खाद्यवस्तु किलोमै ३०० रुपैयाँसम्म वृद्धि : दसैं…..

काठमाडौँ — नेपाली समाजमा एउटा भनाइ छ– ‘दसैं हुने खानेका लागि उत्साह र उमंग, हुँदा खानेका लागि दशा ।’ चाडबाडले सबैलाई छुन्छ तर कमजोर आर्थिक अवस्था भएकालाई सधैं कसरी एकसरो लुगा फेर्ने र केही छाक भए पनि मीठो मसिनो खानेकुरा जुटाउने चिन्ताले सताउँछ । अनियन्त्रित रूपमा भइरहेको चर्को मूल्यवृद्धिका कारण मध्यमस्तरको आयस्रोत भएका परिवारसमेत दसैंले ऋण थोपर्ने पिरलोमा छन् । सरकारले भने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकलाई राहत दिन चासो दिएको छैन । सरकारी तथ्याङ्कले नै वाञ्छित लक्ष्य कटाएर मूल्यवृद्धि उकालो लागिरहेको देखाउँछ । सरकारले गत वर्ष मूल्यवृद्धि ६ प्रतिशत कट्न नदिने लक्ष्य राखेको थियो । तर राष्ट्र बैंकको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा मूल्यवृद्धि ६.३२ प्रतिशतले बढ्यो । त्यसमा पनि खाद्य तथा पेय पदार्थमा २६.१३ प्रतिशत, घिउ, तेलमा ९.९१ प्रतिशत र दाल तथा गेडागुडीमा ९.८४ प्रतिशत मूल्यवृद्धि थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र खाद्य तथा पेय पदार्थको मूल्य ७.११ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । खुद्रा व्यापार संघका अनुसार एक वर्षको अवधिमा खाद्यवस्तुको मूल्य किलोमै ३ सय रुपैयाँसम्म बढेको छ । उपभोक्ता हित संरक्षण मञ्चले गरेको सर्वेक्षणमा पछिल्लो दुई सातामा ३३ प्रतिशतसम्म मूल्य बढेको पाइएको छ । ‘भदौको इन्डिकेटर लिएर असन, बानेश्वर, कलंकी र बालाजु क्षेत्रको मूल्य संकलन र विश्लेषण गर्दा अत्यधिक मूल्यवृद्धि भएको देखियो,’ मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘सरकारी अनुगमन खुद्रामा मात्रै केन्द्रित भयो । मञ्चका अनुसार दुई साताअघि २० किलोलाई १३ सय रुपैयाँ पर्ने सोना मन्सुली चामल अहिले १६ सय ५० छ भने पोखरेली चामल १८ सयबाट बढेर १९ सय रुपैयाँ पुगेको छ । किलोको १ सय ७० रुपैयाँ पर्ने केराउको मूल्य बढेर २ सय, १ सय २० रुपैयाँ पर्ने ताइचिन चिउरा बढेर १ सय ४०, आँटा ६० रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । प्रतिलिटर २ सय ८५ रुपैयाँ पर्ने सूर्यमुखी तेल ३ सय, तोरीको तेल ३ सय ७० बाट बढेर ३ सय ९०, भटमासको तेल २ सय ५० बाट २ सय ६० रुपैयाँ पुगेको छ । ‘संयुक्त बजार अनुगमन प्रभावकारी हुनुपथ्र्यो । तर, अनुगमन उपस्थिति देखाउनलाई मात्रै भयो,’ मञ्च अध्यक्ष बानियाँले भने, ‘अनुगमन भए पनि बजारमा सुधार छैन, व्यापारी सच्चिएका छैनन् । खुद्रा व्यापार संघका अनुसार नेपाली घिउ, खोर्सानी, जिरा, चामल, धनियाँ पाउडर, केराउ, सिमी, तेललगायत सबैको मूल्य बढेको छ । घिउ लिटरमै ३ सय रुपैयाँ बढेर १२ सय पुगेको छ । खोर्सानी पाउडर ४ सयबाट ५ सय रुपैयाँ, जिरा पाउडर ४ सय ५० बाट ६ सय रुपैयाँ, धनियाँ पाउडर २ सय ५० बाट बढेर ३ सय ५० रुपैयाँ पुगेको छ । ‘मूल्य बढ्नुमा खुद्रा व्यापारी जिम्मेवार छैनन्,’ संघका महासचिव अमुलकाजी तुलाधरले भने, ‘उत्पादक, होलसेलले मूल्य बढाएपछि खुद्राले बाध्य भएर बढीमा बेच्नुपरेको हो ।’ उनले बजार अनुगमन सानालाई मात्रै भएको गुनासो गरे । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार