करोडौंको सामान बाटैमा अलपत्र…..

काठमाडौँ — भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ । भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीं खोलिए पनि निर्यातमा कडाइ छ । अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगण्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ । नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पुर्‍यायो । मितेरी पुलबाट करिब ५ सय मिटर पर चिनियाँ भूभाग पुगेर आफ्ना सामान ल्याउनसमेत दिएन । त्यस्तै नेपालले २०७२ असोजमा संविधान जारी गरेपछि भारतले दक्षिणी नाकाबाट हुने व्यापारमा अघोषित नाकाबन्दी लगाउँदा पनि चीनले नाकाबाट सामान आयातनिर्यात सहज बनाएन । अप्ठेरोमा परेको नेपालले तातोपानी नाका सञ्चालन गर्न अनुरोध गर्दा पनि चीनले सुनेन । बाढीपहिरो र कोभिड बहानामा प्रायः बन्द हुने नाका खोलेको बेला पनि कति कन्टेनर पठाउने भनेर चिनियाँ अधिकारीले तजबिज प्रयोग गर्दै आएका छन् । दिनमा ५–७ कन्टेनर पठाएपछि अचानक सिमानामा गेट लाग्छ । यसरी व्यावसायिक रूपमा खरिद गरेका सामानलाई सुरक्षित रूपमा गन्तव्यमा जान दिन सहयोग गर्नुपर्नेमा चीनको अव्यावसायिक व्यवहारले नेपाली व्यापारी मर्कामा छन् । व्यवसायीले करोडौं लगानीमा खरिद गरेको सामान बाटैमा अलपत्र रहेका बेला नाका पटकपटक बन्द गरिन्छ, अहिले पनि बन्द छ । सीमानाका आपसी समझदारीमा खुल्ने र बन्द हुनुपर्ने हो । तर, अन्तर्राष्ट्रिय नाका चीनले किन खोल्छ र किन बन्द गर्छ भन्ने सामान्य जानकारी व्यापारी मात्र होइन, नेपाली अधिकारीलाई पनि हुँदैन । तातोपानी भन्सार प्रमुख नारद गौतमले नाका बन्द हुने र खुल्ने औपचारिक सूचना आफूहरूलाई नहुने बताउँछन् । भन्छन्, ‘व्यवसायीले बन्द भयो भनेका छन् । स्याउ, लसुन, प्याज, नास्पातीजस्ता वस्तु कुहिन लागेको गुनासो गरेका छन्, कहिले खुल्छ वा खुल्दैन हामी भन्न सक्दैनौं । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार