एमाले-माओवादी सत्ता साझेदारीमा संशय…..

काठमाडौँ — प्रतिनिधिसभाबाट विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । कांग्रेसले विश्वासको मत दिएपछि माओवादीसँग पुस १० मा भएको समझदारी कार्यान्वयन नहुने हो कि भन्ने संशय एमाले वृत्तमा उत्पन्न भएका बेला दाहाल र ओलीबीच बुधबार भेटवार्ता भएको हो । बुधबार साँझ बालकोटस्थित ओली निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल । करिब दुई घण्टा एक्लाएक्लै भएको वार्ता समझदारी पालना गर्दै सत्ता गठबन्धन बलियो बनाउने विषयमा केन्द्रित भएको स्रोतले जनाएको छ । एमालेले राष्ट्रपति र सभामुख तथा माओवादीले प्रधानमन्त्री लिने समझदारीअनुसार माओवादी अध्यक्ष दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई पूर्ववर्ती पाँचदलीय गठबन्धनको ठूलो दल कांग्रेसले समेत विश्वासको मत दिएको छ । राष्ट्रपति पदमा माओवादीको समर्थन पाउने अपेक्षा राखेर कांग्रेसले विश्वासको मत दिएको अड्कलबाजी भइरहेको छ । एमाले अध्यक्ष ओलीले नै मंगलबार संसद्मा कांग्रेसको विश्वासको मतप्रति संशय व्यक्त गरेका थिए । आपसी आशंका मेटाउन नै बुधबार शीर्ष दुई नेताले भेटवार्ता गरेको स्रोतको भनाइ छ । दाहाल गोरखाको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रम सकेर बुधबार बेलुका सिधै बालकोट पुगेका थिए । त्यहाँ उनले समझदारी पूर्ण रूपमा कार्यान्वयन हुने प्रतिबद्धता जनाएको बालकोट स्रोतले जनाएको छ । दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धन कसिलो बनाउँदै सरकारलाई पूर्णता दिने विषयमा दुई नेताबीच कुराकानी भएको छ । ‘बिहीबार मन्त्रालयको भागबन्डा टुंगोमा पुर्‍याउने कुरा छ,’ उनले कान्तिपुरसित भने, ‘गठबन्धनमा आशंका गर्नुपर्ने कुनै कारण छैन ।’ बिहीबार सत्ता साझेदार सात दलको बैठक बस्ने तयारी छ । एमालेले राष्ट्रपति पूरा कार्यकाल लिने तथा प्रधानमन्त्री र सभामुख पदमा माओवादीसँग आलोपालो गर्ने समझदारी छ । यसबीचमा मुख्यमन्त्री र प्रदेश सभामुख–उपसभामुखमा भागबन्डा गरेका सत्ता साझेदार दलले तत्काललाई उपराष्ट्रपति, प्रतिनिधिसभाको उपसभामुख, मन्त्रालय र प्रदेश प्रमुख पद बाँडफाँट गर्न बाँकी छ । एमाले र माओवादीका कतिपय नेताले राष्ट्रपति पद एमालेलाई नदिन चलखेल सुरु भइसकेको दाबी गरेका छन् ।  साभार : इका

कुन दलको कुन मन्त्रालयमा दाबी ?

माओवादी : परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, शिक्षा

एमाले : रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

राष्ट्रिय स्वतन्त्र पार्टी : श्रम, रोजगार तथा सामाजिक, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या

राप्रपा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन

जसपा : परराष्ट्र, सहरी विकास तथा गरिबी निवारण

जनमत पार्टी : उद्योग वाणिज्य तथा आपूर्ति

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार