शरणार्थी, सुन र सहकारी ठगी दीपेशलाई सर्वत्र उन्मुक्ति…..

काठमाडौं, बुटवल, पोखरा — भुटानी शरणार्थी, सुन तस्करी वा सहकारी ठगी । देशका कुनै पनि बदनाम प्रकरणमा सधै नाम जोडिएर आउने एउटा नाम हो– दीपेश पुन । तर उनीमाथि गम्भीर अनुसन्धान भएको छैन किनकि उनी सत्तारूढ माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव हुन् । त्यति मात्र होइन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराको हैसियतमा बेथिति मच्याएका उनलाई सबैजसो खतमा माफीजस्तै छ । भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा अरू नेताका छोराहरू पनि मुछिएका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश । प्रतीक फरार छन् भने सन्दीप जेलसमेत परे । तर, दीपेशमाथि सूक्ष्म अनुसन्धान नगरी उन्मुक्ति दिइएको छ । जबकि शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तद्वय इन्द्रजित राई र सन्दीपले अनुसन्धानका क्रममा दीपेशको पनि नाम लिएका थिए । शरणार्थी प्रकरणको अनुसन्धान गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसबेला पक्राउ परेका केही प्रतिवादीले दीपेशको नाम किटेका थिए । त्यहीबेला अर्का अभियुक्त प्रतीक फरार भए,’ ती अधिकृत भन्छन्, ‘यो प्रकरणमा दीपेश एक सन्दिग्ध पात्र त हुन् नै, प्रतीक पक्राउपछि यसको भेद अझै खुल्छ । उनीमाथि अरू कसुरसँग जोडेर सूक्ष्म अनुसन्धान आवश्यक देखिन्छ । शरणार्थी प्रकरणमा ४ वटा कसुरमा ३० जनाविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । पछिल्लो पटक सन्दीपसहित केही अभियुक्त उच्च अदालत पाटनको आदेशमा धरौटीमा छुटेका छन् । मुद्दाको किनारा अदालतबाट लाग्न बाँकी नै छ । दीपेशमाथि अनुसन्धान नभएको अर्को विषय हो– सुनतस्करी । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका क्रममा कारागारमा छन् । गिरोहका नाइके दावा छिरिङसँग पटक पटक फोन संवाद भएको समेत आधारमा अनुसन्धान गरी राहुललाई प्रहरीले पक्राउ गरेको हो । तर, लगातार फोन संवाद गरेको प्रमाण भेटिए पनि दीपेशमाथि भने गम्भीर अनुसन्धान भएन । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेशसँग सोधपुछ गरेको थियो । पक्राउ परेका तस्करसँग आफ्नो सम्पर्क रहेको दीपेशले स्विकारेका थिए । अनुसन्धान क्रममा दीपेश र सुनतस्कर दावा छिरिङसँग उनको सम्बन्ध रहेको समेत स्थापित भइसकेको छ । हाल फरार रोल्पाकी अमला रोका र पुर्पक्षमा जेलमा रहेका चिनियाँ तस्कर दावा छिरिङसँग आफ्नो सम्पर्क र चिनजान रहेको विषय दीपेशको ‘बयान कागज’ मै उल्लेख छ । मैले पक्राउ परेका दावा छिरिङलाई चिन्दछु । कहिलेकाहीँ फोन सम्पर्क हुने गरेको थियो,’ भनेर स्वीकार गर्दा थप अनुसन्धानमा सीआईबी प्रवेश नै गरेन । अमला रोकामार्फत चिनियाँ तस्करले माओवादी नेतासँग सम्बन्ध बनाएका थिए । प्राविधिक प्रमाण र अन्य सुराक मिलेपछि सीआईबीका अनुसन्धान अधिकृतले दीपेशसँग मोबाइल मागेका थिए, तर दीपेशले नदिएपछि प्रहरीले कानुनी अधिकार प्रयोग गरेन । सामाजिक सञ्जाल भाइबर, वाट्सएप, फेसबुक/म्यासेन्जर, वीच्याटलगायतको प्रयोग गर्ने स्मार्ट फोन लुकाएर दीपेशले सामान्य फोनकल गर्ने मोबाइल मात्र दिए । अरू कोही सर्वसाधारणका लागि प्रयोग हुने प्रक्रिया पूरा नगरी दीपेशमाथिको अनुसन्धान सकिएको थियो । दीपेशमाथि अनुसन्धान हुनुपर्ने पछिल्लो विषय हो– सहकारी ठगीे । सदस्य तथा बचतकर्ता नै नरहेका दीपेशले पोखराको सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा ऋण लिएको पुष्टि भएको छ । जीबीकै आडमा सूर्यदर्शन सहकारीबाट दीपेशले ‘पुलेसो कर्जा’ शीर्षकमा ५० लाख लिएको देखिन्छ । पुलेसो कर्जा शीर्षकमै लामिछानेले पनि सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएको विषय अनुसन्धानकै क्रममा छ । रवि लामिछानेजस्तै दीपेश पनि सूर्यदर्शन सहकारीका बचतकर्ता होइनन् । गैरबचतकर्ताले सहकारीबाट ऋण लिनै पाउँदैनन् । सहकारीका गैरसदस्य पुनको कर्जा खाता नम्बर ‘११६–०००३०७१’ बाट दीपेशले ०७४ असोज २५ मा ५० लाख रुपैयाँ ऋण लिएको पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । बिनाधितो तमसुकका आधारमा मात्रै ऋण प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । कर्जा फाइलमा पुनको तमसुक कागज मात्रै छ । ऋण लिएबापत् कुनै सुरक्षण राखिएको छैन । उक्त ऋणको ब्याजसहित सहकारीले नियमविपरीत पुँजीकृत गर्दै तिर्नुपर्ने रकम १ करोड ९५ हजार ३ सय ४८ रुपैयाँ बाँकी देखिएको छ । साभार : इका

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार