प्रधानन्यायाधीश जबराले ‘ग्रेसफुल एक्जिट’को प्रस्ताव…..

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को मार्गचित्र सर्वोच्च अदालतका तीन जना न्यायाधीशसँग ‘सेयर’ गरेका छन् । प्रधानन्यायाधीश जबराले ‘ग्रेसफुल एक्जिट’को प्रस्ताव पठाएपछि त्यसबारे छलफल गर्न तोकिएका तीन जना न्यायाधीशसँग उनले आफ्नो योजना बताएका हुन् । सोमबार साँझ ६ बजे न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार गएका थिए । उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलमा सहभागी न्यायाधीशहरूले जबराको योजनाबारे सबैभन्दा पहिले मंगलबार बिहान सर्वोच्चका बाँकी न्यायाधीशलाई जानकारी गराउने भन्दै ‘प्रेस’ लाई बताउन अस्वीकार गरे । न्यायाधीश मल्लले प्रधानन्यायाधीशसँग ‘ग्रेसफुल एक्जिट’ को योजना के हो भन्नेबारे छलफल भएको बताइन् । ‘उहाँले आफ्नो प्रस्तावबारे हामीलाई बताउनुभएको छ तर त्यसको विषयवस्तु मैले अहिले भन्न मिल्दैन, भोलि (मंगलबार) बिहान ११ बजे सर्वोच्च अदालतका न्यायाधीशहरूलाई अनिल सिन्हा श्रीमान्ले हाम्रोतर्फबाट त्यो कुरा राख्नुहुनेछ,’ उनले भनिन्, ‘त्यसपछि मात्रै यो विषय सार्वजनिक हुनुपर्छ । होइन भने हामीले सहजकर्ताको भूमिकाबाट समस्यालाई जसरी समाधान गर्न खोजेका छौं, त्यो गर्न सक्दैनौं । प्रधानन्यायाधीश जबराले आइतबार ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव पठाएपछि उनीसँग छलफल गर्न गएका न्यायाधीशहरूले विश्वासको वातावरण बनाउन जबरालाई आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशलाई पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र तोक्न आग्रह गरेका थिए । त्यसैअनुसार सोमबार पेसी तोकिएपछि १०जना न्यायाधीशले ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरे । मंगलबार पनि त्यसरी नै पेसी तोकिए मुद्दाको सुनुवाइ गर्ने, अन्यथा इजलासमा नजाने सर्वोच्चका अन्य दुई जना न्यायाधीशहरूले कान्तिपुरसँग बताए । ती न्यायाधीशहरूका अनुसार उनीहरूले सिन्हा, मल्ल र शर्मालाई आफूहरूको बटमलाइन प्रधानन्यायाधीशलाई बताउन भनेका छन् । जबराले चाहेको ‘ग्रेसफुल एक्जिट’ के हो, त्यो परिभाषित हुनुपर्‍यो, उनले न्यायालयको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेकाले उनीसँग हाम्रो थप सहकार्य हुन सक्दैन । उनले आफ्ना लागि मुद्दा तोके वा बाँकी न्यायाधीशलाई बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा तोके भने इजलास बस्दैन,’ ती न्यायाधीशले भने, ‘तीन जना साथीहरूले प्रधानन्यायाधीशलाई २४ घण्टाभित्र राजीनामा दिएर जाऊ भन्न मिल्दैन, हामीलाई वार्ता गर्ने उपयुक्त समय दिनुहोस् भनेका छन् । त्यसमा हामी सकारात्मक नै छौं तर दाउपेच गर्ने र समय लम्ब्याउने अवसरका रूपमा उपयोग गर्न खोजे भने हामी मान्दैनौं । सर्वोच्चका अर्का एक न्यायाधीशले प्रधानन्यायाधीशले ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव पठाएअनुरूप उनलाई त्यसको अवसर दिन आफूहरू सोमबारको इजलासमा बसेको बताए । ‘प्रधानन्यायाधीशको प्रस्तावमा हामीले गर्न सक्ने सहयोग यही हो, इजलास बसेर त्यसका लागि वातावरण बनाइदिएका छौं, अब उनले सम्मानजनक बहिर्गमन लिनुपर्‍यो,’ उनले भने, ‘छलछाम गर्ने, तिकडम गरेर समय कटाउने मात्र प्रयास हुन्छ भने हामीलाई मान्य हुँदैन । प्रधानन्यायाधीश जबरासँग छलफलमा जुटेका न्यायाधीशहरू सिन्हा र शर्मा सम्पर्कमा आउन चाहेनन् । न्यायाधीश मल्लले एकसाथ दुई वटा उद्देश्यले आफूहरूले छलफललाई निरन्तरता दिएको बताइन् । ‘न्यायिक स्वच्छता, स्वतन्त्रता र न्यायालयप्रतिको जनआस्थालाई कायम राख्नुपर्ने जिम्मेवारी एकातर्फ छ,’ उनले भनिन्, ‘अर्कोतर्फ न्यायाधीशको उत्तरदायित्व र सेवाग्राहीप्रतिको जिम्मेवारी तथा उनीहरूलाई परेको असरलाई पनि सम्बोधन गर्दै न्यायिक स्वच्छतालाई निरन्तरता दिनुपर्ने जिम्मेवारी हामीले सहकर्मी न्यायाधीशहरूबाट पाएका छौं । त्यसैलाई ध्यानमा राखेर छलफल भएको छ । मंगलबार बिहान उहाँहरू सबैलाई प्रधानन्यायाधीशको योजनाबारे बताउँछौं । त्यसपछि हामी सामूहिक रूपमा एउटा निर्णयमा पुग्छौं । हामी एक भएर समाधानको उपाय खोज्नुपर्छ । मंगलबार इजलास बस्छ कि बस्दैन भन्ने प्रधानन्यायाधीश जबराले कसरी पेसी तोक्छन् भन्नेमा निर्भर हुने देखिन्छ । त्यस्तै उनले खोजेको ‘ग्रेसफुल एक्जिट’ र त्यसमा न्यायाधीशहरूबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने पनि मंगलबारको छलफलपछि स्पष्ट हुनेछ । जसबाट सर्वोच्च न्यायालयमा देखिएको संकटले कुन बाटो लिन्छ भन्ने पनि तय हुनेछ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार