पहिरोले ५१, बाढीले २३ जिल्ला जोखिममा……

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन अवधिमा बाढी र पहिरोबाट १८ लाख ४ हजार ६ सय ९७ जना प्रभावित हुने आकलन गरेको छ । बाढीले १६ लाख ८७ हजार ४ सय ८० र पहिरोले १ लाख १७ हजार २ सय १७ जना प्रभावित हुने प्राधिकरणको अनुमान छ । यो वर्षको मनसुनमा पहिरोले ५१ जिल्ला प्रभावित हुने आकलन छ । बाढीका कारण तराईका २३ जिल्ला अति प्रभावित हुने प्राधिकरणको विश्लेषण छ । केही वर्षयता बाढीभन्दा पनि पहिरोजन्य विपद्का घटना बढेका छन् । गत वर्ष १ सय २० दिनसम्म रहेको मनसुनमा पहिरोका ४ सय ७५ र बाढीका ४ सय ३६ घटना भएका थिए । त्यस अवधिमा ३ सय ४७ जनाको ज्यान गएको थियो भने १ सय जना बेपत्ता भएका थिए । यो वर्ष मनसुन भित्रिएको ५ दिनमै देशभर सक्रिय हुँदा ठाउँठाउँमा विपत्ति निम्तिएको छ । मौसमविद्हरूका अनुसार नेपालमा सामान्यतया १० जुनमा मनसुन सुरु हुन्छ र २३ सेप्टेम्बरसम्म सक्रिय हुन्छ । यसपालि ११ जुन (२८ जेठ) मै पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेको हो । ‘पोखरा आसपासमा अति वर्षा भएको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, ‘एक सय मिलिमिटरभन्दा बढी वर्षा हुनु भनेको धेरै हो ।’ जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मनसुन प्रवेश भएकै दिन सिन्धुपाल्चोकको शेर्माथान क्षेत्रमा ११०.२ मिलिमिटर वर्षा भएको थियो । १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १ सय र २४ घण्टामा १४० मिमिलाई भारी वर्षा मानिन्छ । यस्तो किसिमको वर्षाले कमजोर भूगोल भएको क्षेत्रमा पहिरो निम्त्याउने जानकारहरू बताउँछन् । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को १९ औं सत्रले दक्षिण एसियाका धेरै भूभागमा यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने वैशाख १५ मा आकलन गरेको थियो । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् नरेन्द्रराज खनालले यसपालि मेलम्चीभन्दा माथिल्लो क्षेत्रका पुराना पहिरोमा वर्षापछि थप पहिरो जाँदा ढुंगा, माटो, रूखबिरुवासहितको लेदोले तल्लो तटीय क्षेत्र (मेलम्ची क्षेत्र) मा असर परेको बताए । ‘हिमताल फुटेर आएको हो कि भनेर मैले नक्सा हेरें,’ उनले बुधबार कान्तिपुरसँग भने, ‘माथिल्लो क्षेत्रमा ठूला हिमताल पनि देखिएनन्, फुटेको पनि छैन ।’ उनका अनुसार मेलम्चीभन्दा माथिका स्थानमा २०७२ सालको भूकम्पपछि धेरै ठाउँमा पहिरो आएको थियो । सिन्धुपाल्चोकका पहिरोबारे लामो समय अध्ययन गरेका खनालले भने, ‘एकै पटक पहिरो आएको होइन, पटक–पटकको पहिरो एकै पटक बगेपछि तल्लो तटीय क्षेत्रमा बबन्डर भएको हो ।’ मौसमविद् कँडेलका अनुसार मनसुन सुरु भएपछिका पाँच दिनमा गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका धेरैजसो स्थान तथा कर्णाली र वाग्मती प्रदेशका केही स्थानमा १ सय मिमिभन्दा बढी वर्षा भएको छ । गण्डकी प्रदेशको म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्लेमा २ सय मिमिभन्दा बढी वर्षा भएको छ । छोटो अवधिमा ठूलो परिमाणमा वर्षा भए पहिरोजन्य विपद् र फ्ल्यास फ्लड (आकस्मिक बाढी) को सम्भावना अत्यधिक हुन्छ । ‘मनाङमा भएको त्यही हो,’ कँडेलले भने । इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल मनसुनका बखत उपल्लो तटमा पहिरो जानु र खोला थुनिनु अनि बीचको तट र तल्लो तटमा बाढी आउनुलाई नियमित प्रक्रिया भन्छन् । ‘यो प्रक्रिया नेपालका लागि नयाँ हुँदै होइन,’ उनले भने, ‘त्यही भएर हाम्रो अध्ययन उपल्लो र तल्लो तटलाई समग्र रूपमा जोड्ने खालको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएका हौं ।’ श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार