अनेक परिचय बनाएका नेपालको निधन…..

काठमाडौं –      पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप निधन शव एक सामान्य नागरिक सरह अन्त्येष्टि गरिएको छ । नर्भिक अस्पतालमा मंगलबार दिउँसो निधन भएका नेपालको अन्त्येष्टि उनले मृत्युअघि लेखेको इच्छापत्र बमोजिम गरिएको हो । एउटा सामान्य नागरिक सरह अन्त्येष्टि होस् भनेर उहाँले परिवारका सदस्यहरूलाई दिएको इच्छापत्रका कारणले श्रद्धाञ्जली लगायत कार्यक्रमहरू राख्न सकिएन,’ नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् । यद्यपि उपप्रधानमन्त्री प्रकाशमान सिंह सहितका केही नेता एवं समर्थकहरू नर्भिक अस्पताल नै पुगेका थिए । तर औपचारिक श्रद्धाञ्जली कार्यक्रम, पार्टीको झण्डा ओढाउने, राजकीय सम्मान दिने जस्ता कार्यक्रम राखिएन् । अरू नेताहरूको मृत्युमा गरिँदै आएका नियमित काम पनि गरिएन । किनकि इच्छापत्रमै प्रदीप नेपालले साधरण नागरिक सरह अन्त्येष्टि चाहेका थिए । प्रदीप नेपाल बैग्लै सोंच, संस्कृति र शैलीका नेता हुनुहुन्थ्यो,’ एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा भन्छन्, ‘सधैं नवीन काम उहाँको विशेषता नै हो ।’ विशेषतः प्रदीप नेपाल प्रष्ट बोल्ने र हकी नेता भएर राजनीतिक वृत्तमा चिनिएका नेता हुन् । सक्रिय राजनीतिको उमेर हदबारे वकालत गर्ने नेपालले ६० वर्ष कटेपछि राजनीतिक अवकाश लिने सार्वजनिक घोषणा लेखमार्फत् गरेका थिए । नभन्दै एक दशक यता पार्टी गतिविधिमा निष्क्रिय उनको ७१ वर्षमा निधन भएको छ । प्रदीप नेपाललाई नजिकबाट चिन्नेहरूका अनुसार उनका मूलतः चार परिचय छन् । ‘प्रदीप नेपालको परिचय बहुआयामिक छन्, नेता अथवा पूर्वमन्त्री मात्र भन्दा अपुरो हुन्छ,’ एमाले सचिव गोकर्ण विष्ट भन्छन् ।

विद्रोही नेता:

२८ पुस २०१० सालमा भोजपुरमा जन्मिएका प्रदीप नेपाल किशोरवयमै वाम साहित्यतर्फ आकर्षित भएका थिए । जसको परिणाम २०२६ सालतिर उनी विद्यार्थी राजनीतिमा लागिहाले र पहिलो परिचय बन्यो– विद्रोही नेता । पञ्चायत विरुद्धको कठोर संघर्षमा प्रदीप नेपाल भूमिगत भए । नख्खु जेल ब्रेकको घटनाले उनको परिचय थप फराकिलो बनायो । कोके (कोअर्डिनेशन केन्द्र) को संस्थापक सदस्य भए । पञ्चायतको त्यो समयमा प्रदीप नेपालको कार्यक्षेत्र लुम्बिनी थियो । लुम्बिनी इन्चार्ज भएर उहाँले सम्झनायोग्य कामहरू गर्नुभयो, नेताहरू उत्पादन गर्नुभयो’, एमाले सचिव विष्ट भन्छन् । त्यो समय कम्युनिष्टहरू छरपस्ट थिए । झापा विद्रोहीहरू संकटमा थिए । प्रदीप नेपालले अलग–अलग रहेका कम्युनिष्टहरू छोड्ने भूमिका खेले । मोदनाथ प्रश्रित, मदन भण्डारी र जिवराज आश्रितहरू रहेको मुक्ति मोर्चालाई कोकेसँग एकता गराउन संयोजनकारी भूमिकामा प्रदीप नेपाल थिए । कोकेसँग मुक्ति मोर्चा मिलाउन नेतृत्व मात्र गर्नुभएन, झापा विद्रोहलाई देशव्यापी बनाउने काम पनि प्रदीप नेपालले गर्नुभएको थियो,’ नेपालसँग नजिक रहेर काम गरेका सांसद सूर्य थापा भन्छन् । कोके र मुक्ति मोर्चा मिलेपछि २०३५ सालमा बनेको माले बनेको थियो । त्यो मालेमा प्रदीप नेपाल संस्थापक नेता थिए । यद्यपि पार्टीको केन्द्रीय सदस्यको हैसियतमा भने प्रदीप नेपाल २०४९ सालमा मात्रै पुगे । जबकि मुक्ति मोर्चाबाट आएका मदन भण्डारी २०४६ सालमै महासचिव भइसकेका थिए भने त्यसै वर्ष माक्र्सवादीसँग एकता गरेर नेकपा एमाले बनिसकेको थियो । ‘पद दोस्रो कुरा हो, तर प्रदीप नेपाललाई पार्टीपंक्तिले सधैं सम्मानित र शीर्ष नेताकै रुपमा माने’, सांसद थापा भन्छन् । थापाले भनेजस्तै प्रदीप नेपाल पदीय हिसाबमा स्थायी कमिटी सदस्य भन्दा माथिको हैसियतका नेता बनेनन् । २०६५ सालमा सम्पन्न एमालेको आठौं महाधिवेशनमा महासचिव पदमा र २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएकाले पनि प्रदीप नेपालले पदाधिकारी बन्ने अवसर पाउन सकेका थिएनन् । तर २०६५ साल अगाडि भने प्रदीप नेपाल पार्टीभित्र र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकामा रहे । ‘नेतृत्व विकास र कार्यकर्ता संरक्षणमा जस्तो शैली प्रदीप नेपालले अपनाउनु हुन्थ्यो, त्यसले उहाँलाई सम्मान गर्ने ठूलो पंक्ति पार्टीभित्र निर्माण भएको थियो’, सचिव गोकर्ण विष्ट भन्छन् । पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव गोकर्ण बिष्ट, सभामुख देवराज घिमिरे जस्ता पार्टीका ठूलो पंक्तिले प्रदीप नेपाललाई आफ्नो मार्गदर्शन नै मान्छन् । ‘पार्टी पदाधिकारीमा रहेकादेखि अहिले हुर्किरहेका नयाँ पुस्ताले पनि मार्गदर्शक मान्ने भएकाले पनि प्रदीप नेपाल बेग्लै खाले नेता हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ’, थापा भन्छन् । पार्टीभित्र प्रदीप नेपाल महत्त्वपूर्ण व्यक्ति बन्नुमा संगठनात्मक शैली सँगै जनताको बहुदलीय जनवाद (जबज) को चर्को पक्षधर हुनु पनि हो । नेताहरूका अनुसार २०४७ सालमै प्रदीप नेपालले ‘बहुदलीय जनवादबारे केही कुरा’ भन्ने पुस्तिका छापेर देशभर बाँडेका थिए । पछि पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीले जबज प्रस्तुत गरे, र पारित भयो । जबजलाई स्थापित गर्न प्रदीप नेपालले आफूले सकेको सबै गरेका थिए । ‘मदन भण्डारीका संकलित १० रचनाहरू प्रकाशन गर्ने कामको प्रेरणा प्रदीप नेपाल नै हुनुहुन्थ्यो,’ सूर्य थापा भन्छन्, ‘उहाँले नै मदन–आश्रित प्रतिष्ठानको अध्यक्षका रुपमा मलाई त्यो जिम्मेवारी दिनुभएको हो ।’ आम सञ्चार माध्यमदेखि पार्टीको मुखपत्र मार्फत् पनि प्रदीप नेपालले जबज स्थापित गर्ने काम गरे ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार