बर्तमान राजनीतिक संकटको जड/नन्द कन्दङवा

माघ २०७७
पृष्ठभुमी
सन १८५७ मा भएको अवध विद्रोहलाई दवाउन नेपालका राणा शासकले अंग्रेजलाई सहयोग गरे बापत पाएको नया मुलुक (बाके, बर्दिय, कैलाली र कन्चनपुर) लाई आधार बनाउदा बर्तमान आकारको नेपाल देश बनेको लगभग १६२ बर्ष जति भएछ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले सन् १७६८ मा कान्तिपुरमाथी आक्रमण गरि गोर्खा राज्यको बिस्तार शुरु गरि सन् १८१६ को सुगौलीको सन्धिबाट अहिलेकै आकारको नेपाल बनेको करिव २०४ बर्ष भएछ । उक्त समयदेखी आजसम्म यो देशमा धेरै परिवर्तनहरु भईसकेका छन् । यस २०४ बर्षको अवधिमा राज्य शासन व्यवस्था, संविधान तथा शासन संरचना धेरै पटक परिवर्तन भईसकेका छन् । ति कुनै दिगो हुन सकेनन् । जनताको आन्दोलनले ति सबै एक पछि अर्को गरेर परिवर्तन भए । २०६२/६३ को जनआन्दोलन पछि २०७२ मा संघिय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान जारी भएता पनि जनता अझै सन्तुष्ट छैनन् र अरु परिवर्तनको पक्षमा उभिईरहेका छन् । यो परिवर्तनको गन्तव्य कहा हो, जनता किन सन्तुष्ट छैनन हुदैनन र जनताको असन्तुष्टीको कारण के हो भन्ने कुराको जड थाहा पाउन आवश्यक छ ।
जनताको असन्तुष्टी
जनता भन्ने वित्तिकै राष्ट्रकोरुपमा रहेका विभिन्न मानव समुहहरु भनेर बुझ्नु पर्ने हुन्छ । यस भित्र विभिन्न बर्ग र लिंगिय समुहहरु रहेका हुन्छन । यसको अर्थ जनताका असन्तुष्टीहरु पनि फरक फरक छन भनेर मान्नु पर्ने हुन्छ । हाम्रो देशमा यि सबैका आ–आफ्ना असन्तुष्टी र समस्याहरुसंगै केही साझा असन्तुष्टी र समस्याहरु रहेका छन् । भ्रष्टाचार, कुशासन, रोग भोक, गरिवी, अभाव, अनैतिक्ता, द्धण्द्ध, विभेद, असमानता, अन्याय, शोषण, उत्पीडन आदी नेपाली जनताले भोगी रहेका समस्याहरु हुन् । यि समस्याहरु पनि जातिय र बर्गीय हिसावले फरक फरक भोगाई रहेको छ । यसर्थ, समस्याहरु राष्ट्रको आधारमा सोझो र तेर्सो समस्याकोरुपमा छुट्याईनु पर्दछ । भाषीक र संस्कृतिकरुपको अन्याय, असमानता, विभेद, उत्पीडन तथा राष्ट्रहरुको पहिचानको कुरा राष्ट्रहरुसंग सम्बन्धित सोझो  (Vertical)  समस्या हो । यस्मा बर्ग छुटिन्न । गरिवी, अभाव, अनैतिक्ता, रोग भोकका समस्याहरु सबै राष्ट्रहरुमा रहने तेर्सो  (Horizontal)  समस्याहरु अर्थात अन्तरसम्बन्धित  (Cross – Cutting ) समस्याहरु हुन । भ्रष्टाचार, कुशासन र द्धण्द्ध देशका साथै समग्र जनतासंग सम्बन्धित समस्याहरु हुन् । यि समस्याहरु कहिल्यै नसुल्झीएको र दिन प्रति दिन बढ्दै गएकोले जनता असन्तुष्ट छन् ।
समस्याहरुको कारण
समस्याहरु पनि एकैरुप र एकै प्रकारका छैनन । गरिवी, अभाव, अनैतिक्ता, रोग भोक जस्ता समस्याहरु अन्याय, असमानता र विभेदका कारण जन्मिएका समस्याहरु हुन् भने भ्रष्टाचार, कुशासन, हत्या हिंसा र द्धण्द्ध जस्ता समस्याहरु शासन सन्चालनको बिचारका कारण आउने समस्या हुन् । हत्या हिंसा र द्धण्द्ध जस्ता समस्याहरु गरिवी, अभाव, रोग भोक, दमन उत्पीडनका कारण सिर्जीत समस्याहरु हुन् । भाषीक र संस्कृतिकरुपको अन्याय, असमानता, विभेद, उत्पीडन तथा राष्ट्रहरुको पहिचानका समस्याहरु शासन सन्चालनको बिचारका साथै शासन व्यवस्था, राज्य सत्ता र राज्य संरचनाले सिर्जना गरेका समस्याहरु हुन् । यसको अर्थ अन्याय, असमानता र विभेदका कारण गरिवी, अभाव, अनैतिक्ता, रोग भोग सिर्जना भएका छन् । अन्याय, असमानता, विभेद, उत्पीडन र पहिचानका समस्या शासन सन्चालनको बिचार, शासन व्यवस्था, राज्य सत्ता र राज्य संरचनाका कारण जन्मिएका समस्याहरु हुन् ।
समग्रतामा देशमा विद्यमान कुशासन, अन्यायी बिकास, भ्रष्ट्राचार, रोग, भोक, गरिवी, अभाव, अनैतिक्ता, द्धण्द्ध, शोषण, उत्पीडनहरु अभिजातिय जत्थाको बर्चस्प कायम राख्ने हिन्दुत्वको आधारमा राष्ट्र—राज्य निर्माण गर्ने बर्गिय तथा अभिजातिय जातिवादी बिचारका कारणले सिर्जना भएको हो । यसैले, यहि बिचारका कारण अरुमाथी अभिजातिय जत्थाको उपनिवेश कायम छ, एकाधिकार कायम छ र बर्चस्प कायम छ । अभिजातिय जत्थाको उपनिवेश पृथ्वीनारायण शाहको समयदेखि आजसम्म निरन्तररुपमाा जारी छ । राज्य व्यवस्था, शासन संरचना, राज्य सत्ता तथा राज्य संरचना त्यसै अनुसार त्यहि उपनिवेशलाई कायम राख्न निर्माण गरिएका छन् । हिन्दुत्वको स्वार्थ बोकेको अभिजातिय बिचार जसलाई ब्राह्मणवादी बिचार या ब्राह्मणवाद पनि भनिन्छ त्यसले सन् १७६८ देखि आजसम्म लगातार डोर्याउने बिचार  (Driving ideology)  कोरुपमा काम गरिरहेको छ । परिणामस्वरुप जनतामा अन्याय, असमानता, विभेद भईरहेको छ भने जनताले भ्रष्ट्राचार, हत्या हिंसा, रोग भोक, गरिवी, अभाव, अनैतिक्ता, द्धण्द्ध, शोषण उत्पीडन भोगिरहेका छन् ।

हाम्रो देशमा सन् १७६८ देखि आजसम्म धेरै शासन व्यवस्था फालिए र नया व्यवस्था ल्याईए तर त्यसलाई डोर्याउने बिचार (Driving ideology)  फ्याकिएन । चाहे त्यो सन् १९५० (बि.सं. २००७) को क्रान्तिबाट राणा शासनलाई हटाएर ल्याईएको प्रजातन्त्रिक व्यवस्था होस् या सन् १९९० (बि.सं. २०४७) सालमा पन्चायतलाई फालेर स्थापना गरिएको प्रजातान्त्रिक व्यवस्था होस या सन् २००४ (बि.सं. २०६२/६३) को जनआन्दोलनबाट राजतन्त्रलाई हटाएर स्थापना गरिएको गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था होस या सन् २०१५ (बि.सं. २०७२) सालका घोषणा गरिएको संविधानबाट निर्माण गरिएको शासन व्यवस्था होस् शासन र व्यवस्थालाई डोर्याउने भित्री बिचारलाई निरन्तरता दिने काम हुदै आयो र भईरहेको छ ।

परिवर्तनका बाधक, परिवर्तन र परिवर्तनको गन्तव्य
शासन, राज्य व्यवस्था, शासन संरचनाका साथै त्यसको पुग्ने गन्तव्यमा अभिजातिय बर्गको बर्चस्प कायम राख्ने हिन्दुत्वको आधारमा राष्ट्र—राज्य निर्माण गर्ने बर्गिय तथा अभिजातिय ब्राह्मणवादी जातिवादी बिचारलाई हटाउन हरेक आन्दोलनमा प्रयास भएको छ तर त्यो कामयावी हुन सकेको छैन । राणा शासनलाई फाल्ने बि. सं. २००७ सालको क्रान्तिमा त्यो प्रयास भयो । तर त्यसका पक्षधर राम प्रसाद राई लगायतलाई लापत्ता बनाईयो र मारियो । पन्चायति शासन व्यवस्थालाई फाल्ने २०४७ सालको जनआन्दोलन र त्यसपछि उक्त बिचारलाई फाल्ने संगठित प्रयासलाई नजरअन्दाज गरियो । राजतन्त्रलाई फाल्ने २०६२/६३ को जनआन्दोलन र त्यसपछि संविधान सभा हुदै संविधान निर्माणको क्रममा पनि लामो समयदेखि देशलाई डोर्याईआएको बिचार (Driving ideology)  लाई फाल्न बि.सं. २०६४ को अन्तरिम संविधानले दिशा निर्देश गरेको थियो । त्यसलाई तुवाउन र अन्तरिम संविधानभन्दा पछि फर्किन पहिलो संविधान सभालाई अभिजातिय जत्थाले षडयन्त्रपुर्वक मार्ने काम गर्यो । दोस्रो संविधान सभाबाट सो जत्थाको अनुकुल हुने गरि परिवेशको निर्माण गरियो र बि.सं. २०७२ सालमा जाल झेल, तिकडम र छलछामका साथ प्रतिगमनकारी संविधान जारी गर्ने काम भयो ।
सबै राष्ट्रहरु, भाषीक तथा सांस्कृतिक समुहहरु, उत्पीडित समुदायहरुलाई न्याय, समानता र अविभेद कायम गर्नको लागी लडिएको हरेक परिवर्तनको लडाईमा अभिजातिय बर्गको बर्चस्प कायम राख्ने हिन्दुत्वको आधारमा राष्ट्र—राज्य निर्माण गर्ने बर्गिय तथा अभिजातिय ब्राह्मणवादी जातिवादी बिचार बाधककोरुपमा रहिआएको छ । यसले रुपमा विभिन्न व्यवस्था र शासकहरु परिवर्तन भएको देखाउछ तर सारमा उही पुरानै अभिजातिय ब्राह्मणवादी जातिवादी शासनलाई निरन्तरता दिईरहन्छ र दिईआएको छ । यसको उदाहरणको लागी बि.सं. २००७ को क्रान्ति, २०१९ को संविधान, बि.सं. २०४७ साल र २०६२/६३ को आन्दोलन र त्यसपछि बिं.सं २०७२ सालमा घोषणा गरिएको संविधानलाई हेरे पुग्छ भने ति हरेक आन्दोलन पछि बनेका राज्य शासन व्यवस्था, शासन संरचना, महंगो निर्वाचन प्रणाली र राज्यको संरचनालाई उदाहरणको लागी लिए पुग्छ । के ति व्यवस्था, शासन संरचना र राज्यसत्ताको स्वरुपले विभिन्न राष्ट्रहरु, भाषीक तथा सांस्कृतिक समुहहरु, उत्पीडित समुदायहरुलाई न्याय, समानता र अविभेद दिएको छ ? के भ्रष्ट्राचार, कुशासन, अनियमितता, गुण्डागर्दी, गरिवी, रोग भोक तथा अभावलाई अन्त्य गर्न सकेको छ ? यि कुराहरु अन्त्य होईन झन बढीरहेको छ । यसको अर्थ यसले रुपमा विभिन्न व्यवस्था र शासकहरु परिवर्तन गरेता पनि सारमा उही पुरानै अभिजातिय ब्राह्मणवादी जातिवादी शासनलाई निरन्तरता दिईआएको छ । यसैले, उक्त अभिजातिय ब्राह्मणवदी जातिवादी विचारलाई ध्वस्त गर्दै बैकल्पीक राज्य व्यवस्था, शासन संरचना तथा राज्य सत्ताको स्वरुपमा नगएसम्म यि बिषयहरुमा खासै परिवर्तन आउदैन ।

बर्तमान राजनीतिक संकटको जड
२०७२ सालको संविधानको अभ्यासको क्रममा यतिखेर प्रतिनिधी सभामा झण्डै दुई तिहाई बहुमत ल्याएको दलको प्रधानमन्त्रिले दलमा भएको आन्तरिक झगडाका कारण प्रतिनिधी सभा विघटन गरेको अवस्था छ । त्यसै कारणले सो दल २ भागमा विभाजन भएको छ । विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ र सुनुवाई भईरहेको छ । विभाजन भएका समुहहरुले सडकमा आन्दोलनका साथै आमसभाहरु गरिरहेका छन् र हदैसम्मको एक अर्कालाई गाली गलौज गर्ने काम गरिरहेका छन् । प्रतिपक्ष दलहरु पनि प्रतिनिधी सभा विघटनको विरुद्धमा सडक आन्दोलनमा नै छन् । राजावादी र राजावादी दलहरु भने यस विघटनको पक्षमा समर्थन गरिरहेका छन् । यो विघटन संवैधानिक या असंवैधानिक तथा प्रतिगमन हो भन्नेमा वाद विवाद तथा बहसहरु भईरहेका छन् । मानिस भेला गर्ने र धेरै देखाउने होडबाजी चलेको छ । सरकारले अध्यादेश ल्याउदै सबैधानिक अंगका पदाधिकारीहरुलाई सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्ति दिने काम धमाधम भईरहेका छन् ।
हाम्रो देशमा संसद विघटन गर्ने र देशलाई अस्थिरतातिर धकेल्ने काम घरि घरि किन भईरहन्छ भन्ने प्रश्न मुख्य भएर आएको छ । यसरी घरि घरि आईरहने राजनीतिक संकटको कारण के हो र यस्ता संकटका जड के हुन भन्ने प्रश्न उठ्नु स्वभाविक छ । यसैले, यि संकटका जड राजनीतिक प्रणाली, शासन प्रणाली र तिनलाई सन्चालन गर्ने डोर्याउने बिचारमा खोजिनु पर्ने हुन्छ । यस्ता समस्याहरुको मुख्य जड राजनीति, शासन व्यवस्था, शासन संरचना र राज्य सत्तालाई डोर्याउने बिचार (Ideology)  हो । हाम्रो देशलाई २५० बर्षदेखि हिन्दुत्वको स्वार्थ बोकेको अभिजातिय बिचार जसलाई ब्राह्मणवादी बिचार या ब्राह्मणवाद पनि भनिन्छ त्यसले सन् १७६८ देखि आजसम्म लगातार देश, शासन व्यवस्था, शासन र राज्य सत्तालाई डोर्याईरहेको छ ।
आजसम्मका राजनीतिक संकटहरु त्यसैका कारण आईरहेका छन । हिन्दुत्वको स्वार्थ बोकेको अभिजातिय बिचारको मुल्य भनेको लोभी, चाप्लुसी, तिकडमी, जाली झेली, नातावाद, कृपावाद, आत्मकेन्द्रित, ठुलो सानो ( Hierarchical ) जातिवादी, उपनिवेशकारी, बर्चस्पमुखी, विभेदी, अन्याय, असमानतामा आधारित मुल्य र मान्यता हुन । आजसम्म भएका राजनीतिक अस्थिरता पनि यिनै मुल्यका कारणले भएका छन् । प्रतिनिधी सभा विघटन गरि भईरहेको बर्तमानको लडाई पनि पद तथा राज्यसत्तामा बर्चस्पको लागी हो । बाहिर नाटकियरुपमा देखाउने कुरा जे जे भए पनि यसको अन्तरबस्तु भनेको पद तथा राज्यसत्तामा ओलाी या प्रचण्ड–माधव कस्को हुने भन्ने लडाई हो । यिनीहरुलाई जुन बिचारले डोर्याईरहेको छ त्यसले यस्तै गर्न उत्प्रेरित गर्दछ । यिनीहरुले लिएको भनिएको राजनीतिक बिचार तथा सिद्धान्त भनेको अरुलाई देखाउन, गफ गर्न र मुर्ख बनाउन मात्र हो भन्ने घट्नाहरुले देखाएको छ । चाहे गिरीजा प्रसाद कोईरालाले गरेको संसद विघटन होस् या मनमोहन अधिकारीले गरेको या केपी ओलीले या पन्चायतकालमा राजाले गरेको विघटन होस् ति सबै उनीहरुको अन्तरहृदयलाई डोर्याउने हिन्दुत्वको स्वार्थ बोकेको अभिजातिय ब्राह्मणवादी बिचारका कारण त्यस्ता घट्नाहरु घटेका हुन् । यसको अर्थ ब्राह्मणवादी अभिजातिय जत्थाको शासन सत्तामा पकड, बर्चस्प, एकाधिकार र सुदृढीकरण नै बर्तमान राजनीतिक संकटको जड हो जसले अभिजातिय जत्थाको एकाधिकारबाट ब्राह्मणवादी अभिजातिय जत्था भित्रको व्यक्तिलाई तानाशाह बनाउनेतिर लग्दछ । यसैले, देशलाई डोर्याउने यहि उपनिवेशकारी बिचार रहि रहे देशमा उपनिवेशलाई कायम राख्ने शासन व्यवस्था, शासन संरचा र राज्य सत्ता रहि रहे यस्ता घट्नाहरु फेरी पनि घट्छन त्यसमा आश्चर्य नमाने हुन्छ ।
हाम्रो देशमा आजसम्मको उपनिवेशिक राज्य व्यवस्था, उपनिवेशकारी राज्य संरचना, शासन र शासन संरचना तथा उपनिवेशकारी अर्थ व्यवस्थाहरु हिन्दुत्वको स्वार्थ बोकेको अभिजातिय ब्राह्मणवादी बिचारको अनुकुल हुने गरि निर्माण गरिएको छ । यसो भनौ ति व्यवस्था र संरचनाहरुले उक्त बिचारलाई अनुकुलता प्रदान गरेको छ । यसैकारण अभिजातिय शासकहरुले आफ्नो जत्थाको पकड र नियन्त्रण राख्न राज्य व्यवस्थामा, शासनमा र राजनीतिमा सुदृढीकरण गरेका छन् भने कथित राष्ट्रवाद र विकास एवम् सम्बृद्धिको नामबाट सो जत्थाको पकड तथा नियन्त्रण सुदृढ गर्दै गईरहेका छन् र अरुमाथी उपनिवेश कायम राख्न सफल भएका छन् ।
बरम्बारको राजनीतिक संकटको मोचन
एक वाक्यमा भन्नु पर्दा बारम्बार दोहोरिरहने यस्ता राजनीतिक संकटको मोचन भनेको हिन्दुत्वको स्वार्थ बोकेको अभिजातिय ब्राह्मणवादी बिचार र त्यसको उपनिवेशबाट मुक्ति हो । त्यस बिचारले अंगिकार गरेको मुल्य मान्यता भन्दा फरक मुल्य र मान्यताको आधारमा देशलाई चलाउनु पर्दछ भने बर्तमानको शासन व्यवस्था तथा राज्य सत्तालाई ध्वस्त गरि अहिलेको भन्दा भिन्न राज्य संरचना, भिन्न शासन व्यवस्था, भिन्न अर्थ व्यवस्थाको निर्माण गर्नु पर्दछ । त्यसको लागी उपनिवेशमा बाचीरहेका उत्पीडितहरुको नेतृत्वमा चौथो जनआन्दोलन गर्नुको विकल्प छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार