दाहालपुत्री रेनुको पक्षमा माहोल बनाउन देउवाको दौडधुप…..

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर पुगेका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेललाई निस्क्रिय बनाउने र सिंगो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन् । बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन् । कांग्रेसका पुराना नेता पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि दाहालपुत्रीको चुनावी यात्रा जटिल बनेको छ । पौडेलको उम्मेदवारी नै फिर्ता गराउन देउवाले गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठलाई भरतपुर पठाएका थिए । तर अन्तिम दिन पनि उम्मेदवारी फिर्ता नभएपछि वैशाख १७ मा दुवै मन्त्री फर्किएका थिए । त्यस्तै उम्मेदवारी निष्क्रिय बनाउन देउवाले नेता शंकर भण्डारीलाई पनि भरतपुर पठाएका थिए । तर पनि सार्थक परिणाम नआएपछि देउवा आफैंले भरतपुरमा आवासीय कार्यक्रम मिलाएका हुन् । विराटनगरबाट नेपाली सेनाको जहाज चढेर साँझ पौने ६ बजे भरतपुर विमानस्थल ओर्लेका उनी त्यहाँबाट निजी गाडीमा भरतपुरको सिराइचुली होटल गएका थिए । उक्त होटलमा राज्यमन्त्री उमेश श्रेष्ठको लगानी छ । कांग्रेसले सभापति देउवालाई प्रमुख वक्ता तोकेर देशका १० स्थानमा चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ, जसअन्तर्गत भरतपुरमा बिहीबार सभा राखिएको छ । उक्त सभालाई पाँचदलीय संयुक्त सभाका रूपमा रूपान्तरण गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले पनि सम्बोधन गर्नेछन् । तर देउवा अघिल्लो दिन नै भरतपुर आइपुग्नुको मुख्य उद्देश्य भने कांग्रेसको असन्तुष्टि मत्थर पार्नु र स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी ‘निष्क्रिय’ पार्नु रहेको कांग्रेसका नेताहरू बताउँछन् । देउवानिकट एक नेताका अनुसार उम्मेदवारी फिर्ता लिने समय सकिए पनि विज्ञप्तिमार्फत पौडेलका तर्फबाट रेनुलाई समर्थन गराउने अन्तिम प्रयास हुनेछ । कांग्रेसका चितवन सभापति राजेश्वर खनालले पनि प्रधानमन्त्री देउवाले पौडेललाई भेट्ने सम्भावना रहेको जानकारी दिए । ‘कार्यतालिकामा समावेश नभए पनि भेटघाट हुन सक्छ ।’ स्वतन्त्र उम्मेदवार पौडेलले प्रधानमन्त्री देउवा चितवन आउन लागेको थाहा पाए पनि भेटघाटबारे कुरा नभएको बताए । ‘म दिनभर प्रचारमा व्यस्त छु, प्रधानमन्त्रीजी आउने कुरा समाचारमा पढेको हुँ,’ उनले भने, ‘वार्ता या अरू केही विषय हो भने साथीहरूसँग सल्लाह गरेर जान सकिन्छ । देउवाको गृहजिल्ला डडेलधुरामा कर्णबहादुर मल्ल समूहले बागी उम्मेदवारी दिएर गठबन्धनविरुद्ध अभियान चलाइरहेको छ । तर उनलाई गृहजिल्लाभन्दा भरतपुरको बढी चिन्ता देखिन्छ । चितवनमा रेनुले हार्दा सत्ता गठबन्धन कमजोर हुने र आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेलको सम्भावना घट्ने देउवाको बुझाइ छ । त्यसैले उनले भरतपुरलाई चुनावी केन्द्रमा राखिएको उनीनिकटको भनाइ छ । प्रधानमन्त्री देउवा होटल पुगेलगत्तै नेता–कार्यकर्ताको भीड लागेको थियो । पौडेलको पक्षमा खुलेर लागेका नेता–कार्यकर्ता भने त्यहाँ देखिएनन् । ‘बुधबार साँझ र बिहीबार बिहान स्थानीय नेता–कार्यकर्तासँग भेटघाटको कार्यक्रम भएको छ, त्यसपछि चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ,’ चितवन सभापति खनालले भने, ‘यसले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न सघाउनेछ । सभापति देउवाको निर्देशनमा तीन दिनसम्म भरतपुर बसेका कांग्रेस नेता शंकर भण्डारी निर्वाचनका क्रममा भएका समस्या र कमजोरी पहिचान गरेर समाधानको प्रयास भएको बताउँछन् । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार मैले यहाँ रहँदा कांग्रेसका नेता–कार्यकर्तासँग भेटघाट गर्ने, पार्टीभित्र र गठबन्धन दलबीच संयुक्त बैठक बसेर रणनीति बनाउने काम गरें,’ भन्छन्, ‘कुनै पनि हालतमा चुनाव जित्ने वातावरण निर्माण गर्न कांग्रेसमा एकमत हुँदै गएको छ । सभापति खनाल पाँचदलीय गठबन्धनको जिल्लास्तरीय निर्वाचन परिचालन समितिको संयोजक भए पनि उनको ध्यान सम्पूर्ण रूपमा भरतपुरमा केन्द्रित छ । भरतपुरका नगर सभापति चित्रसेन अधिकारी उपप्रमुखमा उम्मेदवार बनेका कारण कार्यवाहक सभापतिको हैसियतले नगरस्तरीय संयुक्त निर्वाचन परिचालन समितिको संयोजक बुद्धिकान्त न्यौपाने छन् । तर भरतपुर महानगरमा माहोल निर्माण गर्ने अभियानको नेतृत्व जिल्ला सभापतिले गरिरहेका छन् । रेनु दाहालमाथिको जोखिम कम गर्न पाँचदलीय गठबन्धनले जिल्लामा वडासम्मै तालमेल गरेको छ । चितवनका ७ पालिकामा रहेका ९८ वडामध्ये केहीबाहेक सबैमा गठबन्धनबीच भागबन्डा मिलाइएको छ । कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा कांग्रेसले उम्मेदवारी पाएका छन् । त्यस्तै भरतपुर महानगरपालिका र माडी नगरपालिकामा माओवादी केन्द्र र राप्ती नगरपालिकाको नेतृत्वको उम्मेदवारी एकीकृत समाजवादीले पाएका छन् । जिल्लाभर कांग्रेसले ५७, माओवादी केन्द्रले २८ र एकीकृत समाजवादीले ११ वडाको नेतृत्व लिएका छन् । बाँकी वडाको नेतृत्व कसले लिने भन्नेबारे अझै मिलाउने प्रयास भइरहेको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र (आरसी) अधिकारीले बताए । भरतपुरका २९ वडामध्ये कांग्रेसले १९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले ४ मा उम्मेदवारी दिएका छन् । सभापति खनालले पछिल्लो समय गठबन्धनका पक्षमा माहोल सुदृढ हुँदै गएको दाबी गरे पनि स्वतन्त्र उम्मेदवार पौडेलले आफ्नो अडान छाडेका छैनन् । उनको पक्षमा केही पुराना नेता खुलेर लागेका छन् । पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा र टीकाराम न्यौपाने, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महासमिति सदस्य मीना खरेल र नेपाल तरुण दलका संस्थापक जिल्ला अध्यक्ष शम्भु अर्याल खुलेरै सक्रिय छन् । पौडेलको उम्मेदवारीको समर्थकसमेत रहेकी खरेलले चुनावी अभियानमा हिँड्दा व्यापक लहर बढेको र अब कसैले चाहेर वा अनुरोध गरेर फिर्ता हुने अवस्था सकिएको बताइन् । केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ गठबन्धनको चुनावी अभियानमा हिँडेका छैनन् । कोइराला काठमाडौंमा र गुरुङ भरतपुरमा छन् । भरतपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्र र कांग्रेसबीच अन्तिम समयमा तालमेल भएको थियो । उतिबेला प्रमुखमा मनोनयन दर्ता गराएका दिनेश कोइरालाको उम्मेदवारी केन्द्रबाटै फिर्ता गरिएको थियो । त्यसैले यस पटक कांग्रेसले महानगर प्रमुख पाउनुपर्ने दबाब चितवनका कांग्रेस नेता–कार्यकर्ताले गरेका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार