतिस्थानका चान्सलर गर्दै अन्य अनेकन संस्थाका सल्लाहकार र सदस्य पदहरुमा रही सक्रिय रहेको मलाई थाहा छ । म भने लामो समयदेखि केही प्रमुख नेपाली संस्थाहरुका महत्वपूर्ण कामहरु जस्तो सरकारी परियोजना विषयहरु, सरकारी अधिकारीहरुसंगको बैठकमा उठाउनुपर्ने विषयहरुमा बाहिरै बसेर सल्लाह सुझाव दिने र केही कागजातहरु लेखिदिने काममा मात्र संलग्न छु । केही महिना अघि हङकङको फानलिंग स्थित पूर्व गोर्खा सैनिक क्याम्पको क्षेत्रमा रहेको एउटा हिन्दु मन्दिर नेपालीहरुको व्यवस्थापन मातहत ल्याउन के गर्नुपर्छ भन्ने छलफल गर्न मैले काम गर्ने ठाउंतिरै आइपुगेका थिए । “एउटा चिठी बनाइदिनुपर्यो” भन्दै थिए । त्यसपछि एनआरएन हङकङको अधिवेशन हुनु पहिले पनि जोर्डनको एउटा कफी सपमा भेटौं भनेर त्यतै भेटेर कुराकानी गरिएको थियो । उनी नेपाल जाने दिन फोन गरेका थिए । “म नेपालतिर हिंडेको । आएपछि केही कुरा गर्नु छ, भेटौं है” भनेका थिए । मैले “हुन्छ” भन्दै शुभयात्राको कामना गरेको थिएं ।
नेपाल गएपछि सामाजिक सन्जालमा एकाध पोष्ट गरेका थिए । तर अक्टोबर २६ को बिहानै हङकङका नेपालीहरुले सामाजिक संजाल भर “त्यो खबर सत्य नहोस्, अपुष्ट तथा भयानक खबर, कस्तो अनिष्टकारी खबर” भन्ने जस्ता कुराहरु पोष्ट गरेको देखियो । केही बेरपछि हङकङका नेपालीहरुले संचालन गरेका केही वेभसाइटहरुमा किसन राई दुर्घटनामा परेर गम्भिर घाइते भएको भन्ने समाचार आए भने केहीमा मृत्यु भएको भन्ने समाचारहरु आए । त्यसको केही समयपछि दिशा गर्न जांदा भीरबाट लडेर मृत्यू भएको भन्ने समाचार जताततै आउन थाले । फोटाहरु र भिडियो पनि आउन थाले ।
प्रख्यात समाजशास्त्री बेनेडिक्ट एन्डर्सनको भनाइमा एउटै सीमाभित्रका मानिस बीच कहिल्यै चिनजान नभएपनि वा भेटघाट नै नभएपनि एक प्रकारको घनिष्ठता अनि आत्मीयता हुन्छ रे, र राष्ट्र पनि त्यसकै उपज हो रे वा राष्ट्रियता वा राष्ट्रवाद भनेको पनि त्यस्तै प्रकारको अभिव्यक्ति हो रे । जीवनमा मानिसले आफ्नो आत्मीयता पनि त्यस्तै मानिसका दुख वा सुखका घडीमा प्रकट गर्छ शायद । तर हङकङका, शायद अन्ततिर पनि र अरु समुदाय माझ पनि त्यस्तै हुन्छ होला, नेपाली नेपाली बीच अनेक प्रकारका विविधता छन्, जसका कारण एउटै देश नेपालबाट आएका भए पनि हामी भिन्न भिन्न समुदाय र समूहमा विभिन्न उद्येश्यका लागि र विभिन्न रुपमा सक्रिय छौं । सबै नेपाली बीच एकता हुनुपर्छ भन्ने आम भावना भए पनि मानवीय स्वभावकै कारण विभिन्न स्वार्थ समूहहरुमा नेपालीहरु विभाजित छन् । कहिले कांही सरकारले कुनै परियोजनाहरु नेपालीलाई दिनुपर्दा वा नेपालीहरुले पनि कुनै कुरा सरकारसंग माग गर्दा सरकारी अधिकारीहरुले अक्सर अरु नेपालीका विचार के छन् भनेर बुझ्न खोज्ने पछिल्लो चरणको तौरतरीका हाम्रो त्यस्तै स्वभावका कारण भएको होला शायद । त्यसैले यहां सबै नेपालीले नेपाली भएकै कारण सबैका दुख सुखमा खुशी, सहानुभूति र आत्मीयता प्रकट गरेका पाइंदैनन्, स्वयं म पनि शायद त्यस खालको स्वभावको अपवाद छैन होला । तर किसन राईको बारेमा दुखदः खबर सामाजिक सन्जालमा देखिंदा मन अत्यन्त उद्धेलित भइरहेको थियो । किन भइरहेको थियो त्यो आफैलाई थहा थिएन । सपना जस्तै लागिरहेको थियो । किसन राई मेरो खास कोही थिएनन् । न नातेदार थिए, न एउटै थरका, न एउटै जातका, न गाउंले, न एउटै पार्टीका, न व्यापारिक साझेदार, न संस्थामा कतै एउटै कमिटीमा आवद्ध, न हामी बीच त्यस्तो घनिष्ठ । केही थिएन ।
त्यसरी मन उद्धेलित हुनुका केही कारणहरु थिए । पहिलो त, किसन हङकङमा बिस बाइस वर्षदेखि अनवरत रुपमा र अनेकन बाधा व्यवधानका बीच नेपाली भाषाको पत्रिका चलाएर बसेका एक होनहार योद्धाको रुपमा पछिल्लो पटक परिचिति थिए । हङकङमा कैयनले नेपाली भाषाको पत्रिका शुरु गरे, तर किसनको जस्तो डेडिकेसन र त्यागको अभावका कारण टिक्न सकेनन् । त्यस बाहेक हङकङको नेपाली समुदायको बृद्धि विकासमा आफ्नो पूरै जीवन व्यतित गरेको हङकङका प्रायः सबै नेपालीले चिन्ने एकजना सचेत, स्वस्थ र स्वच्छ मन बिचारका मानिस थिए, किसन । पछिल्लो समयतिर यस्तो लाग्थ्यो, हङकङका प्रायः सबै नेपाली संस्थाका मानिसहरु किसन राई लाई आफ्नो अविभावक जस्तो मान्न थालेका थिए । स्वर्गीय किसन राईप्रति श्रद्धान्जली दिने एउटा कार्यक्रममा एनआरएन हङकङकी निवर्तमान अध्यक्ष टीका गुरुंगले भन्दै थिइन्, “पछिल्लोपटक किसन राई आफै सुध्रेर अरुलाई पनि सुधार्ने अभियानमा लागेका थिए । एक अविभावक जस्तो बनेर ।”
दोस्रो, उनको दूर्घटनाको बारेमा जे जस्ता भनाइहरु र फोटो अनि भिडियोहरु बाहिर आइरहेका थिए, ती पत्याउने खालका थिएनन् । कसैले दिसा गर्न जांदा लडेको भनिरहेका थिए, कसैले पिसाब गर्न जांदा लडेको भनिरहेका थिए । कसैले १५ मिनेट जति फोटो खिचेपछि भिरबाट चिप्लेको भनिरहेका थिए । फेरि उनको फोन चाहिं ज्याकेटमा गाडीमै रहेको भनिरहेका थिए । ३०० मिटर माथिबाट खसेको भनेको मानिसको टाउको र ज्यानमा केही भएको थिएन, तर उनको हात र खुट्टा भांचिएको देखिन्थ्यो । मानिसहरुका भनाइ सुन्दा र उनको मृत शरीरको फोटो देख्दा यस्तो लाग्थ्यो, आइज्याक न्यूटनको गुरुत्वाकर्षणको नियम नै उल्टाउनुपर्छ । कसैले दुई ठाउं दिसा गरेर उठेपछि चिप्लेको भनिरहेका थिए । तर उनको पाइन्ट र बेल्ट जस्ताको तस्तै देखिन्थ्यो । हात खुट्टा भांचिने गरी लडेको मानिसको जुत्ता फेरि खुट्टामै थियो । नजीकै झाडी अनि खोल्सा पनि देखिन्थ्यो, तर उनले उज्यालोमै खुल्ला बाटो छेउको भिरको डांडीमा दिसा गर्दा चिप्लिएको भनिएको थियो । कुन नेपालीले दिउंसोमा सबैले देख्ने ठाउंमा उज्यालोमै दिसा पिसाब गर्छ? कुन मान्छेले दिसा पिसाब गर्न झाडीतिर नगएर, खोल्सातिर नगएर भिरको थाप्लोतिर जान्छ? यी र यस्तै प्रश्नहरु थिए, जसले मनमा शान्ति मिलेको थिएन र छैन ।
तेस्रो हो, हामीले भन्ने गरेको हाम्रो देश नेपाल, आफ्नोपन भएको, आत्मीयता भएको, सुरक्षित महसुस हुने आफन्तहरु, नजीकका साथीसंगी भएको विश्वास गर्नुपर्ने ठाउं । किसन राई पनि त्यस्तै विश्वासिला, पुराना साथीहरुसंग आफ्नो देशभित्र यात्रामा थिए । तर किन त्यस्तो दूर्घट्ना भयो, कसरी भयो? त्यो पनि आफ्नै गृहजिल्लातिर? के नेपालमा आफन्तहरु बीच, आत्मीय साथीहरु बीच हुने विश्वास, भरोसा कायमै छ? हो, यताका नेपालीलाई अब यस्तै डरले च्यापेको छ । उहिले आफ्नो ज्यान हत्केलामा राखेर पनि पाहुनाको सुरक्षा गर्ने हाम्रो संस्कार के अब बांकी छ ? कि नवउदारवादी चरमताको सांस्कृतिक कुरुपतातर्फ हाम्रो समाज मोडिइसकेको छ, जहां मानिसले आफन्त, साथीभाइ, नातेदार, छिमेकीको भन्दा आर्थिक लेनदेनको सम्बन्धमा आत्मीयता र विश्वास दर्शाउन बाध्य हुन्छ ।
हामी हङकङका नेपालीले आफ्नो एउटा नयां राष्ट्र अर्थात नयां पहिचान निर्माण गर्न सकिरहेका छैनौं, भलै अरुहरुले हाम्रो पहिचान निर्माण गरिदिइ सकेका छन् । हङकङका आम मानिसको नजरमा हामी नेपोयी यान हौं । हामीभित्रको अनेक खाले विविधता तिनले देख्दैनन् । हामीभित्रको मतभेद र गुटबन्दी पनि तिनीहरुले देख्दैनन् । खाली नेपालतिरबाट यता भाग खोज्न आएका ननचाइनिज हौं हामी । उता नेपालतिर पनि हाम्रो अर्कै पहिचान निर्माण भइसकेको छ । नेपालतिरका मानिसहरुको लागि, हाम्रै आफन्त र छिमेकीहरुका लागि समेत, हामी डलर कमाउन विदेश भासिएका डलरे हौं । हामीसंग डलरको पोको छ । नेपालको बारेमा बोल्न र चिन्ता गर्न हामीलाई अनुमति छैन । मात्र रेमिट्यान्स भित्राउन र उतातिर हुने सबैखाले विकृतिमा रमिते बन्न मात्र हामीलाई छुट छ । नेपालका राजनीतिक नेताहरुका नजरमा हामी बेलाबखत हङकङ आउंदा होटल स्पन्सर गर्ने, महंगा गिफ्टहरु दिने, र फ्रीमा घुमाउने पात्रहरु हौं । अर्थात नेपालतिरका नजरमा हामी पूरा नेपाली होइनौं भने हङकङका आम मानिसका नजरमा हामी पूरा हङकङेली होइनौं । पत्रकार किसन राईले नेपालको राजनीतिमा सहभागिता जनाएर जबर्जस्त यस प्रकारको हाम्रो पहिचानमा सुधार ल्याउन खोजेका थिए । त्यसैले हामीभित्र अनेक खाले मतभेदहरु भएपनि नेपालतिर र हङकङतिर आफ्नो हक अधिकार र सुरक्षाको प्रत्याभूतिको लागि पनि हङकङका नेपालीले अब हङकङे नेपालीको एउटा सामूहिक पहिचान बनाउन आवश्यक देखिन्छ । किनकि किसन राई हामी हङकङे नेपालीका एक ज्याद्रो प्रतिनिधि थिए र हुन् । मनमा कोही प्रति रीस राग नराख्ने तर गलत लाग्ने कुरा र मान्छेलाई तत्काल लल्कारि हाल्ने । त्यसैले अहिले हरेक नेपालीले सोध्नुपर्छ, “के किसन राई भिरबाट लडेरै मरेका हुन ? किन बिना तथ्यपरक छानबिन बिनै मानिसहरु भिरबाट लडेको भनेर दावी गरिहेका छन् ? को हुन् त्यसरी दावी गर्नेहरु ? हङकङका नेपालीहरुले अहिले सोध्नुपर्ने प्रश्नहरु भनेका यिनै हुन् ।

स्वर्गीय श्रद्धेय मित्र किसन राईको सम्झनामा ।
३१ अक्टोबर, २०२१

# डा.चुरा थापा लेखक, पत्रकार तथा रेडियोकर्मी समेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार