महाधिवेशनबाट शक्ति फर्काउने चुनौती…..

काठमाडौँ — माओवादीको सातौं महाधिवेशन (२०६९ माघ) मा हेटौंडामा भइरहेका बेला देशमा संविधानका विषयवस्तुमा भीषण संघर्ष भइरहेको थियो । माओवादी र मधेसी एकातिर, कांग्रेस र एमाले अर्कोतिर । माओवादी सबभन्दा ठूलो राजनीतिक दल रहेको संविधानसभा संविधान बनाउन नसकी विघटन भइसकेको थियो । तर माओवादीका सयौं नेता, हजारौं कार्यकर्ता ‘विद्रोहको राप र ताप’ बोकेर हेटौंडामा भेला भएका थिए । हुप्रा चौरमा सातौं महाधिवेशन भव्य उद्घाटन गरेको माओवादीले बन्द भएको हेटौंडा कपडा उद्योगमा बन्दसत्र गर्दा देशमा उत्सुकता थियो । हेटौंडा महाधिवेशनले पार्टी र देशको समृद्धिका लागि के कस्ता नीति लिएको थियो भन्ने सम्झना स्वयं माओवादी नेतृत्वलाई नै छैन । तर, अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा प्रस्तुत गरेको तत्कालिक नीतिअनुरूप सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर देश चुनावमा गएको थियो । तर आठौं महाधिवेशनमा न त्यस्तो रौनक छ न उत्सुकता । राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा बढुवा गरेर माओवादीले ‘मौन’ महाधिवेशन आइतबार सुरु गरेको छ । हेटौंडा महाधिवेशन जस्तो प्रतिनिधिको भीडभाड यसपालि छैन, सातौं महाधिवेशनमा सात हजार प्रतिनिधि थिए, यसपालि १६८१ मात्रै सहभागी छन् । ठूला राजनीतिक कार्यक्रम होइन, विचार गोष्ठीहरू हुने राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशन उद्घाटन गर्दै दाहालले ‘क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि निर्मम’ नीति लिने दाबी गरेका छन् । तीन दशक बढी पार्टीको नेतृत्वमा रहेका दाहालले आफने राजनीतिक प्रतिवेदनमा आत्मसमीक्षा, आत्मालोचना गरेको बताए । ‘विचार संगठन रणनीति कार्यनीतिमा कहाँ चुक्यौ । सबभन्दा बढी आत्मसमीक्षा मेरै गरेको छु । मैले प्रमुख नेताका हैसियतले मभित्र नै खोज्नुपर्छ,’ उनले भने, ‘हामी कहाँ आइपुगेका छौं । हाम्रा चुनौती के छन् ? सामना कसरी गर्ने ? विषय छन् । दाहालले भनेजस्तै उनले राजनीतिक प्रतिवेदनमा आत्मालोचना गरेको विषयमा कसैलाई पनि शंका छैन । तर नीति र नेतृत्वको समीक्षा आफैं गर्ने, तिखो आत्मालोचना गर्ने र आफूले आफैंलाई थप जिम्मेवारी दिने उनको पुरानै शैली हो । यही शैलीअनुसार उनले नेताहरूलाई पनि पद विभाजन गर्नेछन् । अध्यक्ष दाहाल र सिंगो माओवादीले लिने नीति कति कार्यान्वयन होला भन्नेबारे स्वयं माओवादी नेतामा नै कौतुहल छैन । खुट्टा हेरेर जुत्ता बनाउने कि जुत्ता हेरेर खुट्टा ?’ एक नेताले भने, ‘अध्यक्ष आफ्नो अनुकूल हुने गरी नीति बनाउनु हुन्छ न कि जनतालाई अनुकूल हुने गरी ।’ हुन पनि महाधिवेशन उद्घाटनकै दिन बिहान विधान संशोधन गरेर माओवादीले एक वरिष्ठ र ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र तीन सचिव बनाउने भएको छ । स्थायी कमिटीका सबै नेतालाई पुग्ने गरी पद सिर्जना गर्न माओवादीले विधान संशोधन गरेको हो ।

दाहालको राजनीतिक प्रतिवेदनमा सोमबार बन्दसत्रमा प्रस्तुत हुनेछ । माओवादीको टुटफुट र वैचारिक अस्पष्टताका कारण कमजोर धरातलमा उभिएको महाधिवेशनले आगामी दिनका लागि भने बलियो रणनीति बनाउने नेतृत्वको दाबी छ । ‘समाजवाद उन्मुख समृद्धि हुँदै सामाजिक विकास र न्यायको नयाँ युगतर्फ देशलाई लैजाने, यो देशको सबै उत्पीडित जाति, क्षेत्र, समुदायका हक अधिकारलाई सुरक्षित गर्ने के उपाय हुन सक्छ ? भन्ने विषयमा नयाँ र परिमार्जित कार्यनीति र रणनीति प्रस्तुत गरिएको छ,’ दाहालले आफ्नो कार्यदिशाबारे बताए । सत्ता र शक्तिमा आएपछि माओवादी आधारभूत वर्गबाट टाढिँदै गएको गुनासो छ । सशस्त्र संघर्ष गर्नुअघि र त्यसपछि श्रम शिविर गरेर आकर्षित गरेका माओवादी पछिल्लो समय श्रम नगरी लाभ लिने अवस्थामा पुगेको दाहालको प्रतिवेदनमा छ । ‘यो संविधानमा जे परिकल्पना गरेका छौं, पहिले आफैं बदलिनुपर्छ । पार्टी बदलिनुपर्छ । जनतासँग जोडिने श्रमसँग जोडिने काम गर्नुपर्छ र उत्पादन श्रम र संस्कृति अभियान सुरु गर्नुपर्छ,’ दाहालले अघि सारेको नीतिमा उल्लेख छ । माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले महाधिवेशनले राजनीतिक कार्यदिशाका रूपमा चार काम गर्ने बताए । उनले राजनीतिक कार्यदिशामा ‘समाजवाद उन्मुख एक्काइसौं शताब्दीको स्पष्ट मोडेल’ सहित तत्कालीन काम अघि सार्ने बताए । ‘पार्टीलाई विधि पद्धतिमा चलाउनुपर्‍यो । सामूहिक ढंगले चलाउनुपर्‍यो । व्यक्तिवाद गुटवादविरुद्ध जानुपर्‍यो,’ उनले भने । माओवादीमा भ्रष्टीकरणको प्रभावबाट मुक्त पार्ने गरी छलफल हुने उनको भनाए छ । ‘समाज भ्रष्टीकरणको प्रभाव हाम्रो पार्टीमा पनि छ । त्यसलाई रूपान्तरण गर्नुपर्छ,’ उनले थपे । शोषित पीडित वर्ग र जनतासँग सम्बन्ध घट्दै गएको छ । दलाल नोकरसाहीसँग सम्बन्ध बढ्दै गएको छ । त्यसलाई समीक्षा गरेर आमजनतासँग सम्बन्ध गाढा गराई उनीहरूको हित हेर्नुपर्छ,’ श्रेष्ठले भने । उनले महाधिवेशनले यी विषयमा केन्द्रित भएर नीति तय गर्ने तयारी भएको जानकारी दिए । ‘यी काम गर्न सक्यौं भने क्रान्तिकारी पार्टी बनाउन सक्छौं । समृद्धि र समाजवादको नेतृत्व गर्न सक्छौं,’ उनले भने, ‘हैन भने यो पार्टीको औचित्य नै गुमाउँछौं । यसलाई सम्बोधन गर्नुपर्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार