नयाँ वर्षदेखि दरबारमार्ग र ठमेल चौबिसै घण्टा खुला…..

काठमाडौँ — कोभिडसँगै मुलुकको आर्थिक गतिविधि सुस्त छ । सबै क्षेत्रका व्यवसायी निराश छन् । अर्थतन्त्र चलायमान बनाउन सरकारले हरप्रयास गरे पनि सोचेअनुसार सुधार छैन । यही प्रयासअन्तर्गत सरकारले पर्यटक आकर्षण गर्न दरबारमार्ग र ठमेललाई चौबिसै घण्टा खुला गर्ने तयारी तीव्र पारेको छ । व्यापारिक हबका रूपमा चिनिएको दरबारमार्ग र प्रमुख पर्यटकीय हबका रूपमा परिचित ठमेललाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कार्यविधि/मापदण्डको मस्यौदा बनाएर यसबारे छलफल गरिरहेको छ । पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालकलगायत सबै निकायसँय समन्वय गरी काम अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले ‘पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड २०८०’ बनाएर रात्रिसेवा पनि सञ्चालन गर्न खोजेको हो । सोहीअनुसार गृह मन्त्रालयले शुक्रबार सम्बद्ध सबै निकायसँग छलफल गरेको छ । छलफलमा वैशाख १ देखि दरबारमार्ग चौबिसै घण्टा खुला राख्ने सहमति भएको दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले जनाए । गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, यातायात विभाग, प्रहरी, सशस्त्र प्रहरी प्रमुख, व्यवसायी, ठमेल क्षेत्रका घरभेटीलगायत सबै सरोकारवाला निकायससहितको छलफलमा दरबारमार्ग र ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे चर्चा भयो । यसका लागि सुरक्षा, सीसीक्यामरा जडान, श्रमिकलाई सरकारले सोचेअनुसार तलब दिने, डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेलगायत सर्त प्रशासनको छ,’ ढकालले भने, ‘यसअनुसार व्यवस्थापन गरी नयाँ वर्षदेखि दरबारमार्ग चौबिसै घण्टा खुलाउने सहमति जस्तै भएको छ । सरसफाइमा विशेष ध्यान दिने, ग्राहकलाई मेन्युभन्दा बढी शुल्क र मूल्य लिन नपाइने, खानेकुरा गुणस्तरयुक्त हुनेलगायत विषय सरकारी मापदण्डमा छन् । यी विषयमा ग्राहकले उजुरी गरे लाइसेन्स खारेजसम्म गर्न सकिने विषयमा छलफल भएको ढकालले जनाए । ‘रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा मेन्युभन्दा बढी शुल्क लिने, ग्राहकले नखाएका कुरा पनि जोडेर बिल बनाउने गरेका जस्ता गुनासा धेरै छन्,’ ढकालले भने, ‘व्यवसायीले ठगी गर्न पाइन्न । अत्यधिक मूल्य लिएको उजुरी परे लाइसेन्स खारेजीसम्मका विषय चर्चामा छन् ।’ यही विषयलाई दृष्टिगत गरी व्यवसायीले पनि सीसीक्यामरा जडान गर्नॅपर्ने, सामुदायिक सुरक्षा गार्ड राख्ने, प्रहरी र ट्राफिक परिचालन गर्नेलगायत तयारी थालिएको छ । बोर्डका अनुसार महिनाको एक पटक दरबारमार्गमा फुड फेस्टिभल सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । ‘यी निर्णयले अर्थतन्त्रलाई चलायमान बनाउन धेरै सहयोग पुग्छ । अहिले दरबारमार्गमा ५ हजारले रोजगारी पाएका छन् । यो क्षेत्र चौबिसै घण्टा सञ्चालन भए थप दुई हजारले रोजगारी पाउनेछन्,’ उनले भने, ‘नयाँ वर्षदेखि रेस्टुरेन्टबाट सुरु गरेर ब्रान्डेड कपडाका स्टोर पनि चौबिसै घण्टा खुलाउन पहल गर्छौं ।’ यसले कोरोनाले थला परेको व्यवसाय चलायमान हुने, व्यवसायीमा पनि उत्साह बढ्ने र राजस्वसमेत वृद्धि हुने बोर्डको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले भने ठमेललाई तत्काल चौबिसै घण्टा खुलाइहाल्ने अवस्था नदेखिएको बताए । चौबिसै घण्टा सञ्चालनका लागि राति हुने हल्ला, घरधनीका समस्या, बत्ती, सुरक्षालगायत केही समस्या रहेको उनको भनाइ छ । ‘पहिलो चरणमा दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने सहमति भएको छ । ठमेलको हकमा अहिले जे छ, त्यहीअनुसार चलाउने घरधनी, बत्ती सुरक्षालगायतका समस्या समाधान भएपछि त्यहाँको बजार पनि चौबिसै घण्टा खुलाउँछौं । ठमेलमा रातिमा बढी होहल्ला हुने गरेको छ । घरभेटीहरूले सुत्न पाएनौं भनेर गुनासो गरिरहेका छन् । त्यसका लागि डिस्को एवं बार आदि रेस्टुराँलाई साउन्ड प्रुफ बनाउनुपर्ने उनीहरूको माग छ । सुरक्षाको हिसाबले थप प्रहरीको आवश्यकता पर्छ । ‘पछिल्लो समय पर्यटक ठमेलभन्दा उपत्यका बाहिर बस्न खोज्छन्, यही विषयलाई दृष्टिगत गरी केही काम गर्नुपर्नेछ,’ पाण्डेले भने, ‘५/७ दिनमा फेरि बैठक बसेर यो विषयलाई टुंगोमा पुर्‍याउँछौं ।’ परिषद्का अनुसार ठमेल क्षेत्रमा करिब १० हजार व्यवसायी छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहकायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले पनि दरबारमार्ग र ठमेललाई चौबिसै घण्टा चलाउन तयारी तीव्र पारिएको जानकारी दिए । ‘वैशाख १ देखि नै चौबिसै घण्टा चलाउने गरी सबै निकायसँग छलफल जारी राखेका छौं । मापदण्डको मस्यौदा बनाएर छलफल गरिरहेका छौं । त्यसमा सुरक्षालगायत सबै समेट्न खोज्दै छौं,’ शर्माले भने, ‘छलफलमा सरोकारवाला सबै पक्ष सकारात्मक देखिएका छन् ।’ रातिको समयमा यातायातको समस्या हुन सक्ने भएकाले आफूहरूले यातायात व्यवस्था विभागलाई पनि छलफलमा बोलाएको उनले जनाए । ‘नगर बस सञ्चालन गर्ने कुरा पनि उठेको छ,’ शर्माले भने, ‘हामीले माहोल बनाइदिने हो, भनेअनुसार भए व्यवसायी चौबिसै घण्टा चलाउन तयार देखिएका छन् । व्यवसायीको पहलमा यस्तो निर्णय नौ वर्षअघि पनि सरकारले घोषणा गरेको थियो । दुई वर्षअघि पनि यसको तयारी गरिएको थियो । तर सफल भएन । पूर्वाधार, सीसीटीभी नभएर कार्यान्वयन हुन नसकेको ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले बताए । अहिलेको अवस्था भने फरक रहेको उनको भनाइ छ । ठमेल क्षेत्रमा मात्रै १ सय ८ वटा सीसीटीभी जडान गरिएको छ । पूर्वाधार राम्रो छ । चार सयभन्दा बढी बत्ती जडान गरिएको छ । ‘केही बत्तीमा समस्या भएको गुनासो भए पनि वैशाख दोस्रो सातासम्म सबै समाधान गर्छौं,’ पाण्डेले भने, ‘केही समस्या बुँदागत रूपमै दिएका छौं, त्यो समाधान हुनेबित्तिकै ठमेल पनि चौबिसै घण्टा खुल्छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार