द्रुत मार्ग सुस्त तर संरचना भव्य…..

काठमाडौँ — काठमाडौं–तराई मधेश द्रुत मार्गको काम सुस्त भए पनि सुरुङ र पुलका लागि भव्य संरचना निर्माण भइरहेका छन् । समग्र भौतिक प्रगति ३१ प्रतिशत हाराहारी रहे पनि सुरुङ निर्माणको काम भने तीव्र गतिमा भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण गर्न व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको ६ वर्षमा समग्र आयोजनाको प्रगति ३०.९६ प्रतिशत पुगेको छ । तर, यही आयोजनाअन्तर्गत निर्माण भइरहेका ६ वटा सुरुङ मार्गको भौतिक प्रगति भने ६७.४३ प्रतिशत छ । अहिले तीनवटा सुरुङको निर्माण जारी छ । सडक मार्गमा सबैभन्दा लामो दूरीको सुरुङ पनि यहीं बन्दै छ । उक्त मार्गमा पर्ने लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किमिका ३ वटा सुरुङ निर्माणाधीन छन् । महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको छ । अब १.४०५ किमि मात्र बाँकी छ । त्यस्तै धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.१७३ किमि सुरुङ खन्ने काम सकिएको छ । १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमि खनिसकिएको आयोजनाले जनाएको छ । ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब २.०९ किमि मात्र खन्न बाँकी छ । पछि थप भएका सुरुङमा देवीचौर १ किमि, सिसौटार ०.३९ र चन्द्राम सुरुङ २.२५ किमि छन् । ८ नम्बर प्याकेजको ‘ख’ र १० नम्बर प्याकेजमा जमिनको बनावट बलियो नभएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको हो । खोकना–निजगढ ७०.९७७ किमिमा ६ वटा सुरुङको दूरी मात्रै १०.०५५ किमि छ । चन्द्राम भीर सुरुङ मार्गको प्रारम्भिक चरणको निर्माण सुरु भइसकेको छ । प्याकेज नम्बर ८ अन्तर्गतको देवीचौर र सिसौटार सुरुङ मार्ग निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरी आर्थिक मूल्यांकनको चरणमै रहेकाले खरिद सम्झौता सम्पन्न गरी २०८१ वैशाखबाट सुरु गरिने योजनाले जनाएको छ । यी सुरुङ निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन र पोली च्याङ्दाले लिएका छन् । चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ निर्माणको ठेक्का पनि लिएको छ । पोली च्याङ्दाले धेद्रेदेखि लेनडाँडासम्म ठेक्का लिएको छ । ठेक्का सम्झौता २०७८ वैशाख ३१ मा भएको थियो । निर्माणाधीन लेनडाडा सुरुङको आगामी ०८१ वैशाख, धेद्रेको ०८१ जेठ र महादेवटार सुरुङको ०८१ असोजमा म्याद सकिँदै छ । उक्त अवधिभित्रै सुरुङ निर्माण सक्ने गरी काम भइरहेको आयोजनाको दाबी छ । चाइना स्टेटले २१ अर्ब ६१ करोड र पोली च्याङ्दाले २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । फास्ट ट्र्याकमा सुरुङ निर्माणमा राम्रो प्रगति रहेको पूर्वसचिव अर्जुनजंग थापाले बताए । आगामी असोजभित्र तीनवटा सुरुङको ब्रेक थ्रु गर्ने तयारी छ,’ सडक विभागमा महानिर्देशकका रूपमा समेत काम गरिसकेका उनले भने, ‘पहिला सुरुङ बने पुल निर्माणमा सहयोग पुग्नेछ, निर्माण सामग्री ल्याउन सहज हुनेछ ।’ सुरुङ निर्माणमा पर्याप्त सुरक्षा अपनाउन भने जरुरी रहेको उनको सुझाव छ । सुरुङ निर्माणको काम धमाधम भइरहेको सहायक रथी एवं सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘डीपीआर संशोधन पछि थप भएका ३ वटा सुरुङमध्ये एउटाको निर्माण सुरु भएको छ र अरू दुईवटा ठेक्का प्रक्रियामा छन्,’ उनले भने, ‘आयोजनाको महत्त्वपूर्ण पाटो सुरुङ र पुल निर्माण हो, जसको निर्माण सन्तोषजनक छ, सुरुङ निर्माण सम्पन्न भएपछि समग्र आयोजनाको प्रगति पनि बढ्नेछ ।’ फास्ट ट्र्याकमै पुलको मात्र दूरी १२.८८५ किमि रहनेछ । सडक मार्ग भने ४८.०३७ किमि रहेको छ । ८९ वटा पुल निर्माण हुनेछन् । १६ वटा विशेष प्रकृतिका पुल बन्नेछ, जसमा १० देखि ८१ मिटर अग्ला पुल बन्नेछन् । प्याकेज नम्बर ३ अन्तर्गत पर्ने राजदमार क्षेत्रमा ५ वटा पुल निर्माण भइसकेको सेनाले जनाएको छ । प्याकेज १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका २८०२ फाउन्डेसन पाइलमध्ये १६६५ वटा पाइलको निर्माण सम्पन्न भएको प्रवक्ता भण्डारीले बताए । पूर्वसचिव थापाका अनुसार फास्ट ट्र्याकमा ८१ मिटरसम्मका अग्ला पुल निर्माण भइरहेका छन् । ‘यति अग्ला पक्की पुल अहिलेसम्म नेपालमा निर्माण भएका छैनन्, यसअघि नारायणगढ–मुग्लिङ सडकको जलबिरेमा ३१ मिटर अग्लो पुल निर्माण गरिएको छ,’ उनले भने, ‘यति ठूलो पुल बनाउन चुनौती भए पनि फास्ट ट्र्याकमा अग्ला र आकर्षक पुल निर्माण भइरहेका छन् । सुरुङ मार्गको सबैभन्दा बढी खण्ड मकवानपुरमा पर्छ । सेनाले उपलब्ध गराएको तथ्यांकअनुसार ललितपुरमा ९ किमि, काठमाडौंमा ४.६ किमि, मकवानपुरमा ४९.७७ किमि र बारामा ७.६ किमि पर्छ । निर्माण थालेको ६ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरेर यसको दूरी घटाइएको हो । गत साउन ३० मा बसेको मन्त्रिपरिषद् बैठकले डीपीआर संशोधन गर्न स्वीकृति दिएसँगै ललितपुरको खोकनादेखि बाराको निजगढसम्मको दूरी ७०.९७७ किमि कायम भएको छ । यसअघि उक्त खण्डको दूरी ७२.५ किमि थियो । यो सुरुङ मार्गलाई १३ वटा क्लस्टरमा विभाजन गरेर ठेक्का गर्ने प्रक्रिया जारी छ । अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको छ । प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ मा पुनः बोलपत्र आह्वान भएको र अहिले आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा रहेको सैनिक प्रवक्ता भण्डारीले बताए । ११ नम्बर प्याकेजमा पर्ने खोकना क्षेत्रको जग्गा विवाद नटुंगिएकाले ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन । १ देखि ७ नम्बरसम्म प्याकेजमा ठेक्का भएर पुल निर्माणको काम जारी छ । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाखमा सेनालाई दिएको हो । जस अनुसार ०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने हो । उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ थियो । म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ । अहिलेसम्म समग्र आयोजनाको प्रगति कम रहेकाले थपिएको समयमा पनि काम सकिनेमा आशंका उब्जिएको छ । पूर्वाधारविज्ञहरूका अनुसार फास्ट ट्र्याक निर्माण भएर सञ्चालनमा आए उक्त मार्गमा दैनिक ५ हजार बढी सवारी साधन गुड्नेछन् । वार्षिक इन्धन बचत १० अर्ब र सवारी मर्मतमा १५ अर्ब रुपैयाँ बचत हुने आकलन गरिएको छ । त्यस्तै दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने पारवहन मार्गका रूपमा विकसित हुने हुँदा यसको छुट्टै रणनीतिक महत्त्व रहेको विज्ञहरूको भनाइ छ । फास्ट ट्र्याक निर्माण भएपछि निजगढबाट १ घण्टा २ मिनेटमा राजधानी आइपुग्न सकिनेछ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार