रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश…..

काठमाडौं-    राजनीतिक यात्राको आधा दशकमै मार्ग परिवर्तन गरेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पुगेका छन् । वैकल्पिक राजनीतिको शंखघोषसहित पत्रकारिता छोडेर राजनीतिमा हामफालेका मिश्र अन्ततः ‘कन्जर्भेटिभ’ पार्टी राप्रपामा पुगेका छन् । साझा पार्टी खोलेर राजनीति थालेका मिश्र आधा दशकमा पार्टी एकता र विभाजन दुवैको साक्षी बने । विवेकशील साझाबाट आफ्नो राजनीतिक भविष्य नदेखेपछि उनी घुमिफिरी ‘दरबारिया कित्ता’मा समाहित भएका छन् । मिश्र राजनीतिक भविष्य खोज्दै बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत विधिवत रुपमा राप्रपामा प्रवेश गरे । उनी मंसिर ४ को निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ०७४ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतले पराजित तत्कालीन विवेकशील साझाका अध्यक्ष मिश्र यसपटक राप्रपाबाट चुनाव लड्दै छन् । नेकपा एमालेको समर्थन जुटाएर चुनाव जित्ने उद्देश्यसहित मिश्र चुनावको मुखमा राप्रपामा प्रवेश गरेको तथ्य लुकेको छैन ।​

रवीन्द्र मिश्रको ‘वैकल्पिक राजनीति’ घुमीफिरी ‘दरबारिया’ 

​तर मिश्र राप्रपामा प्रवेश गर्नुले राजनीतिक रुपमा खासै अर्थ नराख्ने राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक प्रा.डा लोकराज बराल रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्नुको अर्थ नरहेको बताउँछन् । ‘रवीन्द्र मिश्रजी टेस्ट भइसक्नुभयो । आफैले बनाएको पार्टीलाई भताभुङ्ग पारेर राप्रपामा जोडिनु भएको छ,’ उनी भन्छन्, ‘पुराना राजावादी एकजुट हुन खोजेका हुन् । त्यसको मानक केही पनि छैन ।’ बराललाई मिश्रका कारण जनतामा राप्रपाको खास प्रभाव पर्छ भन्ने लाग्दैन । उनका अनुसार राप्रपाको २–४ प्रतिशत मत पहिले देखिनै छ र राप्रपालाई आउने त्यही हो । उनले भने, ‘रवीन्द्रजी राप्रपामा गएर दुईचार सिट परिवर्तन हुने मलाई लाग्दैन । रवीन्द्र मिश्रजीको त्यस्तो क्रेज छैन । अहिले बालेन्द्र शाह नै राप्रपामा गए पनि जनताले यो पनि मण्डले रहेछ भन्छन् ।’ जनतामा मूल्यांकन गर्ने क्षमता रहेको उनको भनाइ छ । ‘जनताको गुनासो नेता र पार्टीसँग हो, गणतन्त्र र समावेशीतासँग होइन नि,’ बराल भन्छन् । यस्तै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले पनि राप्रपामा रवीन्द्र मिश्रको प्रवेशको खासै अर्थ नभएको बताए । यसले राजनीतिमा दीर्घकालीन रुपमा खासै अर्थ नराख्ने उनको विश्लेषण छ । ‘यो दुई–चार दिनको रमाइलोमात्र हो । यसको त्यत्रो अर्थ हुन्छजस्तो मलाई लाग्दैन । राप्रपाले दलगत संस्कार र संस्कृति बोकिसकेको छैन,’ उनी भन्छन्, ‘गैरदलीय संस्कारबाट भेला भएका र कांग्रेस कम्युनिस्ट आदि बन्न नसकेका मानिसहरुको एउटा भिड हो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार