खोप नआए डेल्टा प्लस झनै भयावह……

खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो । डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ । ‘हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,’ स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।’ डेल्टा प्लस भेरिएन्ट कोभिडको तेस्रो लहरको ट्रिगर (उत्प्रेरक) हुने उच्च सम्भावना रहेको नागासाकी विश्वविद्यालयका प्राध्यापक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको भनाइ छ । डेल्टा प्लस भेरिएन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुन सक्ने उच्च सम्भावनापछि यसको उच्च संक्रामकतासँगै कोषमा भाइरस टाँसिन सक्ने क्षमतासमेत प्रमुख छ । खोप लगाएर वा प्राकृतिक रूपमा संक्रमण भएर शरीरमा उत्पन्न एन्टिबडीको प्रभावकारिता डेल्टा प्लस भाइरसले कम गराउन सक्छ तर मुलुकमा खोपको अभाव जारी रहेका कारण यसले झनै भयावह अवस्था निम्त्याउन सक्ने औंल्याउँदै डा. पाण्डेले भने, ‘डेल्टा प्लसले बालबालिकादेखि बूढापाकासम्म सबै उमेर समूहलाई संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता देखिएकाले समयमै सचेतता आवश्यक छ ।’ विज्ञहरूका अनुसार धेरै संक्रामक रहेको डेल्टा प्लस फोक्सोको कोषिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्‍याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत माथ दिन सक्षम देखिएको छ । भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अन जिनोमिक्स (आईएनएसएसीओजी) का अनुसार डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोषिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ । मुलुकमा डेल्टा प्लसबाट संक्रमित नौ जनामा बालबालिका र वृद्धसमेत छन् । अधिकारीका अनुसार डेल्टा प्लसबाट संक्रमित नौ जना निको भइसकेका छन् तर हाल दोस्रो लहरमा केही कमी आएकै समय निषेधाज्ञा खुकुलो गरिएपछि आम नेपालीको देखिएको व्यवहारले तेस्रो लहर चाँडो आउने सम्भावना देखिएको समेत उनको भनाइ छ । डेल्टा प्लससहित हालसम्म नेपालमा ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट देखिएको छ । डा. पौडेलका अनुसार पहिलो लहरको भाइरसभन्दा सय प्रतिशतभन्दा बढी संक्रामक डेल्टा भेरिएन्ट हालसम्म ६४ वटा नमुनामा देखिसकिएको छ । यस्तै भेरिएन्ट अफ इन्टरेस्टका रूपमा रहेको कप्पा भेरिएन्ट (बी.१.६१७.१) समेत नेपालमा देखिसकिएको हो । कप्पा भेरिएन्ट पहिलो लहरको भाइरसको दाँजोमा २८ देखि ८९ प्रतिशतसम्म बढी संक्रामक देखिएको छ । हालसम्म मुलुकमा ४१३ नमुनामा कप्पा भेरिएन्ट देखिएको थियो । हाल मुख्य रूपले नेपालमा कप्पा देखिएको छैन तर डेल्टा, डेल्टा प्लस, कप्पा सबैको सर्ने दर उच्च छ । यी भेरिएन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको डा. पौडेलको भनाइ छ । हालसम्म डेल्टा प्लस भेरिएन्ट नेपाल, भारत, अमेरिका, ब्रिटेन, क्यानाडा, पोल्यान्ड, जापान, पोर्चुगल, रुस, स्विट्जरल्यान्ड, टर्की गरी ११ मुलुकमा पाइएको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘हाल मुलुकमा देखिएको स्वास्थ्य सुरक्षा अपनाउन हेलचक्य्राइँ र खोपको उपलब्धता सुनिश्चित हुन नसक्नुले कोभिडको तेस्रो लहर ल्याउन सहज हुन्छ । यसमा पनि डेल्टा प्लस भेरिएन्टले उत्प्रेरकको काम गर्न सक्ने सम्भावना छ ।’ मुलुकमा दुई महिनाभित्र तेस्रो लहर आउने सम्भावना रहेको उनले बताए । ‘भारतको महाराष्ट्र राज्यको स्वास्थ्य विभागले पछिल्लो साता दिएको प्रेजेन्टेसनअनुसार डेल्टा प्लस महाराष्ट्रमा तेस्रो लहरको कारण बन्न सक्नेछ,’ उनले भने । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार