अन्तरिक्ष अन्वेषणमा चीनको अर्को फड्को…..

काठमाडौँ — अन्तरिक्षमा कसले दह्रो पकड बनाउने भन्ने दौडमा अमेरिका र चीन प्रतिस्पर्धामा छन् । सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा बनाएर इतिहास रचिसकेको छ । बुधबार चीनले नयाँ इतिहास रचेको छ । मिथेन र लिक्विड अक्सिजनबाट चल्ने संसारकै पहिलो रकेटको सफलतापूर्वक प्रक्षेपण उसले गरेको हो । एक चिनियाँ निजी कम्पनीले रकेटको सफल प्रक्षेपण गरेसँगै मिथेनबाट चल्ने रकेट निर्माणमा सफलता हासिल गरेको हो । इलन मस्कको स्पेस एक्स र जेफ बेसोजको ब्लू ओरिजिनलाई चिनियाँ कम्पनी ल्यान्डस्पेसले पछि पारेको छ । चीनको यो घोषणा यस्तो बेला आएको छ, जतिबेला उसले सन् २०३०मा चन्द्रममा मानिस पठाएर स्याम्पल ल्याउने योजना सार्वजनिक गर्‍यो । बुधबार नै उसले यो योजना सार्वजनिक गरेको थियो । उक्त मिसनमा यही रकेट प्रयोग हुने घोषणा भइसकेको छ । स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे ‘झुचे–२ क्यारियर रकेट’ जिउक्वान लन्च सेन्टरबाट सफलतापूर्वक प्रक्षोपण गरिएको छ । यो प्रक्षेपण सेन्टर चीनको उत्तर पश्चिमी स्थानको मंगोलिया क्षेत्रमा अवस्थित छ । चीनले लन्च गरेको यो रकेट दोस्रो पटकको प्रयासमा सफलता हासिल गरेको हो । पहिलो प्रयास सन् २०२२ को डिसेम्बरमा भएको थियो तर सफल हुन सकेन । राजधानी बेइजिङमा रहेकको ल्यान्डस्पेस कम्पनीले चिनियाँ अन्तरिक्ष कार्यक्रम अन्तर्गतको अग्रणी निजी कम्पनीको रुपमा मानिन्छ । चीनले सन् २०१४ देखि मात्रै निजी कम्पनीहरुलाई अन्तरिक्षमा लगानी गर्ने बाटो खुला गरिदिएको थियो । जसमा ल्यान्डस्पेस सुरुवातदेखि नै काम गर्दै आएको छ । अप्रिलमा बेइजिङकै टियानबिङ टेक्नोलोजीले मट्टितेल–अक्सिजनलाई इन्धनको रुपमा प्रयोग गरेर रकेटको सफल प्रक्षेपण गरेको थियो । चीनले सन् २०३० मा चन्द्रममा दुई वटा रकेट पुर्‍याउनका लागि यही इन्धन प्रयोग हुने रकेट जाँदै छन् । जसमा एउटा रकेटले चन्द्रमाको कक्षसम्म लुनार ल्यान्डर पुर्‍याउने र अर्को रकेटले अन्तरिक्षयात्रीहरुलाई छाड्ने छ । दुवै रकेट चन्द्रामाको कक्षमा पुगेपछि अन्तरिक्षयानलाई डकिङ–टाँसिने) गरेर चिनियाँ अन्तरिक्षयात्रीहरु लुनार ल्यान्डरमा प्रवेश गर्ने चिनियाँ योजना छ । जसमा उनीहरू लुनार ल्यान्डरमार्फत चन्द्रमको सतहमा पुगेर स्याम्पलहरू लिएर पृथ्वी फर्कनेछन् । मिथेन–लिक्विड अक्सिजन रकेट प्रोपलेन्टको रुपमा मिथेल र लक्विड अक्सिजनको प्रयोग हुन्छ । यसमा मिथेन इन्धनको रुपमा र लिक्विड अक्सिजन अक्सिडाइजरको रुपमा प्रयोग हुन्छ । मिथेन इन्धनको रुपमा प्रयोग हुने भएकाले यसलाई मिथालोक्स पनि भन्ने गरिन्छ । पराम्परागत प्रक्षेपणमा प्रयोग गरिने सिद्धान्त र पद्दति एउटै भए पनि यस किसिमको इन्धन प्रयोग गर्ने रकेटको प्रोपलेन्ट र केही डिजाइनहरु फरक हुन्छन् । परम्परागत रुपमा प्रयोग हुने रकेटमा आरपी–१ फ्युल र लिक्विड हाइड्रोजनको प्रयोग हुँदै आएको छ । आरपी–१ को विकल्पमा अहिले हाइड्रोजन त्यसपछि पाराफिन इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । इलन मस्को फाल्कोन हेभी रकेटले आरपी–१ प्रयोग गर्छ । यसलाई रकेट ग्रेड किरोसिन पनि भन्ने गरिन्छ । डेल्टा–४ हेभी रकेटले लिक्विड हाइड्रोजन इन्धनको रुपमा प्रयोग गर्छ । यी इन्धनहरूको उत्पादन र रिफाइन गर्न धेरै खर्च र समय लाग्ने भएकाले केही महँगो र खर्चिलो हुन्छ । मिथेन प्राकृतिक रुपमा सहज रुपमा उत्पादन गर्न सजिलो हुने भएकाले पनि सस्तो पर्छ । प्राकृतिक अवस्थामा पनि पाइने मिथेनलाई अन्य विभिन्न तरिकाबाट पनि निकाल्न सकिन्छ । उच्च ऊर्जा घनत्व, राम्रोसँग बल्न सक्ने र सजिलै उपलब्ध हुनसक्ने भएकाले यसको सम्भावना धेरै नै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । रकेट फ्युलमा मिथेनको प्रयोग धेरै नै फाइदाजनक मानिन्छ । जस्तो कि लिक्विड हाइड्रोजन र आरपी–१ भन्दा कम प्रदूषण गराउँछ र सुरक्षित, सस्तो र पुनःप्रयोग हुने भएकाले यसलाई उपयुक्त प्रपोलेन्ट मानिन्छ । पहिलो अन्तरिक्षयात्री निल आर्मस्ट्रङ, बज एड्रिनलाई बोकेको स्याटर्न–५ रकेटमा करिब २० लाख लिटर मट्टितेल(रिफाइन किरोसिन–१ अर्थात आरपी–१) र लिक्विड अक्सिजन अक्सिडाइजरको रुपमा प्रयोग भएको थियो । अन्तरिक्षमा जानका लागि सबैभन्दा महत्वपूर्ण भनेको रकेटमा प्रयोग गरिने इन्धनको रसायनिक अवस्था हो । त्यही भएर सस्तो सुलभ र उपयोगी इन्धनमा मुलुकहरूले जोड दिएका छन् । सन् २०२० मा चीनले मानवरहित एउटा मिसन चन्द्रममा पठाएर स्याम्पलहरू ल्याएको थियो । त्यसबेला चीन अमेरिका र रुसपछि चन्द्रमाबाट स्याम्पल ल्याउने तेस्रो मुलुक बनेको थियो । चीनले निर्माण गरेको यो रकेटको प्रक्षेपणसँगै चीनको सन् २०३०को मिसन सफल हुने अनुमान गर्न सकिन्छ । बुधबार लन्च भएको रकेटले चन्द्रमाको सन सिनक्रोनस अर्बिट(एसएसओ)मा एउटा पे–लोड पनि छाडेको छ । अर्थात्, सूर्यको सापेक्षमा एउटा स्थिर स्थितिमा राखिने वस्तु । यस्तो हुँदा सधैँ एउटै स्थानमा उक्त वस्तु घुम्ने गर्छ । अर्थात् कुनै दिन बेइजिङको आकाशमाथिबाट त्यो यानमाथि देखियो भने त्यस समयमा सधैं त्यही स्थान माथिबाट देखिन्छ । एसएसओ अर्बिटमा हुने यानले कुनै एउटा स्थानलाई एकै समयमा हेर्ने गर्दा समयसँगै भएका परिवर्तनहरूलाई विश्लेषण पनि गर्न मद्दत गर्छ । कुनै समय चिनियाँ नेता माओत्से तुङले ‘एउटा आलु पनि अन्तरिक्षमा पुर्‍याउन नसक्नेले कसरी विश्व शक्ति बन्छ’ भन्ने कटाक्षले चीनले मिसाइल र आणविक कार्यक्रमलाई बढावा गरेको मानिन्छ । सन् १९९९ मा उसले पहिलो पटक अन्तरिक्षमा मानवरहित आफ्नो यान पठाएको थियो । चिनियाँ अन्तरिक्ष कार्यक्रममार्फत सन् २००३ मा पहिलो पटक आँफै अन्तरिक्षयात्री बनाउने तेस्रो मुलुक बनेपछि अमेरिका र रसियापछि अन्तरिक्षमा आफ्नै भू–भागबाट अन्तरिक्ष यात्री पठाउने पहिलो मुलुक बनिसकेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार