एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइँदै…..

काठमाडौँ — कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन । विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन । पलिसार्वेट औषधि र मेकअपजस्तो उत्पादनमा पाइने सामान्य घटक हो । यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी छ । खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्घ ६६.९ प्रतिशत प्रभावकारिता देखिएको छ । एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले कान्तिपुरसँग भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक सातापछि थाहा हुन्छ ।’ कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । ‘यो खोप अमेरिकी सरकारले कोभाक्सलाई दिने र कोभाक्सको कोटाअन्तर्गत हामीकहाँ आउने हो,’ उनले भने । जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन । कोभाक्स सुविधाबाटै अस्ट्राजेनेकाको कोभिसिल्ड खोप जुलाई महिनाभित्र नेपाललाई दिने जानकारी आएको डा. पोख्रेलले बताए । यो खोप कति मात्रा दिने हो भन्नेबारे हालसम्म यकिन भएको छैन । अस्ट्राजेनेकाको खोप आउनासाथ पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइनेछ । ६५ वर्षमाथिकाका लागि गत वर्ष फागुन २३ देखि सुरु भएको खोप अभियानअन्तर्गत करिब १३ लाख ६० हजार जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । उनीहरूले दोस्रो मात्रा लगाउन पाएका छैनन् । विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ । अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले भारतमा ‘कोभिसिल्ड’ को नाममा उत्पादन गरिरहेको छ । कोभाक्स सुविधाअन्तर्गत हालसम्म नेपालले ३ लाख ४८ हजार मात्रा ‘कोभिसिल्ड’ खोप पाएको छ । कोभिसिल्ड खोप भारतसँग २० लाख खरिद गरिएकामा हालसम्म आधामात्रै नेपालले पाएको छ । भारतले अनुदानमा छुट्टै १० लाख मात्रा खोप दिएको थियो । ‘पहिले जस्तै न्यूनतम साढे तीनदेखि १५ लाख मात्रासम्ममा कति दिने हो यकिन भएको छैन, कोभाक्सलाई जति उपलब्ध हुन्छ, त्यसअनुसार नै हामीले पाउने हो । कोभाक्स सुविधाबाट उपलब्ध गराइने अस्ट्रेजेनेकाको खोपको मात्राअनुसार यसलाई ६५ वर्षमाथिका ज्येष्ठ नागरिकमा समेत उच्च उमेरकालाई सबैभन्दा पहिलाको रणनीतिअनुसार दोस्रो मात्रा लगाइने डा. पोख्रेल बताउँछन् ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार