मेलम्चीको पानी चैतभित्र काठमाडौँ नआउने…..

काठमाडौं-  मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुगेको थियो । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो । मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । तर, यसअघि आयोजनाले यही महिना अर्थात् चैत भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने जनाएको थियो । हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ । नयाँ परियोजना भएको भए समय तोक्न सकिन्थ्यो, तर यो पुरानो परियोजना हो । त्यसमाथि प्रभावित आयोजनाको मर्मतको काम भएकाले यति नै समयमा पानी आउँछ भन्न सकिने अवस्था रहँदैन,’ मेलम्ची खानेपानी आयोजना प्रमुख विष्णुदेव पौडेलले भने, ‘सकभर छिटो मर्मत गर्ने र पानी आपूर्ति नियमित गर्ने प्रयासमा छौँ । पौडेलका अनुसार खासगरी बाढीको प्रभाव आयोजनाको टनेल (पानी पठाउने सुरुङ) र हेडवर्क्समा परेको छ । टनेलको भित्रसम्म गेग्य्रान, ढुङ्गा, माटो तथा फोहोरहरू थुप्रिँदा सफाइमा समय लागेको पौडेलले बताए । ठाउँ साँघुरो छ, एकैपटक धेरै जनशक्ति खटाएर काम गर्न सकिने अवस्था पनि छैन । निश्चित प्राविधिक सहितको टोलीले अहिले मेसिन लगाएर आयोजना प्रभावित क्षेत्रको लेदो तथा गेग्य्रान हटाउने काम गरिरहेको छ । बाँकी काम गन हेडवर्क्स नै खोल्नुपर्ने भएकोले अहिले हामी यसमा लागिरहेका छौँ,’ पौडेलले रातोपाटीसँग भने ।

क्षति विवरण लिनै मुस्किल:-

क्षति पश्चात अनुमति लागतमा आयोजना मर्मतको काम अघि बढाइए पनि अहिलेसम्म मेलम्ची खानेपानीको आयोजनाको वास्तविक क्षति विवरण पत्ता लगाउन सकिएको छैन । मर्मत गर्दै जाँदा थप समस्या देखा पर्ने र सो को समेत मर्मत गर्नुपर्दा समस्या भएको पौडेलको भनाइ छ । एउटा समस्या समाधान गर्न लाग्यो, त्यसैमा अर्को समस्या आइलाग्छ । त्यसको पनि समाधान गर्न लाग्यो–फेरि अर्को समस्या निम्तिन्छ । मर्मत सकिँदासम्म क्षतिको कति लागत आउँछ भन्ने नै यकिन भएन । यद्यपि, निकै संयमित ढङ्गले काम अघि बढाइरहेका छौँ,’ पौडेलले भने । पानी हाल्ने टनेलको मुखैमा करिब २० फिट अग्लो गेग्य्रान तथा लेदो थुप्रिएको छ । गेग्य्रानभित्र ठुला–ठुला ढुङ्गासमेत रहेकाले सो अवरोध हटाउन समय लागेको पौडेल बताउँछन् । बाढी पहिरोका कारण खानेपानी आयोजनामा करिब ३० करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । क्षतिको आधारमा मेलम्ची खानेपानी आयोजनाको निर्माण ठेक्का समेत पाएको सिन्हो हाइड्रो कम्पनीलाई नै सरकारले पुनः ३१ करोडमा मर्मत ठेक्का दिएको हो ।

८ महिना नपुग्दै उतै रोकियो मेलम्ची:-

दुई दशकभन्दा बढी समय लगाएर काठमाडौँ भित्र्याइएको मेलम्चीको पानी ८ महिना पनि नपुग्दै पुनः उतै (सिन्धुपाल्चोकमै) रोकिएको छ । सिन्धुपाल्चोकको मेलम्ची, याङ्री र लार्के खोलाको गरी कूल ५१ करोड लिटर पानी सुरुङमार्फत दैनिक काठमाडौँमा वितरण गर्ने गरी निर्माण थालिएको आयोजना अघिल्लो चैतमा मात्र सम्पन्न भएको थियो । करिब ३५ अर्ब रुपैयाँ लागतमा सम्पन्न मेलम्ची खानेपानी आयोजनामार्फत २०७७ चैत १५ गते काठमाडौँमा पानी झारिएको थियो । पहिलो चरणमा दैनिक १७ करोड लिटर र दोस्रो चरणमा याङ्री र लार्के खोलाको समेत थपेर कूल ५१ करोड लिटर पानी दैनिक रूपमा काठमाडौँमा आपूर्ति गर्ने लक्ष्य लिइएको थियो । तर, उद्घाटन भएको ८ महिना पनि नपुग्दै गत बर्खामा चलेको बाढीपहिरोले आयोजनामा क्षति पुगेको हो । हाल यस आयोजनाको मर्मतको कार्य तीव्र रूपमा भइरहेको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । आयोजनाको कूल लागत ३५ अर्ब रुपैयाँमध्ये ३३ प्रतिशत नेपाल सरकारले, ४६ प्रतिशत लागत एसियाली विकास बैंक (एडीबी) र बाँकी ३.१ प्रतिशत अन्य दातृनिकायहरूले लगानी गरेका हुन् । पछिल्लो पटक बाढी पहिरोका कारण मर्मत गर्नु परेपछि आयोजनाको लागत थप बढ्ने भएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार