अकासियो मूल्यवृद्धि, १० महिनायताकै उच्च…..

काठमाडौँ — गत भदौमा मुलुकको मूल्यवृद्धि दर औसत ८.१९ प्रतिशत छ । यो पछिल्लो १० महिनायताकै उच्च हो । मरमसला, चिनी तरकारी दूध, मनोरञ्जन, घरायसी उपकरणलगायतको मूल्य बढेपछि गत भदौमा समग्र मूल्यवृद्धि ८ प्रतिशतभन्दा माथि पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । विश्व बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपालमा रहे पनि त्योभन्दा बढी आन्तरिक आपूर्ति पक्षका कारण नेपालको मूल्यवृद्धि अकासिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘अहिलेको मूल्यवृद्धि समष्टिगत माग बढेरभन्दा पनि आपूर्ति पक्षमा देखिएको व्यवधानका कारण सिर्जित देखिन्छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘अब आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने देखिन्छ । नेपालको कुल व्यापारको करिब ६२ प्रतिशत हिस्सा भारतसँग छ । पछिल्ला महिनामा भारतको मूल्यवृद्धि निरन्तर घटिरहेको छ । तर ती महिनामा नेपालको मूल्यवृद्धि भने निरन्तर बढ्दो छ । यसले नेपालको आपूर्ति प्रणाली व्यवस्थित हुन नसक्नुका साथै कालोबजारी र बिचौलियाको प्रभुत्व बढेकाले मूल्यवृद्धि अकासिँदै गएको जानकार बताउँछन् । गत भदौको मूल्यवृद्धि राष्ट्र बैकको वार्षिक लक्ष्यभन्दा १.६९ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षको भदौमा यस्तो मूल्यवृद्धि ८.६४ प्रतिशत थियो । चालु आर्थिक वर्षमा नेपालमा मूल्यवृद्धि दर ६.५ प्रतिशतभित्रै कायम राख्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । गत वर्ष पनि राष्ट्र बैंकले मूल्यवृद्धि दर वार्षिक लक्ष्यभित्र राख्न सकेको थिएन । गत आर्थिक वर्षको औसत मूल्यवृद्धि ७.७४ प्रतिशत थियो । चालु आर्थिक वर्षको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७४ र गैरखाद्य तथा सेवा समूहको ६.९९ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको मूल्यवृद्धि (वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक) ४५.४६, चिनी तथा चिनीजन्य वस्तुको १७.८६, तरकारीको १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८, दुग्ध पदार्थ तथा अन्डाको १२.६० र रेस्टुरेन्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ । तर सोही अवधिमा घिउ तथा तेलको मूल्यवृद्धि १३.०८ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५, विविध वस्तु तथा सेवाको १२.२१, शिक्षाको ९.१०, घरायसी उपयोगका वस्तुहरूको ८.११ र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.५९ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर सोही अवधिमा यातायात क्षेत्रको मूल्यवृद्धि दर ०.१८ प्रतिशतले घटेको छ ।’ काठमाडौं उपत्यकाको तुलनामा उपत्यका बाहिर (हिमाल, पहाड र तराई) मा मूल्यवृद्धि उच्च रहेको पनि प्रतिवेदनमा उल्लेख छ । गत भदौमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ९.८३, तराईको ७.०३, पहाडको ८.०९ र हिमालको ११.३२ प्रतिशत छ । ०७९ भदौमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ७.७२, तराईको ९.३३, पहाडको ८.८२ र हिमालको ६.६८ प्रतिशत थियो ।

सवा दुई खर्ब रेमिट्यान्स:

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा (साउन र भदौ) रेमिट्यान्समार्फत २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २२.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।’ गत भदौमा मात्र १ खर्ब १२ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको छ । गत साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका १२ महिनामध्ये गत मंसिरदेखि भदौसम्म (१० महिना) हरेक महिना १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । यद्यपि गत साउनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । बढ्दो रेमिट्यान्स, घट्दो आयातलगायत कारण अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक अर्थतन्त्रका समस्या ज्युँका त्युँ रहेकाले आर्थिक गतिविधिमा देखिएको शिथिलता कायमै छ । गत भदौ मसान्तसम्म राष्ट्र बैंकमा रहेको सरकारका विभिन्न खातामा १ खर्ब ९२ अर्ब (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकको तथ्यांक छ । ०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार