याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ सार्वजनिक

  सुकमाया तुम्रुक

३० वैशाष २०८०,

काठमाडौँ । साहित्यकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोको आतिथ्यमा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, बरिष्ठ गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा सार्वजनिक गरेका हुन् ।

 

सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा?’ कथासंग्रह याक्थुङ (लिम्बू) मानक भाषामा स्तरीय र समाजमा भूइँतहमा रहेका पात्रहरू, दबिएका, थिचिएकाहरूको कथा रहेका छन् ।

संग्रहित कथाले याक्थुङ (लिम्बू) जाति, संस्कृति, परम्परा, परिवर्तनशील समय, जनविश्वास र आधुनिक पुस्ताप्रति सचेतनाका विषय उजागर गर्नुको साथै तत्कालीन सशस्त्र द्वन्द्वकालमा याक्थुङ (लिम्बू)  भाषा र सिरिजंगा लिपिका अभियन्ता युवती माओवादी भएको आशंकामा राज्य पक्षबाट मारिएको दर्दनाक कथाले देशको परिवेशलाई उजागर गरेको छ ।

कथाले लिम्बुवान भूमिको माटोको सुगन्ध बोकेको छ, याक्थुङ (लिम्बू) मुन्धुम संस्कार संस्कृतिमात्र होइन पहिचानलाई जीवन्त तुल्याएको छ । सिरिजंगा लिपिका माध्यमबाट याक्थुङ (लिम्बू) भाषामा लिखित संग्रहमा १२ वटा कथा छन् । सामाजिक, सांस्कृतिक, राजनीतिक विषयवस्तु समेटिएको यो कथासंग्रहले याक्थुङ (लिम्बू) साहित्यलाई नयाँ मोडतर्फ डोर्‍याएको वक्ताहरुले उल्लेख गरे ।

किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा सार्वजनिक गरिएको हो । पाँचथरमा रहेर मातृभाषा साहित्य सिर्जना अभियानमा संलग्न साहित्यकार लोवाको यसअघि ‘तङ्अम्भुङ्’ र ‘याग्राङ्सिङ’ कवितासंग्रह प्रकाशित छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार